पूर्वअध्यक्ष शेखर गोल्छाको बहिर्गमनपछि गत चैतमा अध्यक्षको जिम्मेवारी सम्हालेका निरौलाले छोटो अवधिमै पद छाडेका हुन्। उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। अध्यक्ष निरौलाको यो निर्णयसँगै कम्पनीमा भइरहेको शीर्ष तहको अनपेक्षित हेरफेर पुनः सतहमा आएको छ।
हिमालयन रिमा देखिएको यो अस्थिरता नयाँ भने होइन। पछिल्लो केही महिनायता कम्पनीको नेतृत्व र सञ्चालक समिति संरचना व्यापक फेरबदलको चक्रबाट गुजरिरहेको छ। यसअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल कानुनी विवाद र कारबाही प्रक्रियाका कारण निलम्बनमा परेपछि कम्पनीको दैनिक प्रशासनिक नेतृत्वमै अन्योल सिर्जना भएको थियो। पौडेलको निलम्बनपछि कामु सीईओको जिम्मेवारी सम्हालेका नायब सीईओ मुकेशकुमार कपुरले जिम्मेवारी पाएको एक साता नबित्दै पदबाट राजीनामा दिएका थिए। कपुरको द्रुत बहिर्गमनले कम्पनीभित्रको आन्तरिक वातावरण र कार्यशैली कत्तिको जटिल छ भन्ने कुरा उजागर गरेको थियो।
सञ्चालक समितिभित्रको दृश्य पनि उस्तै उतारचढावपूर्ण छ। यसअघि अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुभाष कुमार झुनझुनवालासहितका सञ्चालकहरूले सामूहिक राजीनामा दिएका थिए भने अन्य संस्थापक समूहका प्रतिनिधि तथा सञ्चालकहरू दीपककुमार मिश्र, शाहिल अग्रवाल, डा. रोहित गुप्ता र पृथ्वीराज थापा समेत विभिन्न चरणमा बाहिरिएका छन्।
पुनर्बीमा जस्तो संवेदनशील र उच्च जोखिम वहन गर्ने वित्तीय क्षेत्रमा जनशक्ति र नेतृत्वको स्थायित्वलाई प्राथमिक शर्त मानिन्छ। तर, हिमालयन रिमा एकातिर नियामक निकाय नेपाल बीमा प्राधिकरणको कानुनी दायरा र कारबाहीको दबाब, अर्कोतिर सञ्चालक समिति तथा माथिल्लो व्यवस्थापनबीचको आन्तरिक कार्यशैली र अधिकार क्षेत्रको टकरावका कारण व्यावसायिक वातावरण सहज हुन नसकेको विश्लेषण गरिएको छ।
अध्यक्ष निरौलाको बहिर्गमन र उच्च तहका कर्मचारीहरूको क्रमिक राजीनामाले कम्पनीको दीर्घकालीन व्यावसायिक रणनीति, सेयरधनीको विश्वास र दैनिक सञ्चालन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। एकपछि अर्को गर्दै शीर्ष नेतृत्वले पन्छिने बाटो रोजेपछि अब बन्ने नयाँ सञ्चालक समिति र व्यवस्थापनले संस्थागत सुशासन कायम गर्दै कर्मचारी अड्याउन कस्तो कदम चाल्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।