युनाइटेड अजोड इन्स्योरेन्सकाे मर्जरको तीन वर्ष: सबल वित्तीय आधार र बढ्दो विश्वसनीयतासँगै अब्बल बन्दै

Oct 06, 2026 09:47 AM Merolagani



मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले पछिल्ला तीन वर्षमा आफ्नो वित्तीय तथा संस्थागत आधारलाई थप मजबुत बनाउँदै गएको छ। नेपाल बीमा प्राधिकरणले अघि सारेको मर्जर नीतिअनुसार साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको एकीकरणपछि कम्पनीले पुँजी वृद्धि, व्यवसाय विस्तार, दाबी भुक्तानी क्षमता र वित्तीय सूचकमा क्रमिक सुधार गर्दै गएको हो।

साविकका दुई निर्जीवन बीमा कम्पनी एक आपसमा गाभिएर २०८० जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। मर्जरपश्चात् कम्पनीको 

चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको थियो। त्यसपछि कम्पनीले पुँजी संरचना थप बलियो बनाउँदै १०.२६१२ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो। २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन र बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। पुँजी वृद्धिसँगै कम्पनीले आफ्नो व्यावसायिक संरचना, सेवा प्रवाह र बजार उपस्थितिलाई पनि पुनः व्यवस्थित गर्दै गएको छ। कम्पनीले बीमितको दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई प्रभावकारी बनाउने तर्फ जोड दिँदै आएको छ।

मर्जरपछि निरन्तर लाभांश वितरण

मर्जरपछिको तीन वर्षमा कम्पनीले शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्ने क्रममा ५० करोड ४४ लाख रुपैयाँ बोनस शेयर वितरण गरिसकेको छ। पहिलो वर्ष १०.२६१२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०८१/८२ मा ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गरेको छ।

मुनाफामा देखिएको सुधार

मर्जरअघि साविक युनाइटेड इन्स्योरेन्सले १५ करोड ८४ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सले १४ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए। मर्जरपछिको पहिलो चरणमा एकीकरण प्रक्रियासँग सम्बन्धित प्रभावका कारण कम्पनीको नाफा १८ करोड ५१ लाख रुपैयाँमा आर्जन गरेको थियो। त्यसपछिका वर्षमा कम्पनीले सुधार गर्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २४ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। उक्त वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीको मुनाफा १७ करोड ८० लाख रुपैयाँ रहेको छ। बैंकिङ क्षेत्रमा देखिएको घट्दो ब्याजदरका कारण लगानीबाट प्राप्त हुने प्रतिफलमा आएको कमीले समग्र बीमा क्षेत्रको आम्दानीमा प्रभाव पारेको छ।

नेटवर्थ र जगेडा कोषमा निरन्तर वृद्धि

कम्पनीको वित्तीय क्षमता मापन गर्ने अर्को महत्वपूर्ण सूचक नेटवर्थमा सुधार देखिएको छ। मर्जरअघि साविक युनाइटेड इन्स्योरेन्सको नेटवर्थ १ अर्ब ६१ करोड रुपैयाँ र अजोड इन्स्योरेन्सको १ अर्ब २५ करोड रुपैयाँ थियो। मर्जरपछि कम्पनीको नेटवर्थ बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा नेटवर्थ बढेर ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको जगेडा कोषपनि क्रमिक रूपमा बढिरहेको छ। मर्जरअघि साविक युनाइटेडको जगेडा कोषमा ५८ करोड ३० लाख रुपैयाँ र अजोडको २५ करोड ९ लाख रुपैयाँ थियो। मर्जरपछि जगेडा कोष १ अर्ब ६७ करोड ३१ लाख ९९ हजार रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा यो बढेर १ अर्ब ७५ करोड रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

सोल्भेन्सी मार्जिनमा बलियो स्थिति

बीमा कम्पनीको जोखिम बहन क्षमता मापन गर्ने महत्वपूर्ण सूचक सोल्भेन्सी मार्जिनमा पनि युनाइटेड अजोडको अवस्था बलियो देखिएको छ। मर्जरअघि साविक युनाइटेड इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन ३२३ प्रतिशत र अजोड इन्स्योरेन्सको २४१ प्रतिशत थियो। मर्जरपछि यो २१९ प्रतिशतमा आएको थियो। तर त्यसपछि कम्पनीले आफ्नो वित्तीय क्षमता विस्तार गर्दै सोल्भेन्सी मार्जिन सुधार गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा २७३ प्रतिशत रहेको सोल्भेन्सी मार्जिन आर्थिक वर्ष २०८१/८२ मा बढेर ४२९.३० प्रतिशत पुगेको छ। उच्च सोल्भेन्सी मार्जिनले कम्पनीको जोखिम व्यवस्थापन क्षमता र भविष्यमा ठूलो दाबी दायित्व बहन गर्ने क्षमतालाई बलियो बनाउने आधार प्रदान गर्छ।

