बाढीले सडक र पुल मात्र बगाएन, जलविद्युत् आयोजनाका संरचना र सुरुङहरूमा समेत ठूलो क्षति पुर्यायो। एक सातापछि पनि हजारौँ मानिस बेपत्ता छन् र उद्धारको सबैभन्दा कठिन अध्याय जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका मानिसको खोजी बनेको छ। नेपालमा मृत्यु हुनेको संख्या १,११४ पुगेको छ भने करिब २,९०० भन्दा बढी मानिस अझै बेपत्ता छन् ।

‘विदेशी उद्धार टोली नचाहिने’ बाट ‘विशेषज्ञता चाहियो’ सम्म
विपद्को सुरुवाती चरणमा नेपालको सरकारको धारणा स्पष्ट थियो—नेपालका आफ्नै सुरक्षा निकाय उद्धार गर्न सक्षम छन्, विदेशी खोज तथा उद्धार टोली आवश्यक छैन ।
नेपालसँग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हेलिकोप्टर, इन्जिनियरिङ जनशक्ति र विपद् व्यवस्थापनको अनुभव थियो। सम्भवतः सरकारले त्यही आधारमा विदेशी विशेषज्ञहरुको सहयोग नलिने निर्णय गरेको थियो ।
तर भोटेकोशी बाढी सामान्य बाढी थिएन। जब जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको हुन सक्ने तथ्य बाहिर आयो, समस्या ‘खोज तथा उद्धार’बाट ‘विशेषीकृत सुरुङ उद्धार’मा बदलियो । त्यसपछि सरकारले आफ्नो अडान परिवर्तन गर्दै विशेष क्षेत्रमा सीमित विदेशी विशेषज्ञता स्वीकार गर्ने निर्णय गर्यो ।
भारत : ‘सुरुङभित्र पस्ने’देखि ‘शव पहिचान गर्ने’सम्म
भारतको भूमिका सबैभन्दा बहुआयामिक देखिन्छ। २४ जनाको सुरुङ उद्धार टोली र १९ सदस्यीय फरेन्सिक विशेषज्ञ टोली गरि ४३ जना विशेषज्ञको टोली भारतबाट आएको छ । २४ जनाको प्राविधिक टोलीले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलका सुरुङहरूमा नेपाली सेनासँग मिलेर फसेका मजदुरहरूको खोजी गरिरहेको छ । १९ जनाको फरेन्सिक टोलीले भने मृतकहरूको डीएनए विश्लेषण (DNA Testing) र शव पहिचानको काम गरिरहेको भारतीय विशेषज्ञ टोलीको एउटा समूह प्रत्यक्ष रूपमा सुरुङ उद्धारमा छ। उनीहरू नेपाली सेना तथा सम्बन्धित प्राविधिक टोलीसँग मिलेर जलविद्युत् आयोजनाका सुरुङमा प्रवेश गर्ने बाटो खोज्ने, पानी तथा भग्नावशेष हटाउने, सुरुङको भौतिक अवस्था मूल्यांकन गर्ने र मानिस जीवित रहेको सम्भावना भएका स्थानसम्म पुग्ने प्रयास गरिरहेका छन्।
यो काम सामान्य खोजीभन्दा कठिन छ। सुरुङभित्र कुन ठाउँसम्म जान सुरक्षित छ, कहाँबाट पानी पसिरहेको छ, कहाँ भग्नावशेषले बाटो छेकेको छ र कुन दिशाबाट उद्धार गर्दा अर्को दुर्घटना हुन सक्छ—यी सबैको प्राविधिक मूल्यांकन आवश्यक हुन्छ। त्यसैले भारतीय टोलीको मुख्य शक्ति सुरुङ उद्धारसम्बन्धी विशेषज्ञता हो।
भारतीय टोलीको अर्को समूह भने काठमाडौंमा बसेर मृत्यु भएका मानिसको पहिचान (forensic identification) मा काम गरिरहेको छ। उनीहरूको काम हराएका मानिसलाई सुरुङमा खोज्नु होइन, भेटिएका तर पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचानमा सहयोग गर्नु हो। DNA नमुना, औँठाछाप तथा अन्य विश्लेषणमार्फत मृतकको पहिचान गर्ने काममा उनीहरूले नेपाली प्रहरी र स्वास्थ्य संस्थासँग सहकार्य गरिरहेका छन्।
परराष्ट्र मन्त्रालयको पछिल्लो विवरणअनुसार भारतका दुईवटा सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोलीमा २४ विशेषज्ञ परिचालित छन् भने forensic विशेषज्ञ टोली पनि काठमाडौंमा कार्यरत छ।
चीन : सुरुङ उद्धार र भारी प्राविधिक क्षमतामा केन्द्रित
९ जनाको सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली र ४ सदस्यीय फरेन्सिक टोली रहेको चीनको भूमिका पनि मुख्यतः विशेषीकृत सुरुङ उद्धारसँग जोडिएको छ। माथिल्लो त्रिशूली-३ 'ए' को सुरुङभित्र फसेकाहरूको उद्धार गर्ने, अत्याधुनिक ड्रोन तथा ब्यापिड रेस्पोन्स उपकरण चलाउने र चीनबाट प्राप्त बेल्ली ब्रिज एवं अन्य राहत सामग्री जडानमा प्राविधिक सहयोग गरिरहेको छ।
