तीज आउनु अघि नै भरिभराउ हुने देशभरका पार्टी प्यालेस सुनसान, सबै बुकिङ क्यान्सिल

Sep 09, 2026 11:09 AM Merolagani



सुवास निरौला 

काठमाडौँको एक बचत तथा ऋण सहकारी संस्थामा कार्यरत शर्मिला कार्की (नाम परिवर्तन) को दराजमा यतिबेला नयाँ रातो सारी, पोते र चुराहरू सजिएका छन्। 

तर, ती पहिरनहरू यस वर्ष दराजबाट बाहिर निस्किएनन्। हरेक वर्ष भाद्र महिना लाग्नासाथ शर्मिलाको मनमा तीजको छुट्टै उमङ्ग छाउँथ्यो। सहकारीका महिला सदस्यहरूलाई एकै ठाउँमा भेला गराउने, दर खुवाउने र नाचगान गर्ने तयारीमा उनी हप्तौँअघिदेखि खटिन्थिन्।

शर्मिला कार्यरत सहकारीले आफ्ना महिला सदस्यहरूका लागि हरेक वर्ष भव्य रूपमा तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो। त्यसका लागि सहकारीका सदस्यहरूले वर्षभरि नै हरेक महिना एक–एक हजार रुपैयाँका दरले ‘तीज बचत’ खातामा रकम जम्मा गर्ने गर्थे। १२ महिनामा जम्मा हुने त्यही रकमबाट तीजको दर, पार्टी प्यालेसको हल, साउन्ड सिस्टम र सानातिना उपहारहरूको व्यवस्थापन हुन्थ्यो।

यस वर्ष पनि सदस्यहरूको बचतबाट करिब दुई लाख रुपैयाँ संकलन भइसकेको थियो। सुन्धारा नजिकैको एउटा पार्टी प्यालेसमा हल पनि 'होल्ड' गरिएको थियो। तर, भाद्रको अन्त्यतिर रसुवा, धादिङ,काभ्रे र उपत्यकालगायत देशका विभिन्न भूभागमा आएको भीषण बाढीपहिरोले देशलाई नै स्तब्ध बनाइदियो।

चारैतिर बाढीपहिरोको वितण्डा,पहिरोमा पुरिएका नागरिकका चित्कार र सडक सञ्जाल विच्छेद भएका दर्दनाक दृश्यहरू जब टेलिभिजन र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए,तब शर्मिलाको सहकारीको कार्यसमिति र महिला सदस्यहरूको एउटा आकस्मिक बैठक बस्यो। "देश नै रोइरहेका बेला हामी रातो साडी लगाएर पार्टी प्यालेसमा छमछमी नाच्न कसरी सक्छौँ?" बैठकमा शर्मिलाले यही प्रस्ताव राखिन्।

सबै महिला सदस्यहरूले एकै स्वरमा सहमति जनाए। वर्षभरि गरेको बचतबाट पार्टी प्यालेसमा खर्च गर्न ठिक्क पारिएको त्यो दुई लाख रुपैयाँ नाचगान र भोजमा खर्च गर्नुभन्दा बाढीपीडितका लागि राहत कोषमा जम्मा गर्ने ऐतिहासिक निर्णय भयो। रहरलाई थाँती राखेर विपदमा परेका दाजुभाइ दिदीबहिनीको घाउमा मलम लगाउन पाएकोमा कुनै पनि सदस्य असन्तुष्ट भएनन्, बरु सबैको अनुहारमा एउटा सन्तोष देखिन्थ्यो।

तर, शर्मिला र उनको सहकारी त एउटा प्रतिनिधि पात्र मात्र हुन्। देशमा आइपरेको यो महाविपत्ति र त्यसपछिको शोकका कारण देशभरिका यस्ता सयौँ औपचारिक तथा अनौपचारिक तीज कार्यक्रमहरू स्वतःस्फूर्त रूपमा रद्द भए। यसको प्रत्यक्ष र ठूलो असर भने राजधानीलगायत देशभरका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायमा देखिन पुग्यो।

