नेपाल पर्यटन बोर्डले १ सेप्टेम्बरमा सार्वजनिक गरेको ‘नेपाल कलिङ’ सन्देशमा केही क्षेत्र प्राकृतिक विपत्तिबाट प्रभावित भए पनि “नेपाल बन्द छैन” भन्दै पर्यटनलाई निरन्तरता दिन आग्रह गरेको छ। बोर्डका अनुसार पर्यटकको भ्रमणले प्रभावित समुदायको जीविकोपार्जन र स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन सक्छ।
यसैबीच पर्यटन मन्त्री खड्कराज पौडेल (गनेस)ले एक भिडियो सन्देश जारी गरेका छन्। बाढीले सबै नेपाल प्रभावित भएको नभई थोरै क्षेत्र मात्र प्रभावित भएकोले नेपाल भ्रमण गर्न मन्त्री पौडेलले विदेशी पाहुनालाई आग्रह गरेका छन्। ‘नेपालका विमानस्थल सञ्चालनमा छन्, हिमाल र पदयात्रा रुटले पाहुना पर्खिरहेका छन्। होटेल र रेस्टुरेन्ट खुला र स्वागत गर्न तयार छन्।’ मन्त्री पौडेलले सन्देशमा भनेका छन्।

मन्त्री पौडेलले जस्तै गरी पर्यटन व्यवसायीले पनि आ-आफ्नो तर्फबाट सन्देश प्रवाह गर्न थालेका छन्। खासगरि मुख्य पर्यटन सिजनमा नै समस्या देखिए पछि यस्ता आग्रह आउन थालेका हुन्। तर नेपालले पर्यटकलाई स्वागत गरिरहेका बेला विदेशी सरकारहरूले आफ्ना नागरिकलाई जारी गरेका पछिल्ला ट्राभल एडभाइजरी भने तुलनात्मक रूपमा बढी सतर्क छन्। ती मुलुकले नेपाललाई समग्रमा यात्रा निषेध गरेका छैनन्, तर बाढी तथा पहिरो प्रभावित क्षेत्रलाई छुट्टै जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गर्दै यात्रा नगर्न वा यात्रा पुनर्विचार गर्न आग्रह गरेका छन्।
अमेरिका : रसुवाको निश्चित क्षेत्र ‘डु नट ट्राभल’
अमेरिकी विदेश मन्त्रालयले ३० अगस्टमा नेपालको ट्राभल एडभाइजरी अद्यावधिक गर्दै नेपाललाई समग्रमा Level 2—Exercise Increased Caution मा राखेको छ। यो भनेको ‘सावधानी बढाएर यात्रा गर्नुपर्ने देश’ का रूपमा राखेको हो। तर रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेंसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकालाई Level 4—Do Not Travel मा राखिएको छ। यो भनेको आफ्ना नागरिकलाई त्यहाँ कुनै पनि कारणले नजान भनेको हो। बाढीबाट यातायात र सञ्चार पूर्वाधारमा क्षति पुगेको, खोज तथा उद्धार र पुनःस्थापना जारी रहेको तथा थप बाढी र पहिरोको जोखिम रहेको भन्दै उक्त क्षेत्रमा कुनै पनि कारणले नजान अमेरिकी नागरिकलाई भनिएको छ। अमेरिकी चेतावनीले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहनसमेत सुझाएको छ।
क्यानडा : रसुवा र नुवाकोटमा अनावश्यक यात्रा नगर्नू
क्यानडाले नेपाललाई ‘Exercise a High Degree of Caution’ को श्रेणीमा राखेको छ। तर बाढी र पहिरोबाट गम्भीर क्षति भएका रसुवा र नुवाकोटमा ‘Avoid Non-Essential Travel’ अर्थात् अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ। सरल नेपाली भाषामा भन्दा ‘घुमघामका लागि अहिले जोखिम भएको ठाउँमा नजानुस्, जरुरी काम छ भने मात्र जानुपर्ने अवस्था छ।’ क्यानडाको सूचनामा यातायात, विद्युत्, पानी तथा खाद्यान्न आपूर्ति, दूरसञ्चार, आकस्मिक सेवा र स्वास्थ्य सेवासमेत प्रभावित भएको उल्लेख छ। साथै प्रभावित क्षेत्रमा थप बाढी र पहिरोको जोखिम कायमै रहेको बताइएको छ।
