जुन निर्णयले प्राथमिक बजारबाट पूँजी जुटाएका ३६ वटा कम्पनीका ३६ करोडभन्दा बढी कित्ता संस्थापक शेयर अझै बन्धक बनेका छन्। सेबोनले लकइन अवधि सकिइसकेका दुईवटा कम्पनी (इमर्जिङ नेपाल र कालिञ्चोक दर्शन) को संस्थापक शेयर कारोबार पुरानै एकल (एउटै) आइजीन कायम गरी खुलाउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई निर्देशन दिए पनि नयाँ कम्पनीहरूको संस्थापक शेयर डिम्याट (अभौतिकीकरण) गर्ने मूल समस्या भने अझै पन्छाएको छ।
सीडीएससीले संस्थापक र साधारण शेयरलाई छुट्टाछुट्टै आइजीन दिएर व्यवस्थापन गर्ने प्रस्तावसहित पेस गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका’ को मस्यौदालाई सेबोनले अस्वीकृत गर्दै पुनः ‘थप अध्ययन’ गर्न फिर्ता पठाएपछि नयाँ कम्पनीहरूका संस्थापक शेयरधनीहरू अन्योलमा परेका हुन्।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले सेबोनको पत्रपछि लकइन सकिएका कम्पनीहरूको कारोबार साबिककै विधिबाट खुलाइए पनि नयाँ कम्पनीहरूको अभौतिकीकरणबारे कुनै निकास ननिस्किएको बताए। "लकइन अवधि सकिएर एउटै आइजीनमा कारोबार हुनुपर्नेमा रोकेर बसेका कम्पनीहरूको हकमा पहिला जसरी मिसाएको थियो, त्यसरी नै मिसाउनु भन्ने खालको पत्र बोर्डबाट प्राप्त भएको हो। त्यो अनुसार उनीहरूको कारोबारको बाटो खुलेको छ, तर अरूको हकमा कुनै परिवर्तन भएको छैन," प्रवक्ता न्यौपानेले भने, "आईपीओ जारी गरेका नयाँ कम्पनीहरूको संस्थापक शेयर डिम्याट खातामा पठाउनेबारे अहिले केही सम्बोधन भएको छैन। त्यसको फर्दर स्टडी (थप अध्ययन) गरेर फेरि पेस गर्ने भन्ने कुरा छ।"
प्रवक्ता न्यौपानेका अनुसार ‘ॐ मेगाश्री फर्मास्युटिकल्स’ को प्राथमिक निष्कासन (IPO) आएको समयदेखि नै संस्थापक शेयर डिम्याट खातामा पठाउने प्रक्रिया रोकिएको छ।
डेढ वर्षदेखि ३६ कम्पनीका ३६ करोड शेयर डिम्याटविहीन

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयरमा लकइन अवधि लाग्दछ। तर, आइजीन विवादका कारण सीडीएससीले पछिल्लो डेढ वर्षयता आईपीओ जारी गरेका कम्पनीहरूको संस्थापक शेयर डिम्याट खातामै पठाएको छैन।
तथ्याङ्क अनुसार २०८१ चैत १२ मा बाँडफाँड भएको ॐ मेगाश्री फर्मास्युटिकल्स देखि सन् २०८३ असार १९ मा बाँडफाँड भएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट सम्मका ३६ वटा कम्पनीका कुल ३६ करोड १० लाख २२ हजार ४०५ कित्ता संस्थापक शेयर हालसम्म पनि अभौतिकीकरण हुन नसकी अलपत्र परेका छन्। प्रभावित कम्पनीहरूमा जलविद्युत्, सिमेन्ट, औषधि उद्योग, पेन्ट्स, डिस्टिलरी, होटल तथा पर्यटन, केबलकार र लघुवित्तसम्मका कम्पनीहरू रहेका छन्।
विवादको जरो : एकल कि दोहोरो आइजीन ?
सीडीएससीले लकइनमा रहेका शेयर अनधिकृत रूपमा दोस्रो बजारमा नछिरून् र नियमन प्रभावकारी होस् भन्दै संस्थापक र साधारण शेयरका लागि छुट्टाछुट्टै आइजीन (Dual ISIN) लागू गर्ने व्यवस्थासहित निर्देशिका प्रस्ताव गरेको थियो। तर, सेबोनले समस्या समाधानका लागि ठोस नीतिगत निर्णय लिनुको सट्टा नियामक सेबोनले लकइन अवधि सकिएर दबाबमा परेका २ कम्पनीको मात्र किनबेच खोल्ने तदर्थ निर्णय गरेको छ। बाँकी ३६ कम्पनीको संस्थापक शेयर कुन विधिबाट कहिले डिम्याट गर्ने भन्ने दीर्घकालीन निकास नदिई विषयलाई पुनः ‘अध्ययन’ को नाममा पन्छाएपछि पूँजीबजारमा अर्बौं रुपैयाँको संस्थापक शेयर कानुनी अन्योलको बन्धक बनिरहेको छ।