 पार्टी प्यालेसका सुनसान हल र रित्ता भान्सा

तीजको सिजन सुरु हुनुभन्दा १५ दिन अघिदेखि नै काठमाडौँ उपत्यकाका पार्टी प्यालेसहरूमा रातो पहिरनमा सजिएका महिलाहरूको चहलपहल, तीजका भाका र दरको बास्ना फैलिने गर्थ्यो। तर, यस पटक दृश्य ठ्याक्कै उल्टो छ। विशाल हलहरूमा कुर्सीहरू खप्ट्याएर राखिएका छन्, ठूला–ठूला ताउला र डेक्चीहरू भान्साको कुनामा थन्किएका छन् र म्यानेजरहरूको टेबलमा रहेका फोनहरू निरन्तर 'बुकिङ रद्द' भएको खबर लिएर बजिरहेका छन्। शङ्खमूलस्थित अनमोल ब्याङ्क्वेटमा बुकिङ तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएकी सस्मिता थापा यस्तै फोनहरू उठाउँदा–उठाउँदा हैरान छिन्। "हाम्रोमा भएका तीजका कार्यक्रमहरू सबै क्यान्सिल भए हजुर, कसैले पनि कार्यक्रम गर्न खोज्नुभएन," थापा भन्छिन्, "मेरोमा तीजका तीन–चारवटा ठूला इभेन्ट कन्फर्म भएर आएका थिए, तर बाढीपहिरोको घटनापछि उहाँहरू सबैले फोन गरेर कार्यक्रम रद्द गर्नुभयो।" थापाका अनुसार देश यस्तो विपद् र शोकको घडीमा भएका बेला कसैको पनि रमाइलो गर्ने मनस्थिति बनेन। "यो महिनाभरि त हामीहरूको कुनै पनि त्यस्तो रमाइलो हुने इभेन्ट नै भएन। अब देश नै यस्तो अवस्थामा पुगेपछि कसरी रमाइलो गर्नु र? कन्फर्म भइसकेका इभेन्टहरू पनि सबै रद्द भए," उनले पीडा पोखिन्।

यस्तै अवस्था दरबारमार्गमा मुख्य कार्यालय रहेको लर्ड प्यालेस ब्याङ्क्वेटको पनि छ। लर्ड प्यालेसका सञ्जय देवकोटाका अनुसार बाढीपहिरोको प्रभाव सुरु हुनासाथ धमाधम बुकिङहरू रद्द हुन थालेका थिए। "हाम्रो त धेरै नै प्रोग्रामहरू क्यान्सिल भइसकेको छ। करिब १५ वटा जति तीजका कार्यक्रमहरूको बुकिङ रद्द भयो," देवकोटाले बताए। उनका अनुसार पार्टी प्यालेसको आफ्नै ठूलो सञ्चालन खर्च हुने भए पनि यस्तो राष्ट्रिय विपद्को बेला ग्राहकहरूले बुकिङ फिर्ता माग्दा अस्वीकार गर्न सकिने अवस्था रहेन।

उता बालुवाटारस्थित बालुवाटार प्यालेस ब्याङ्क्वेटमा त झन् रद्द हुने कार्यक्रमहरूको संख्या अझ ठूलो छ। त्यहाँको सम्पूर्ण व्यवस्थापन हेर्दै आएका मुक्ति दाहालका अनुसार झण्डै २० वटा कार्यक्रम रद्द भएका छन्। "हाम्रोमा त लगभग २० वटा जति कार्यक्रम क्यान्सिल भयो। तीजको बेलामा यति धेरै कार्यक्रमहरू एकैपटक रद्द भएको इतिहासमै पहिलो पटक होला," दाहालले भने।

कोटेश्वर महादेवस्थान नजिकैको लोटस पार्टी प्यालेसका रमेश श्रेष्ठ पनि ठिक्क कार्यक्रमहरू ‘पिकअप’ हुने र अन्तिम सम्झौता हुने बेलामा बाढीपहिरो आएपछि सबै आयोजकहरू पछि हटेको बताउँछन्। "मान्छेहरू कुरा गर्न आउँदा–आउँदै, मिति तय गर्दा–गर्दै सबै क्यान्सिल भयो। हामीहरूकहाँ मात्र होइन, बजारका सबै पार्टी प्यालेसहरूको अवस्था यही छ," श्रेष्ठको भनाइ छ।

