शेयर बजार अचाक्ली बढ्दा पनि लगानीकर्ता टाट पल्टिएको ‘त्यो’ घटना: अहिलेका नेपाली लगानीकर्तालाई गतिलो पाठ

Sep 02, 2026 11:17 AM Merolagani



अहिले शेयर बजार नबढेर नेपाली लगानीकर्ता आलस तालस भएका छन् । 

नयाँ सरकार बनेपछि झ्याप्पै शेयर बजार बढ्छ र मौकामा चौका हान्छु भनेर चुनावताका केही समय उत्साहित भएका लगानीकर्ताहरु अहिले ‘राम राम’ भनिरहेका छन् ।

नेपाली लगानीकर्ताहरुको एउटा सदाबहार ‘सेण्टिमेण्ट’ देखिदैँ आएको छ—बजार बढ्यो भने म धनी हुन्छु । बजार घट्यो भने लगानी डुब्छ, म गरिब हुन्छु वा टाट पल्टिन्छु ।

साँच्चै त्यस्तो हो ?

धेरै जसो घटनामा त्यस्तो देखिए पनि शेयर बजार बढ्ने वित्तिकै लगानीकर्ताले कमाउँछन् भन्ने कुनै निश्चित हुँदैन । विश्वमा त्यस्ता कैंयौ घटनाहरु छन्, जतिबेला शेयर बजार अचाक्ली बढ्दा पनि लगानीकर्ताले कमाउन सकेका छैनन्, उनीहरुको विचल्ली भएको छ । त्यसमध्येको सबैभन्दा ठूलो घटना हो—१९२३ अर्थात् एकसय तीन वर्ष अगाडिको जर्मनीको ‘बुल’ र लगानीकर्ताको विचल्ली । यो घटनालाई शेयर बजारको मात्रै होइन, आधुनिक आर्थिक इतिहासकै सबैभन्दा विस्मयकारी घटनामध्येको एक मानिन्छ ।

सन् १९२३ मा जर्मनीको शेयर बजारका अंकहरू यति तीव्र गतिमा बढे कि आजको भाषामा हेर्दा त्यो ‘सुपर बुल मार्केट’ जस्तो देखिन सक्छ। तर त्यही समयमा जर्मन नागरिकको मुद्रा लगभग समाप्त भइसकेको थियो, बचत कागजको टुक्राजस्तै बन्न थालेको थियो र दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदै थियो।

जब पैसा आफैं समस्या बन्यो

पहिलो विश्वयुद्धपछि जर्मनीमाथि युद्ध क्षतिपूर्ति तिर्नुपर्ने ठूलो दायित्व थियो। सरकारले ठूलो घाटा व्यहोर्दै गयो र मुद्रा आपूर्ति बढ्दै गयो।

सन् १९२१ मा मित्रराष्ट्रहरूले जर्मनीमाथि १३२ अर्ब मार्क बराबरको क्षतिपूर्ति दायित्व तोकेका थिए । यसले सरकारी वित्तमाथि ठूलो दबाब सिर्जना गर्‍यो।

सन् १९२३ जनवरीमा फ्रान्स र बेल्जियमले जर्मनीको औद्योगिक केन्द्र  कब्जा गरे। जर्मन सरकारले ‘passive resistance’ अर्थात् निष्क्रिय प्रतिरोधको नीति लियो र कामदार तथा उद्योगलाई समर्थन गर्न सरकारी खर्च बढायो ।

सरकारको आम्दानी र वास्तविक उत्पादनले धान्न नसक्ने खर्च बढेपछि नोट छाप्ने क्रम झन् तीव्र भयो।त्यसपछि सुरु भयो—मुद्राको तीव्र पतन।

पहिलो विश्वयुद्धअघि १ डलर किन्न ४.२ मार्क पर्याप्त थियो । सन् १९२३ को अन्त्यतिर त्यही एक डलरका लागि ४.२ ट्रिलियन मार्क चाहियो । यो केवल विनिमय दरको परिवर्तन थिएन। यो मुद्राप्रतिको विश्वासको पतन थियो।

शेयर बजारको अचम्मको कथा

सामान्य अवस्थामा शेयर बजार बढ्नु भनेको लगानीकर्ताको सम्पत्ति बढ्नु हो। सन् १९२३ मा जर्मन शेयर बजार सूचकांकमा अविश्वसनीय वृद्धि देखियो। उपलब्ध ऐतिहासिक तथ्यांकअनुसार १९१३ लाई १०० को आधार मान्दा सन् १९२३ को औसत शेयर सूचकांक करिब २.९९ खर्ब अर्थात् पुगेको थियो। सोही अवधिमा मूल्यस्तरको वृद्धि अझ भयावह थियो।

त्यसैले कसैले आफ्नो शेयरको मूल्य कागजमा हजारौँ, लाखौँ वा अर्बौं गुणा बढेको देख्न सक्थ्यो। तर त्यो पैसा लिएर बजारमा पुग्दा उसले पहिले जति सामान किन्न सक्दैनथ्यो।

शेयर बजार बढ्यो, तर लगानीकर्ता किन गरिब भए ?

