प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। प्रधानमन्त्रीको टोलीले मुख्य रूपमा नुवाकोटको विदुर र आसपासका बाढी प्रभावित बस्तीको अवस्था प्रत्यक्ष रूपमा बुझ्ने कार्यक्रम रहेको छ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रका विभिन्न बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले सरकारका सम्बन्धित निकायलाई उद्धार र राहत कार्य प्रभावकारी बनाउन निर्देशन दिँदै सक्रियता बढाएका छन्।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्रीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछन्। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत वितरण, प्रभावितको पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार पुनः सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र क्षतिको विवरण संकलन कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षित पुनर्स्थापनालाई अहिले प्राथमिकतामा राखेर काम भइरहेको सरकारको भनाइ छ।