अष्ट्रेलिया : सात जिल्लाका प्रभावित क्षेत्रमा यात्रा पुनर्विचार
अष्ट्रेलियाको Smartraveller ले पनि नेपालमा समग्रमा उच्च सतर्कता अपनाउन भनेको छ। तर भोटेकोशी र त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, नवलपुर र गोरखाका बाढी प्रभावित क्षेत्रमा यात्रा गर्ने आवश्यकता पुनर्विचार गर्न आग्रह गरेको छ। अष्ट्रेलियाले सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति भएको र थप बाढी, पहिरो तथा debris flow को जोखिम उच्च रहेको जनाएको छ। यात्रुहरूलाई एयरलाइन्स, टुर अपरेटर वा ट्राभल एजेन्सीसँग यात्रा अवस्था यकिन गर्न पनि सुझाइएको छ।
बेलायत र न्युजिल्यान्ड पनि सतर्क
बेलायतले २६ अगस्टको बाढीपछि रसुवा र नेपाल–चीन सीमा क्षेत्रमा सडक, भवन, यातायात तथा सञ्चार पूर्वाधारमा व्यापक क्षति भएको जनाएको छ। गोरखा, नुवाकोट र धादिङलगायत क्षेत्रमा समेत असर परेको र थप बाढी आउन सक्ने चेतावनी दिँदै प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई नेपाली तथा स्थानीय अधिकारीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
न्युजिल्यान्डले भने नेपाल–तिब्बत सीमा क्षेत्रका लागि Level 4—Do Not Travel जारी गरेको छ। उसले प्रभावित क्षेत्रमा नजान, नदी किनार र होचा भूभागबाट टाढा रहन तथा प्रभावित सडकमार्गमा यात्रा नगर्न आफ्ना नागरिकलाई सुझाएको छ।
‘नेपाल खुला छ’ तर कहाँसम्म?
यहीँ नेपालको पर्यटन सन्देश र विदेशी सरकारका चेतावनीबीचको मुख्य अन्तर देखिन्छ। नेपाल पर्यटन बोर्डको सन्देश देशको समग्र पर्यटन गतिविधि चलिरहेको छ भन्नेमा केन्द्रित छ। बोर्डले पर्यटन सूचना डेस्क र क्विक रेस्पोन्स टिम सञ्चालनमा रहेको जनाएको छ।
विदेशी सरकारहरूको दृष्टिकोण भने क्षेत्रगत जोखिममा केन्द्रित छ। उनीहरूले नेपाललाई सम्पूर्ण रूपमा असुरक्षित भनेका छैनन्। बरु बाढीले प्रत्यक्ष असर गरेका क्षेत्रमा सडक, पुल, सञ्चार, उद्धार र स्वास्थ्य सेवाको अवस्था कमजोर भएकाले त्यहाँको यात्रा जोखिमपूर्ण हुनसक्ने बताएका छन्।यसकारण अहिलेको बहस ‘नेपाल खुला छ कि छैन?’ भन्दा पनि ‘नेपालको कुन भूभाग पर्यटकका लागि खुला र सुरक्षित छ?’ भन्ने प्रश्नतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ।
पर्यटन पुनरुत्थानका लागि पर्यटक बोलाउनु आवश्यक छ। तर विपत्तिपछिको अवस्थामा सकारात्मक प्रचारसँगै जोखिमको स्पष्ट सूचना दिनु झन् आवश्यक हुन्छ। पर्यटकलाई कुन गन्तव्य सामान्य अवस्थामा छन्, कुन सडक खुलेका छन्, कुन पदमार्ग सञ्चालनमा छन् र कुन क्षेत्रबाट तत्काल टाढा रहनुपर्छ भन्ने स्पष्ट जानकारी दिन सके मात्र ‘नेपाल खुला छ’ भन्ने सन्देश विश्वसनीय बन्न सक्छ। अर्थात्, अहिले नेपालको आवश्यकता केवल ‘घुम्न आउनुस्’ भन्ने निम्तो होइन—‘सुरक्षित ठाउँमा घुम्न आउनुस्’ भन्ने स्पष्ट सन्देश पनि हो।