बीमा शुल्क आर्जनमा विस्तार

मर्जरअघि साविक युनाइटेड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब ७३ करोड रुपैयाँ र अजोड इन्स्योरेन्सको १ अर्ब ६७ करोड रुपैयाँ थियो। मर्जरपछिको पहिलो वर्षमा कुल बीमा शुल्क आर्जन १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भए पनि त्यसपछिका वर्षमा कम्पनीले व्यवसाय विस्तार गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कुल बीमा शुल्क आर्जन २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने आर्थिक वर्ष २०८१/८२ मा बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

दाबी भुक्तानीमा बढ्दो प्राथमिकता

बीमा व्यवसायमा कम्पनीको सेवा प्रभावकारिता मापन गर्ने प्रमुख आधार दाबी भुक्तानी हो। युनाइटेड अजोड इन्स्योरेन्सले मर्जरपछि दाबी भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्ने क्रममा हालसम्म ६ अर्ब रुपैयाँभन्दा माथि भुक्तानी गरिसकेको छ। मर्जरअघि साविक युनाइटेड इन्स्योरेन्सले ६९ करोड ११ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सले ७७ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका थिए। मर्जरपछि कम्पनीको दाबी भुक्तानी रकम बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा यो रकम बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अपरष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले दाबी प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन छुट्टै संयन्त्रमार्फत बीमितसँग समन्वय, सर्वेयरसँग नियमित सम्पर्क र समयमै दाबी टुंग्याउने प्रक्रियालाई प्राथमिकता दिँदै आएको जनाएको छ।

खर्च व्यवस्थापनमा सुधार

मर्जरपछि कम्पनीले सञ्चालन खर्च व्यवस्थापनमा पनि सुधार गरेको छ। मर्जरपछिको पहिलो वर्ष कम्पनीको खर्च अनुपात ९.८४ प्रतिशत रहेकोमा त्यसपछिका वर्षमा क्रमशः घटेर ७.६० प्रतिशत र ७.२० प्रतिशत पुगेको छ। यसले कम्पनीको सञ्चालन क्षमता र स्रोत व्यवस्थापनमा सुधार आएको देखाउँछ।

डिजिटल सेवा र नयाँ बीमा अवधारणातर्फ अग्रसर

बीमा क्षेत्र डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा युनाइटेड अजोडले पनि डिजिटल बीमा सेवाको विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले डिजिटल पोलिसी, डिजिटल भुक्तानी, दाबी प्रक्रियाको अनलाइन ट्र्याकिङ तथा बीमा सेवाको सहज पहुँच विस्तार गर्ने दिशामा काम गरिरहेको जनाएको छ। नेपाल बीमा प्राधिकरणले अघि सारेका डिजिटल प्रणालीसम्बन्धी आवश्यकतालाई आत्मसाथ गर्दै कम्पनी डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ। त्यस्तै, कम्पनीले कृषि बीमा क्षेत्रमा पनि विशेष ध्यान दिँदै आएको छ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम सीमाभन्दा माथि रहेर कृषि बीमामा केन्द्रित भएर काम गरिरहेको कम्पनीको भनाइ छ। कम्पनीले प्यारामेट्रिक इन्स्योरेन्सजस्ता नयाँ अवधारणालाई पनि आगामी दिनको बीमा बजारको सम्भावनाका रूपमा लिएको छ। प्यारामेट्रिक बीमाले निश्चित सूचक वा मापदण्डका आधारमा क्षतिपूर्ति निर्धारण गर्ने भएकाले विपद् तथा कृषि क्षेत्रमा यसको प्रयोग बढ्दै गएको छ।

मर्जरपछिको यात्रामा बलियो आधार

युनाइटेड अजोड इन्स्योरेन्सको तीन वर्षको यात्राले पूँजी वृद्धि, वित्तीय सूचक सुधार, जोखिम वहन क्षमता विस्तार र सेवा सुधारमा केन्द्रित रणनीति देखाएको छ। मर्जरपछि बढेको पूँजी, मजबुत जगेडा कोष, उच्च सोल्भेन्सी मार्जिन, बढ्दो बीमा शुल्क आर्जन र दाबी भुक्तानी क्षमताले कम्पनीलाई प्रतिस्पर्धी बीमा बजारमा थप बलियो आधार दिएको देखिन्छ। कम्पनीले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै डिजिटल प्रविधि र नयाँ बीमा पोलिसीमार्फत बजार विस्तार गर्ने लक्ष्य राखेको छ। यस अवधिमा कम्पनीले राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको छ। कम्पनीले छैटौँ इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५ बाट समेत सम्मान प्राप्त गरेको छ। कम्पनीको सञ्चालक समिति, उच्च व्यवस्थापन समुह तथा सहयोगीहरुको निरन्तरको मिहिनेत र परिश्रम सँगै कम्पनीले आफुलाई नयाँ उचाइमा पुर्याएको हो।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।