यसको एउटा कम देखिने प्रभाव शेयर बजारमा पर्छ। पानीको सतह घटिसकेपछि पनि त्यसले बजारमा छोडेको डर,अन्योल र भविष्यप्रतिको शंका केही समयसम्म कायम रहन सक्छ।
प्राकृतिक विपत्तिपछि लगानीकर्ताको धारणा र बजारको व्यवहारबारे भएका अध्ययनहरूले पनि विपत्तिको प्रकृति, बीमाको अवस्था र आर्थिक पृष्ठभूमि अनुसार लगानीकर्ताको प्रतिक्रिया फरक हुने देखाएका छन्। एउटा अन्तर्राष्ट्रिय अध्ययनले ठूलो बाढी र पहिरोजस्ता घटनापछि वित्तीय क्षेत्रप्रतिको सार्वजनिक धारणा कतिपय अवस्थामा उल्टै बलियो हुन सक्ने देखाएको छ, अर्थात् मानिसले जोखिमलाई मात्र होइन, विपत्तिपछि हुने संरक्षण र पुनर्निर्माणको सम्भावनालाई पनि हेर्न थाल्छन्।

बाढी आएपछि लगानीकर्ताले सबैभन्दा पहिले के सोच्छन् ?
सामान्य अवस्थामा लगानीकर्ताले कम्पनीको नाफा, बिक्री, ऋण, लाभांश र भविष्यको व्यापार हेर्छ। तर बाढीपहिरो आएपछि उसको प्राथमिकता अचानक बदलिन्छ।
उसले सोच्न थाल्छ—कम्पनीको सम्पत्ति कति क्षतिग्रस्त भयो ? उत्पादन बन्द भयो कि भएन ? फेरि सञ्चालन हुन कति समय लाग्छ ? बीमाले क्षति बेहोर्छ कि बेहोर्दैन ? बैंकको ऋण कसरी तिर्ने ? अर्थात्, बाढीपछि लगानीकर्ताको ध्यान आजको नाफाबाट भोलिको जोखिमतर्फ सर्छ।
यही परिवर्तनले शेयर मूल्यमा पहिलो झट्का ल्याउँछ।
अझ समस्या त्यतिबेला गम्भीर हुन्छ जब वास्तविक क्षतिको सूचना तुरुन्तै आउँदैन। आयोजना क्षतिग्रस्त भयो भन्ने खबर आउँछ, तर कति क्षति भयो भन्ने थाहा हुँदैन। यस्तो अवस्थामा लगानीकर्ताले प्रायः सुरक्षित बाटो रोज्छ—पहिले बेच्ने, पछि वास्तविकता बुझ्ने।
जापान: डर कति तीव्र हुन्छ भन्ने उदाहरण
११ मार्च २०११ मा जापानमा गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामी आधुनिक वित्तीय इतिहासकै महत्त्वपूर्ण प्राकृतिक विपत्तिमध्ये एक बन्यो । त्यसपछि फुकुशिमा आणविक दुर्घटनाले अनिश्चितता अझ बढायो।
घटनापछिको पहिलो कारोबारमा बजारले ठूलो झट्का महसुस गर्यो र निक्केई परिसूचक ६.१८ प्रतिशतले घट्यो ।
लगानीकर्ताले बिस्तारै वास्तविक क्षतिको मूल्यांकन गर्न थाले। कुन कम्पनी प्रत्यक्ष प्रभावित भयो, कुनको उत्पादन बन्द भयो, कुनको आपूर्ति शृंखला बिग्रियो र कुन कम्पनी पुनर्निर्माणबाट लाभान्वित हुन सक्छ भन्ने छुट्याउन थाले। अनुसन्धानले जापानको समग्र शेयर बजारमा भूकम्पको नकारात्मक प्रभाव सामान्य अवस्थामा फर्किन दश कारोबार दिन लागेको देखाएको छ।
जापानको घटनाले शेयर बजारको मनोविज्ञानलाई स्पष्ट पारेको छ । विपत्ति सुरु हुँदा लगानीकर्ता सबैभन्दा पहिले जोखिम देख्छ। तर क्षतिको वास्तविकता स्पष्ट भएपछि उसले अवसर पनि देख्न थाल्छ।