'नहुनु मामाभन्दा .....मामा' पनि गुमेको वर्ष

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूका लागि असार, साउन र भाद्र महिना मूलतः 'अफ–सिजन' (मन्द सिजन) मानिन्छ। लगन र विवाह नहुने यो समयमा तीजका सानातिना जमघटहरू नै पार्टी प्यालेसका लागि राहत बन्ने गर्थे।

यस पटकको वास्तविक क्षति र प्रभावबारे नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेविन्द्ररत्न शाक्यले गम्भीर विश्लेषण प्रस्तुत गरेका छन्। शाक्यका अनुसार यस वर्ष तीजका कार्यक्रमहरू करिब शतप्रतिशत (१००%) नै रद्द भएका छन्। "अहिले भर्खरै हामी केन्द्रीय बैठकमै बसेर फर्किएका हौँ। काठमाडौँ मात्र होइन, चितवन, नवलपुर, नवलपरासी, पोखरालगायत देशभरका जिल्लाहरूमा बुझ्दा सबैतिर तीजका कार्यक्रमहरू क्यान्सिल भएको रिपोर्ट आएको छ," अध्यक्ष शाक्य भन्छन्, "मेरै रिसोर्टमा पनि तीनवटा तीजको बुकिङ थियो, तीनवटै रद्द भयो।"

शाक्यका अनुसार सामान्यतया तीजको कार्यक्रमबाट पार्टी प्यालेसहरूले धेरै ठूलो नाफा कमाउने उद्देश्य राख्दैनथे। "हाम्रो यो अफ–सिजन हो। 'नहुनु मामाभन्दा .... मामा जाती' भनेजस्तै यो बेलामा स्टाफहरूलाई काम दिन पाइयोस्, दैनिक ज्यालादारीमा चल्ने कामदारहरू खाली बस्न नपरोस् र हलमा बत्ती बलोस् भन्ने मात्र हाम्रो उद्देश्य हुन्थ्यो," उनी प्रष्ट पार्छन्, "हाम्रोमा काम गर्ने धेरैजसो स्टाफहरू महिनाबारी हुँदैनन्, कार्यक्रम भएको दिन मात्र ज्याला पाउँछन्। त्यसैले ५०–६० जनाको सानो कार्यक्रम भए पनि हामी गर्थ्यौं, जसले गर्दा मजदुरहरूको चुलो बलिरहोस्।"

तीजका कार्यक्रमहरूमा सामान्यतया प्रतिव्यक्ति ५०० देखि ८०० रुपैयाँसम्मको सामान्य शाकाहारी वा मांसाहारी दरको मेन्यु तयार गरिन्थ्यो। महिला आयोजकहरूले प्रायः १,००० रुपैयाँसम्मको टिकट काटेर यस्ता कार्यक्रम सञ्चालन गर्थे, जसमा पानी, कोल्डड्रिंक्स र हलको व्यवस्थापन जोडिन्थ्यो। "पोहोर साल एउटा पार्टी प्यालेसमा औसतमा ३ देखि ५ वटा, कतै त ८–१० वटासम्म पनि कार्यक्रम हुन्थे। एउटा पार्टी प्यालेसले सिजनभरिमा तीजका कार्यक्रमबाट २ देखि ५ लाख रुपैयाँसम्मको कारोबार गर्थ्यो। तर यसपालि त्यो कारोबार शून्यमा झर्‍यो," अध्यक्ष शाक्यले तथ्याङ्क खुलाए।

 चौतर्फी संकट : महँगी, बाढी र रोकिएका साधारण सभा

पार्टी प्यालेस व्यवसायमा परेको यो संकट केवल तीजका कार्यक्रम रद्द हुनुमा मात्र सीमित छैन। यस वर्ष यो क्षेत्रले बहुपक्षीय मार खेपिरहेको छ।

पहिलो मार— साधारण सभा (AGM) हरूको स्थगन:
असोज महिना भनेको बैंक, वित्तीय संस्था, जलविद्युत कम्पनी, सहकारी र विभिन्न संघ–संस्थाहरूको वार्षिक साधारण सभा (AGM) हुने मुख्य समय हो। उपत्यकाका पार्टी प्यालेसहरूले असोज महिनामा एजीएमबाट राम्रो आम्दानी गर्ने गर्थे। तर बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुनुका साथै सर्वसाधारणमा परेको पारिवारिक तथा आर्थिक क्षतिका कारण ती एजीएमहरू पनि व्यापक रूपमा स्थगित वा रद्द भएका छन्। कतिपय संस्थाहरूले उपत्यकाभित्र औपचारिक सभा गर्न नसकेर टाढा–टाढाका स्थान वा भर्चुअल माध्यम रोजेका छन्।

