नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको 'वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८१/८२' अनुसार चुक्ता पुँजी तथा कम्पनीहरूको सञ्चित कमाइमा भएको वृद्धिका कारण लगानीको कुल आकार बढेको हो।
समीक्षा वर्षमा कुल वैदेशिक प्रत्यक्ष लगानी भित्र्यावट १२ अर्ब रुपैयाँ रहे पनि लगानी लाभांश तथा पुँजी फिर्ता बापत ४.७ अर्ब रुपैयाँ बाहिरिएकाले खुद प्राप्ति भने ७.३० अर्ब रुपैयाँ कायम भएको छ। नेपालमा रहेको कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको हिस्सा ५४.२ प्रतिशत (रु. १८४.२१ अर्ब), सञ्चित कमाइ वा पुनः लगानीको हिस्सा ३६.९ प्रतिशत (रु. १२५.४९ अर्ब) र अन्तर-कम्पनी ऋणको हिस्सा ८.९ प्रतिशत (रु. ३०.१४ अर्ब) रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चुक्ता पुँजीको हिस्सा बढेकाले विदेशी लगानीकर्ताहरू स्व-पुँजीमा बढी आकर्षित भएको देखिन्छ।
क्षेत्रगत आधारमा कुल लगानीको ५६.२ प्रतिशत हिस्सा उत्पादन, ऊर्जा र निर्माणसहितको औद्योगिक क्षेत्रमा छ भने बाँकी ४३.७ प्रतिशत हिस्सा सेवा क्षेत्रमा रहेको छ। औद्योगिक क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रमा २७.८ प्रतिशत (रु. ९४.५४ अर्ब) र जलविद्युत क्षेत्रमा २७.८ प्रतिशत (रु. ९४.३१ अर्ब) लगानी रहेको छ। २६.३ प्रतिशत हिस्सासहित वित्तीय तथा बिमा सेवा क्षेत्र तेस्रो स्थानमा छ। हालसम्म विश्वका ६० वटा देशहरूबाट नेपालमा वैदेशिक लगानी प्राप्त भएको छ। जसमध्ये कुल लगानीका आधारमा भारत सबैभन्दा ठूलो लगानीकर्ता मुलुक बनेको छ। भारतको लगानी १११.६४ अर्ब रुपैयाँ अर्थात् कुल लगानीको ३२.८ प्रतिशत छ। दोस्रो स्थानमा रहेको चीनको लगानी ३१.४४ अर्ब रुपैयाँ अर्थात् ९.३ प्रतिशत रहेको छ। त्यसपछि क्रमशः आयरल्यान्ड (७.३%), अस्ट्रेलिया (६.५%) र सिङ्गापुर (५.४%) अग्रस्थानमा पर्दछन्।
प्रादेशिक वितरणका हिसाबले वैदेशिक लगानीमा ठूलो असन्तुलन देखिएको छ। कुल लगानीको ६४ प्रतिशत (रु. २१७.३५ अर्ब) हिस्सा बागमती प्रदेशमा मात्र सीमित रहेको छ भने कर्णाली प्रदेशमा १ प्रतिशतभन्दा पनि कम (०.३%) लगानी पुगेको छ। नेपालमा सरकारी निकायबाट स्वीकृत हुने लगानी प्रतिबद्धता र वास्तविक भित्रिने रकमबीच ठूलो अन्तर रहँदै आएको छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्दा स्वीकृत लगानीको औसत २९.६ प्रतिशत मात्र वास्तविक लगानीका रूपमा भित्रिएको छ। समयमै आयोजना कार्यान्वयन नहुनु, प्रशासनिक ढिलासुस्ती र जग्गा प्राप्तिमा हुने जटिलता यसका प्रमुख कारण हुन्। वैदेशिक लगानीयुक्त उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ५९.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।