(थप जानकारीको लागि हेर्नुहोसः २०२४ मे १ मा साइन्स जर्नलमा Do natural disasters affect stock price crash risk? Evidence from emerging markets शिर्षकमा प्रकाशित रुही झाउ, दियोंग झाँग र मिंगमेंग गाउको अनुसन्धानमूलक रिपोर्ट )
यसैले जापानको घटना विपत्ति आयो, शेयर घट्यो भन्ने मात्र होइन, यो डरबाट तथ्यतर्फ र तथ्यबाट अवसरतर्फ सरेको लगानीकर्ताको मनोविज्ञानको कथा हो।
प्राकृतिक विपत्तिले आर्थिक गतिविधि समाप्त मात्र गर्दैन, त्यसको दिशा पनि बदल्छ। बाढीपछि सबै लगानीकर्ताले एउटै निर्णय गर्दैनन्।
एक समूह भन्छ- अझै घट्न सक्छ, पहिले पैसा जोगाऔँ । अर्को समूह भन्छ- कम्पनीको वास्तविक मूल्य यति घटेको छैन, अहिले सस्तोमा पाइयो।
पहिलो समूहले बिक्री बढाउँछ। दोस्रो समूहले खरिद बढाउँछ। यिनै दुई समूहबीचको शक्ति संघर्षले बाढीपछि शेयर बजारलाई अत्यन्त चञ्चल बनाउँछ। यही कारणले विपत्तिपछि कहिलेकाहीँ केही दिनमै ठूलो गिरावट र त्यसपछि तीव्र सुधार देखिन सक्छ।
पाकिस्तान: जब बाढीले लगानीकर्ताको डरलाई अर्थतन्त्रको डर बनायो
पाकिस्तानको २०२२ को बाढी भने अझ फरक घटना थियो। त्यतिबेला पाकिस्तान पहिले नै आर्थिक कठिनाइमा थियो। मुद्रास्फीति उच्च थियो, विदेशी मुद्रा सञ्चितिमा दबाब थियो, मुद्रा कमजोर थियो र बाह्य ऋण व्यवस्थापन चुनौतीपूर्ण थियो। पाकिस्तानको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको तथा पुनर्निर्माणका लागि अर्बौं डलर आवश्यक पर्ने संयुक्त मूल्यांकनले देखाएको थियो।
त्यसपछि लगानीकर्ताको प्रश्न केवल कुन कम्पनी डुब्यो ? भन्ने रहेन । प्रश्न बदलियो - यसले देशको खाद्य आपूर्ति, महँगी, आयात, विदेशी मुद्रा र सरकारी खर्चमा के असर पार्छ ?
त्यसैले लगानीकर्ताको मनमा एउटै डर थिएन। धेरै डर एकैपटक जोडिएका थिए। कृषि उत्पादन घट्ने डर, खाद्यान्न महँगिने डर, आयात बढ्ने डर, विदेशी मुद्रा थप कमजोर हुने डर,सरकारी ऋण बढ्ने डर ।
यही कारणले पाकिस्तानको उदाहरण नेपालका लागि विशेष अर्थपूर्ण छ। प्राकृतिक विपत्ति आफैंले मात्र शेयर बजार चलाउँदैन,त्यो विपत्ति अर्थतन्त्र पहिले नै कस्तो अवस्थामा थियो भन्ने कुराले यसको प्रभावलाई धेरै गुणा बढाउन सक्छ।
तर इतिहासले अर्को कुरा पनि देखाउँछ। पाकिस्तानको शेयर बजारमा बाढी आएको हरेक वर्ष बजार अनिवार्य रूपमा लामो समय ओरालो लागेको थिएन। यसको अर्थ बाढीलाई शेयर बजारको एकमात्र कारण मान्नु गलत हुन्छ। बाढीसँगै राजनीतिक अवस्था, मुद्रा, महँगी, ऋण र अन्य आर्थिक घटनाले पनि बजार चलाइरहेका हुन्छन्।
त्यसो भए लगानीकर्ता वास्तवमा केसँग डराउँछन् ?