दोस्रो मार— आकाशिएको बजार भाउ र घट्दो क्रयशक्ति:
अध्यक्ष शाक्यका अनुसार बाढीपहिरोअघि नै बजारमा चरम महँगी र उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासले व्यवसायलाई थला पारिसकेको थियो। "अहिले बजार भाउ अनियन्त्रित रूपमा महँगो भएको छ। चिनी प्रतिकिलो १५० रुपैयाँ पुगेको छ। उपत्यकामा भोजभतेरमा सबैभन्दा बढी खपत हुने राँगाको मासु (बफ) प्रतिकिलो ७५० रुपैयाँ पुगेको छ," शाक्य भन्छन्, "यस्तो अवस्थामा सर्वसाधारणले भोज कसरी गरुन्? पहिले ५०० जनाको पार्टी गर्नेहरूले अहिले बजेट घटाएर २०० देखि ३०० जनामा सीमित गर्न थालेका छन्।" यसबाहेक जेनजी आन्दोलन पछि त्यसै  पनि सामूहिक जमघटहरू पहिलेदेखि नै प्रभावित भइरहेका थिए, जसमा बाढीपहिरोले 'आगोमा घिउ' थप्ने काम गर्‍यो।

 व्यवसायको घाटा भर्सेस मानवीय संवेदना

काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा रहेका सयौँ पार्टी प्यालेसहरूले तीजको यो छोटो सिजनमा गुमाएको कारोबारको हिसाब गर्ने हो भने त्यो करोडौँ रुपैयाँ बराबर हुन आउँछ। एउटा पार्टी प्यालेसको ३ देखि ५ लाख रुपैयाँको औसत कारोबार गुम्दा, उपत्यकाका करिब ४०० भन्दा बढी साना–ठूला पार्टी प्यालेस तथा ब्याङ्क्वेटहरूको समग्र व्यापारमा कम्तीमा १५ देखि २० करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष नोक्सानी भएको व्यवसायीहरूको अनुमान छ।

यसको असर केवल पार्टी प्यालेस सञ्चालकमा मात्र सीमित छैन, तरकारी आपूर्तिकर्ता, मासु व्यवसायी, डेकोरेटर, साउन्ड सिस्टम सञ्चालक, पण्डित, र सबैभन्दा बढी दैनिक ज्यालामा काम गर्ने वेटर तथा सरसफाइ मजदुरहरूको रोजगारीमा परेको छ। तर, यति ठूलो आर्थिक धक्का लाग्दा पनि व्यवसायी र उपभोक्ता दुवै पक्षमा कुनै पश्चाताप वा गुनासो छैन।

शर्मिला कार्की आफ्ना सहकारीका सदस्यहरूसँगै राहत सामग्री प्याक गर्दै भन्छिन्, "नाचगान त अर्को वर्ष पनि गरौँला, जिन्दगी रहे तीज फेरि पनि आउँछ। तर अहिले पहिरोले घरबार गुमाएका हाम्रा दिदीबहिनीलाई हाम्रो दरभन्दा राहतको बढी खाँचो छ।"

व्यवसायीहरू पनि यो यथार्थलाई स्वीकार्छन्। नाफा–घाटाको तराजुमा तीजको यो सिजन पार्टी प्यालेसहरूका लागि पूर्ण रूपमा 'घाटा' मा परिणत भए तापनि, नेपाली समाजले विपद्को घडीमा देखाएको यो मानवीय ऐक्यबद्धता, त्याग र संवेदनशीलताले भने आर्थिक हिसाब–किताबभन्दा धेरै माथिल्लो उचाइ हासिल गरेको छ। रातो साडीको चमक यस पटक फिक्का भयो होला, तर नेपाली मनको उज्यालो भने बाढी र पहिरोको यो अँध्यारोमा झनै चम्किएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।