तर चीनको सहयोग सुरुङभित्र सीमित छैन। चीनले सीमावर्ती क्षेत्रमा भारी उपकरण, खोजी प्रविधि र पहुँच पुनःस्थापनामा समेत सहयोग गरेको छ। सडक र पुल भत्किएको अवस्थामा उद्धार टोलीलाई घटनास्थलसम्म पुर्याउन सक्ने पूर्वाधार नै नहुँदा विदेशी विशेषज्ञको विशेषज्ञता पनि प्रयोगविहीन हुन सक्छ। त्यसैले चिनियाँ टोलीको विशेष महत्त्व यही हो—उनीहरू केवल मानिस खोज्ने होइनन्, मानिस खोज्न सकिने वातावरण बनाउन आवश्यक प्राविधिक तथा भौतिक क्षमता पनि जोडिरहेका छन्।
दक्षिण कोरिया : ठूलो आपत्कालीन प्रतिक्रिया क्षमता
दक्षिण कोरियाको प्रस्तावित/परिचालित ४४ सदस्यीय आपतकालीन उद्धार टीमको भूमिका भारत वा चीनको जस्तो एउटै सुरुङमा केन्द्रित छैन । विशेष उद्धार उपकरण र ड्रोनको सहायताले बाढी प्रभावित दुर्गम क्षेत्रमा खोजी तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्।
सिंगापुर : ‘उद्धार’ होइन, ‘पहिचान’
सिंगापुरको भूमिका सबैभन्दा फरक छ। सिंगापुरले Disaster Victim Identification (DVI) विशेषज्ञता उपलब्ध गराउँदैछ। DVI को अर्थ विपदमा मृत्यु भएका मानिसको पहिचान वैज्ञानिक तरिकाबाट गर्नु हो। यसमा DNA, fingerprints, dental records लगायतका प्रमाण प्रयोग गर्न सकिन्छ।
यसको महत्त्व त्यतिबेला अझ बढ्छ जब एउटै घटनामा ठूलो संख्यामा मानिस बेपत्ता हुन्छन् र धेरै शवको अनुहार वा शारीरिक अवस्था हेरेर पहिचान गर्न सम्भव हुँदैन।
त्यसैले सिंगापुरको विशेषज्ञले नदीमा डोरी लिएर मानिस खोजिरहेका छैनन्। उनीहरूको योगदान ‘भेटिएको शवलाई उसको वास्तविक पहिचानमा फर्काउने’ हो।
यो परिवारका लागि भावनात्मक मात्र होइन, कानुनी र आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण हुन्छ। पहिचान भएपछि मृत्यु प्रमाणित गर्न, बीमा दाबी गर्न, सम्पत्ति हस्तान्तरण गर्न तथा परिवारलाई औपचारिक जानकारी दिन सहज हुन्छ।
अष्ट्रेलिया : खोजीभन्दा बढी संकट व्यवस्थापन तथा उद्धार कार्य
अष्ट्रेलियाबाट आएको response team पनि प्रत्यक्ष सुरुङ उद्धार गर्ने टोलीभन्दा फरक छ। यसको प्रमुख काम संकट व्यवस्थापन तथा उद्धार कार्य र आफ्ना नागरिकको खोजी तथा समन्वय हो।
ठूलो विपदमा सयौँ विदेशी नागरिक प्रभावित हुँदा उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउने, परिवारसँग सम्पर्क गराउने, शव पहिचानमा सहयोग गर्ने र नेपाल सरकारसँग सूचना आदानप्रदान गर्ने काम पनि उद्धारकै महत्त्वपूर्ण हिस्सा हो।
अमेरिका : ‘मानिस खोज्ने’भन्दा ‘कहाँ खोज्ने ?’ बताउने प्रविधि
अमेरिकाको सहयोगको प्रकृति अझ प्राविधिक छ। पहाडी भूभागमा बाढीपछि नदीको धार परिवर्तन भएको, सडक हराएको र पहिरोले भू–आकृति बदलिएको अवस्थामा पुरानो नक्सा पर्याप्त नहुन सक्छ। नयाँ भू–नक्सा उद्धार टोलीका लागि आफैंमा एउटा महत्त्वपूर्ण उपकरण हुन्छ। अमेरिकी टोलीले यिनै प्रविधिहरुसहत काम गरिरहेको बताइएको छ ।
विदेशी टोली र नेपाली टोलीबीचको वास्तविक कार्यविभाजन
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग ठूलो जनशक्ति, स्थानीय भूगोलको ज्ञान र राष्ट्रिय कमान्ड संरचना छ। विदेशी टोलीसँग भने केही विशेष क्षेत्रमा अत्याधुनिक उपकरण र विशेषज्ञता छ।
सरकारी अधिकारीहरुका अनुसार
नेपाली सुरक्षा निकाय → ठूलो क्षेत्रको खोज, उद्धार, सुरक्षा, राहत र समन्वय
भारतीय टोली → विशेषीकृत टनेलबाट उद्धार + फरेन्सिक तथा डिएनए टेष्ट
चिनियाँ टोली → टनेलबाट उद्धार + प्राविधिक/भारी उपकरण सहयोग
दक्षिण कोरिया → आपतकालिन विशेषज्ञ सेवा
सिंगापुर → पीडितको पहिचान
अष्ट्रेलिया → आपतकालिन विशेषज्ञ सेवा
अमेरिका → प्रभावित क्षेत्रको नयाँ नक्साँकनसहितको प्राविधिक सेवा
यसले भोटेकोशी विपत्तिको अर्को पक्ष देखाउँछ—विदेशी टोलीहरू सबै एउटै कामका लागि आएका छैनन्। कसैले सुरुङ खोज्दैछ, कसैले शव पहिचान गर्दैछ, कसैले आफ्ना नागरिकसँग सम्पर्क गराउँदैछ भने कसैले उपकरण र प्रविधि उपलब्ध गराउँदैछ। अर्थात् यो एउटा ‘विदेशी उद्धार टोली’ होइन, विस्तारै अन्तर्राष्ट्रिय विशेषज्ञताको नेटवर्क बन्दै गएको छ।