बाढीको पानीसँग होइन । अनिश्चित भविष्यसँग ।
कम्पनीको कारखाना डुब्यो भने क्षति देखिन्छ। तर कम्पनी कहिले सामान्य अवस्थामा फर्किन्छ भन्ने थाहा नहुनु अझ ठूलो समस्या हो। यदि लगानीकर्तालाई क्षति १० करोड रुपैयाँ हो, बीमाबाट ८ करोड आउँछ र तीन महिनामा उत्पादन सुरु हुन्छ भनियो भने डर धेरै कम हुन्छ।
तर क्षतिको मूल्यांकन हुँदैछ, उत्पादन कहिले सुरु हुन्छ थाहा छैन भनियो भने लगानीकर्ताले जोखिमको ठूलो मूल्य लगाउन सक्छ। यसैले विपत्तिपछि सूचनाको गति र विश्वसनीयता शेयर बजारको मनोविज्ञानका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ।
अफवाहले वास्तविकभन्दा क्षति गर्न सक्छ
आजको शेयर बजारमा अर्को समस्या छ, सूचना सामाजिक सञ्जालबाट अत्यन्त तीव्र गतिमा फैलिन्छ।बाढीको भिडियो आउँछ। कुनै जलविद्युत् आयोजनाको दृश्य देखिन्छ। त्यससँगै अपुष्ट सूचना फैलिन्छ आयोजना पूर्ण रूपमा बग्यो।
लगानीकर्ताले बेच्न थाल्छ। पछि वास्तविक जानकारी आउँछ,आयोजनाको मुख्य संरचना सुरक्षित रहेछ। तर त्यतिबेलासम्म शेयर मूल्यमा ठूलो परिवर्तन भइसकेको हुन सक्छ।
प्राकृतिक विपत्तिको समयमा लगानीकर्ताको मनोविज्ञान र सूचनाको असमान पहुँचले बजारमा असामान्य उतारचढाव र गलत मूल्य निर्धारणको जोखिम बढाउन सक्ने अनुसन्धानले देखाएको छ।यसैले विपत्तिपछिको बजारमा सत्य सूचना स्वयं एउटा आर्थिक सम्पत्ति जस्तै बन्न पुग्छ।
पुनर्निर्माण सुरु भएपछि मनोविज्ञान फेरि बदलिन्छ
बाढीको पहिलो कथा क्षतिको हुन्छ। दोस्रो कथा पुनर्निर्माणको हुन्छ। सरकारले सडक बनाउन थाल्छ। पुल बनाउन थाल्छ। विद्युत् आयोजना मर्मत हुन्छन्। घरहरू पुनर्निर्माण हुन्छन्।
त्यसपछि निर्माण सामग्री, श्रम, यातायात, उपकरण र इन्जिनियरिङ सेवाको माग बढ्न सक्छ। यही कारणले जापानको २०११ को भूकम्पमा निर्माण क्षेत्रले अरू धेरै क्षेत्रभन्दा फरक प्रतिक्रिया दिएको अनुसन्धानले देखाएको थियो।
यसलाई सरल भाषामा भन्दा बाढीले एउटा व्यवसायको आम्दानी घटाउन सक्छ, तर पुनर्निर्माणले अर्को व्यवसायको आम्दानी बढाउन सक्छ।
नेपालको सन्दर्भमा यो मनोविज्ञान अझ संवेदनशील किन छ ?
नेपालको भौगोलिक अवस्थाले बाढी र पहिरोलाई नियमित आर्थिक जोखिम बनाएको छ। त्यसमाथि शेयर बजारमा जलविद्युत् कम्पनीहरूको ठूलो उपस्थिति छ। त्यसैले कुनै ठूलो बाढी आउँदा लगानीकर्ताको मनमा पहिलो प्रश्न जलविद्युत् आयोजनातर्फ जानु स्वाभाविक हो।
एउटा आयोजना नदीको किनारमा भए पनि त्यसको मुख्य संरचना सुरक्षित हुन सक्छ। अर्को आयोजना सामान्य बाढीमा पनि जोखिममा पर्न सक्छ। कुनै कम्पनीको बीमा बलियो हुन सक्छ।
कुनै कम्पनीको ऋण धेरै हुन सक्छ। कुनै आयोजनाको उत्पादन केही दिनमा फर्किन सक्छ। अर्को आयोजना महिनौँ बन्द हुन सक्छ।
नेपालका लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण प्रश्न
नेपाली लगानीकर्ताले नेप्से परिसूचक वा अमुक कम्पनीको शेयर कति घट्यो भन्ने चिन्ताबाट माथि उठेर अन्य पाँचवटा प्रश्नको जवाफ खोज्नु पर्छ । ती प्रश्नहरु हुन्ः
क्षति कति वास्तविक छ ?
कम्पनीको आम्दानीमा कति असर पर्छ?
बीमाले कति जोखिम समेट्छ ?
कम्पनी कति छिटो पुनः सञ्चालन हुन सक्छ ?
पुनर्निर्माणबाट भविष्यमा कसलाई फाइदा पुग्छ ?
यी प्रश्नको उत्तर नदिई आएको गिरावटलाई अवसर मान्नु पनि जोखिमपूर्ण हुन्छ र डरका कारण सबै शेयर बेच्नु पनि।