पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी कटौती

Jul 01, 2026 01:59 AM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएसँगै निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।

घटेको मूल्य बुधबार मध्यरात (१२ः०१ बजे) देखि नै लागू भइसकेको छ।

कुन इन्धनमा कति घट्यो?

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा यसरी कटौती गरिएको छः

  • पेट्रोलः प्रतिलिटर २० रुपैयाँले घटाइएको छ।
  • डिजेल र मट्टितेलः प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ।
  • हवाई इन्धन (आन्तरिक): प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ।
  • खाना पकाउने एलपी ग्यासः प्रतिसिलिन्डर १०० रुपैयाँले कटौती गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यसअघि मूल्य वृद्धिका कारण बजारमा महँगी र यातायात खर्च बढेको भन्दै सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट मूल्य घटाउन दबाब सिर्जना भइरहेको थियो।

पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी कटौतीले सार्वजनिक यातायातको भाडा दर र ढुवानी लागत कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ, जसले समग्र बजारको महँगी नियन्त्रणमा समेत सकारात्मक प्रभाव पार्नेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।