नेपाल आयल निगम र ग्यास बिक्रेताहरूबीच आज भएको छलफलले ग्यास आपूर्तिलाई सहज बनाउन त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रयोग गर्ने सहमति गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कृष्णभीरमा सडक गम्भीर क्षति भएका कारण ठूला ग्यास बुलेटहरू ल्याउन तत्काल सम्भव छैन। त्यसैले, ग्यास बिक्रेताहरूले काठमाडौँबाट खाली सिलिन्डरहरू ट्रकमा राखेर तराईका रिफिलिङ प्लान्टसम्म लैजाने र त्यहाँबाट भरेर पुनः वैकल्पिक मार्ग (त्रिभुवन राजपथ र कान्ति लोकपथ) हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। एउटा १० चक्के ट्रकमा करिब ४०० वटा सम्म ग्यास सिलिन्डर ढुवानी गर्न सकिने निगमले जनाएको छ।
अशक्त, विद्यार्थी र एक सिलिन्डर भएकालाई प्राथमिकता
ग्यासको अभाव हुन नदिन निगमले वितरण प्रणालीलाई समेत वर्गीकरण गरेको छ। प्रवक्ता ठाकुरले मेरो लगानीसँग कुरा गर्दै तत्कालका लागि अशक्त, विद्यार्थी र एउटा मात्र सिलिन्डर भएका ग्राहकहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिने जानकारी दिए ।
‘हामीले अहिलेको कठिन परिस्थितिमा सबैभन्दा मारमा परेका विद्यार्थी र अशक्त वर्गलाई लक्षित गरी बिक्रेतामार्फत ग्यास वितरण गर्ने निर्णय गरेका छौँ,’ ठाकुरले भने।
औद्योगिक क्षेत्रले आफैँ ढुवानी गर्नुपर्ने
छलफलमा औद्योगिक तथा व्यावसायीक क्षेत्रका ग्राहकहरूका हकमा भने फरक निर्णय गरिएको छ। ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानहरूले ग्यास आवश्यक परेमा आफैँ तराईका प्लान्टहरूमा पुगेर ढुवानीको व्यवस्था गर्नुपर्ने निगमले स्पष्ट पारेको छ।
राजमार्गका विभिन्न खण्डमा सडक भासिएका कारण राजधानीको आपूर्ति शृङ्खला प्रभावित भएपछि निगमले यो अस्थायी विकल्प अपनाएको हो। सडक मर्मत भई बुलेटहरू चल्न सक्ने अवस्था नहुन्जेलसम्म ट्रकमार्फत नै सिलिन्डर ढुवानीलाई निरन्तरता दिइनेछ।