घाटा भएपनि सरकारले बढाएन पेट्रोलको मूल्य

Sep 02, 2026 10:26 AM Merolagani



अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै खरिद लागत महँगिएको भए पनि सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्य बढेकाले निगममाथि थप आर्थिक भार परेको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ भदौ १७ गतेदेखि लागू हुने गरी हालकै बिक्री मूल्यलाई निरन्तरता दिइएको हो। उपभोक्तामाथि तत्काल थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य नबढाइएको निगमले जनाएको छ।

तर, नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य समायोजन नगर्दा निगमले ठूलो घाटा व्यहोर्नुपर्ने भएको छ। निगमका अनुसार हालको मूल्यमा पेट्रोल तथा डिजेल–मट्टितेल बिक्री गर्दा पाक्षिक रूपमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र खरिद लागत बढ्दा निगमको आर्थिक भार बढ्दै गए पनि त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि नपरोस् भन्दै तत्काल मूल्य वृद्धि रोकिएको हो।

यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा समेत अन्तर्राष्ट्रिय बजार तथा खरिद लागतको प्रभाव परेको निगमले जनाएको छ।