एक अध्ययनले जनवरी १९२१ देखि सेप्टेम्बर १९२३ सम्म जर्मन शेयर सूचकांक र wholesale price index को तुलना गर्दा दुवैमा अत्यन्त तीव्र वृद्धि भएको देखाएको छ। सो अवधिमा शेयर सूचकांकको औसत मासिक वृद्धि करिब  ४५ प्रतिशत र wholesale price index को करिब ४४ प्रतिशत थियो। अर्थात् शेयर बजार उडिरहेको थियो—तर मूल्यहरू पनि लगभग त्यही गतिमा उडिरहेका थिए।

कल्पना गरौँ—

कुनै व्यक्तिसँग १९२२ मा १०० मार्कको शेयर थियो। केही समयपछि त्यसको बजार मूल्य १,००० मार्क भयो।  सोझो हिसाबमा उस्को आम्दानी १० गुणा बढ्यो, अर्थात उसले कमायो ।  तर त्यही अवधिमा रोटी, कपडा, घरभाडा, इन्धन र अन्य वस्तुको मूल्य १०० गुणा बढ्यो भने ?

उसको सम्पत्ति वास्तवमा बढेको होइन । उसको शेयरको अंक बढेको हो।

यही कारणले समग्र उपभोक्ता मूल्य उच्च  (hyperinflation) भएको समयमा शेयर मूल्यको वृद्धि हेरेर मात्र लगानीकर्ताको वास्तविक प्रतिफल मापन गर्न सकिँदैन ।

जर्मनीका लगानीकर्ताले शेयर बेचेर पनि गल्ती गरे । यहाँबाट नेपाली शेयर लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण पाठ आउँछ।

सन् २०२३ मा प्रकाशित एउटा अत्यन्त रोचक academic study ले सन् १९२०–१९२४ बीचको जर्मन बैंकका २,००० भन्दा बढी ग्राहकको वास्तविक लगानी विवरण अध्ययन गरेको छ।अनुसन्धानकर्ताहरूले स्थानीय मुद्रास्फीति र व्यक्तिगत लगानीकर्ताको शेयर कारोबारलाई जोडेर हेरे।

नतिजा निकै रोचक थियो। जहाँ मुद्रास्फीति बढी थियो, त्यहाँ व्यक्तिगत लगानीकर्ताले कम शेयर किने र बढी शेयर बेचे। यो प्रभाव विशेषगरी कम अनुभवी लगानीकर्तामा बढी देखियो।

अझ महत्त्वपूर्ण कुरा—शेयर बेच्ने निर्णयपछि उनीहरूले सम्भावित रूपमा पाउन सक्ने भविष्यको प्रतिफल गुमाएको प्रमाण भेटियो। अनुसन्धानकर्ताहरूले यसको एउटा कारण “money illusion” अर्थात् पैसाको नाममात्र मूल्यलाई वास्तविक मूल्य ठान्ने मनोवैज्ञानिक भ्रम हुन सक्ने बताएका छन्।

 संकटको अन्त्य कसरी भयो ?

सन् १९२३ नोभेम्बरमा जर्मनीले Rentenmark ल्यायो। १५ नोभेम्बर १९२३ देखि नयाँ मुद्रा जारी गरियो। एक Rentenmark लाई १ ट्रिलियन Papiermark बराबर तोकियो। अमेरिकी डलरको विनिमय दर करिब ४.२० Rentenmark प्रति डलर कायम गरियो।

यससँगै सरकारको खर्च कटौती, कर वृद्धि र सार्वजनिक क्षेत्रमा ठूलो खर्च कटौतीका उपाय पनि अघि बढाइए। जर्मन Bundestag का अनुसार त्यसपछिका महिनामा सार्वजनिक क्षेत्रमा करिब ४ लाख कर्मचारी/कामदार हटाइए, जुन सार्वजनिक सेवाका कर्मचारीको करिब एक चौथाइ थियो।

नेपालका अहिलेका लगानीकर्तालाई पाठ

नेपालको अवस्था सन् १९२३ को जर्मनीसँग तुलना गर्न मिल्ने अवस्थामा छैन। नेपालमा अहिले जर्मनीको जस्तो hyperinflation छैन।  तर लगानीकर्ताको मनोविज्ञानका केही पाठ सार्वभौमिक छन्।

पाठ १ : बजारको अंक र वास्तविक सम्पत्ति फरक हुन्

NEPSE ३,००० पुग्यो वा ५,००० पुग्यो भन्ने मात्रले लगानीकर्ता कति धनी भयो भन्ने निर्धारण गर्दैन। मुद्रास्फीति, कम्पनीको आम्दानी र valuation पनि हेर्नुपर्छ।

पाठ २ : Bull market मा जोखिम हराउँदैन

बजार बढिरहेको बेला जोखिम कम भएको होइन। कहिलेकाहीँ जोखिम अदृश्य भएको मात्र हुन्छ।

पाठ ३ : Portfolio को सम्पत्ति र नगद प्रवाह फरक कुरा हुन्

कागजमा ५० लाखको शेयर हुनु र हरेक महिना ५० लाखको क्रयशक्ति उत्पन्न हुनु एउटै होइन।

पाठ ४ : भीडको मनोविज्ञान खतरनाक हुन सक्छ

“सबै किनिरहेका छन्” भन्ने कारणले शेयर किन्नु र कम्पनीको मूल्य/आम्दानी/जोखिम विश्लेषण गरेर किन्नु फरक कुरा हो।

पाठ ५ : मुद्रास्फीतिलाई बेवास्ता गर्नु हुँदैन

शेयरको प्रतिफल २० प्रतिशत भयो। मुद्रास्फीति १० प्रतिशत भयो। त्यसपछि वास्तविक प्रतिफल २० प्रतिशत नै हो भनेर सोच्नु गलत हुन्छ।