आयातकर्ताले पछिल्ला केही कारोबारमा कम्तीमा ५ लाख टन अस्ट्रेलिया र अर्जेन्टिनाको गहुँ खरिद गरिसकेका छन् । व्यापार स्रोतहरूका अनुसार यो खरिद मुख्यतः रुस र युक्रेनबाट आउन ढिला भएका गहुँको ठाउँ पूर्ति गर्न गरिएको हो ।
समस्या गहुँ उत्पादनमा मात्र होइन, गहुँ बन्दरगाहसम्म पुगेर जहाजमा चढ्न सक्ने अवस्थामै छ कि छैन भन्नेमा आएको हो ।
अगस्ट ३१ मा युक्रेनको ओडेसास्थित एउटा ठूलो अन्न टर्मिनलमा ड्रोन आक्रमण भयो । त्यसले निर्यात पूर्वाधारमा क्षति पुर्यायो । कालो सागर क्षेत्रमा जहाजमाथि हुने आक्रमण र बन्दरगाह तथा अन्न पूर्वाधारमाथिका हमलाले आयातकर्तालाई आफ्नो पुरानो आपूर्ति सम्झौता पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता बढाएको छ ।
रुस र युक्रेनको भन्दा अस्ट्रेलिया र अर्जेन्टिनाको गहुँ महँगो
रुस र युक्रेनको गहुँ तुलनात्मक रूपमा सस्तो थियो । तर वैकल्पिक स्रोततर्फ जाँदा एसियाली खरिदकर्ताले धेरै बढी मूल्य तिर्नुपरेको छ।
हालका कारोबारमा अस्ट्रेलियाको गहुँ करिब ३१५–३३० अमेरिकी डलर प्रतिटन र अर्जेन्टिनाको गहुँ करिब ३१०–३१५ डलर प्रतिटन रहेको छ, जबकी रुस र युक्रेनको गहुँको मूल्य करिब २६०–२८० डलर प्रतिटन आसपास छ । अर्थात् विकल्प खोज्दा एसियाली खरिदकर्ताले प्रतिटन दर्जनौँ डलर बढी तिर्नुपरेको छ।
अस्ट्रेलिया र अर्जेन्टिनाका किसानलाई अवसर
एसियाले अस्ट्रेलियाको गहुँ बढी किन्न थालेपछि अस्ट्रेलियाका किसान र निर्यातकर्ताले ठूलो बजार पाएका छन्। माग बढ्दा अस्ट्रेलियाली गहुँको मूल्य पनि माथि गएको छ।

एसएन्डपी ग्लोबलका अनुसार अगस्टमा अस्ट्रेलियाली गहुँको मूल्य तीन वर्षयताकै उच्च स्तरमा पुगेको थियो। अगस्ट ३१ मा अस्ट्रेलियाली प्रिमियम ह्वाइट गहुँको मूल्य करिब ३१२ डलर प्रतिटन एफओबी पुगेको थियो।
अर्जेन्टिनाले पनि यही अवसर पाएको छ। एसियाली खरिदकर्ताले पछिल्लो एक–दुई सातामा अर्जेन्टिनाको गहुँका ठूलो परिमाणका कारोबार गरेका छन्। व्यापार स्रोतका अनुसार तत्कालको आवश्यकता पूरा गर्न अस्ट्रेलिया र अर्जेन्टिनाबाट थोक खरिद गरिएको हो।
नेपालमा असर
नेपालले पनि ठूलो मात्रामा खाद्यान्न आयात गर्छ । अन्तर्राष्ट्रिय गहुँ मूल्य बढ्दा यसको प्रत्यक्ष र अप्रत्यक्ष असर मैदा, पिठो, बिस्कुट, चाउचाउ, बेकरी, पास्ता, पशु आहार लगायतमा पर्न सक्छ । त्यसैले विश्व बजारमा गहुँको मूल्य बढ्दा नेपालमा पनि गहुँ र त्यसबाट उत्पादित समानहरुको मूल्य वृद्धि हुने खतरा बढेको छ ।