भोटेकोशी बाढीपीडितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टको १ करोड ११ लाख सहयोग

Sep 08, 2026 12:16 PM Merolagani



रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावथिया, पूर्व–सञ्चालक तेजिन लाक्देन, प्रमुख कार्यकारी अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। राष्ट्रिय विपद्को यस कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दुई कम्पनीले संयुक्त रूपमा सहयोग गर्ने निर्णय गरेको जनाइएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने उक्त रकमले बाढी प्रभावित परिवारको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएका यी कम्पनीले आगामी दिनमा पनि देश र समुदायलाई आवश्यक परेको समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, भोटेकोशी बाढीमा परी असामयिक निधन भएका व्यक्तिहरूप्रति कम्पनीहरूले श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित सम्पूर्ण नागरिकप्रति समवेदना व्यक्त गरेका छन्। प्रभावित परिवार तथा समुदायको शीघ्र राहत, उद्धार र पुनःस्थापनाको काम सफल होस् भन्ने कामनासमेत गरिएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।