५ दिनदेखि ग्यास बुलेट आएन, अब सिलिण्डर तराइ झारी भरेर ल्याउनेबारे छलफल, त्यसो गर्दा मूल्य बढ्छ कि बढ्दैन ?

Sep 01, 2026 01:20 PM Merolagani



सुवास निरौला

रसुवामा बाढी आएको ६ दिन बितिसक्दा काठमाडौँ उपत्यकाको एलपी ग्यास आपूर्ति अझै सहज हुन सकेको छैन। बाढीपछि एक दिन मात्रै काठमाडौंका लागि ग्यासको बुलेट आएको थियो।

त्यसपछि धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि पाँच दिनदेखि काठमाडौंका लागि ग्यासको बुलेट आएको छैन। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोल र डिजेल भने वैकल्पिक सडकमार्गबाट नियमित रूपमा काठमाडौँ आइरहेका छन्। तर ग्यास बुलेट भने हाल उपलब्ध वैकल्पिक बाटोबाट काठमाडौँ ल्याउन नसकिने भएकाले उपत्यकाको आपूर्ति प्रभावित भएको हो। यसले अहिले एउटा गम्भीर प्रश्न खडा गरेको छ,पेट्रोल र डिजेलका ट्याङ्कर वैकल्पिक बाटोबाट काठमाडौँ आउन सक्ने तर ग्यास बुलेटचाहिँ किन आउन नसक्ने ? ठाकुरका अनुसार ग्यास बुलेट ल्याउनका लागि धादिङ हुँदै काठमाडौँ आउने मार्ग नै मुख्य निर्भरता हो। कृष्णभीरमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौँ ल्याउन सक्ने वैकल्पिक बाटो तत्काल उपलब्ध छैन।

काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने १८ वटा ग्यास उद्योग काठमाडौँ र धादिङ आसपासमा छन्। भारतबाट ग्यास बोकेर आएका बुलेटहरू नेपालसम्म आइपुगे पनि काठमाडौंसम्म ल्याउन नसक्दा उपत्यकाको आपूर्ति प्रभावित भएको निगमले जनाएको छ। उपत्यका बाहेक तराई तथा अन्य प्रदेशमा भने ग्यासको आपूर्ति भइरहेको छ। काठमाडौंको खपतका लागि आएका बुलेटहरू रोकिएर बसेका अवस्थामा अन्य क्षेत्रमा ग्यास आपूर्ति भइरहेको निगमको भनाइ छ।

दैनिक ३५ हजारभन्दा बढी सिलिन्डर आवश्यक

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक करिब ३५ देखि ३७ हजार सिलिन्डर एलपी ग्यास आवश्यक पर्छ। बाढीपछि एक दिन मात्रै बुलेट आएको र त्यसपछि पाँच दिनदेखि नयाँ बुलेट काठमाडौँ नआएको अवस्थामा आपूर्ति प्रणालीमा दबाब बढेको छ। दैनिक ३५ हजार सिलिन्डरको औसत मागलाई आधार मान्दा पाँच दिनमा करिब १ लाख ७५ हजार सिलिन्डर बराबरको आपूर्ति आवश्यकता पर्छ।

यसले सडक अवरोध केही दिन लम्बिँदा काठमाडौंमा ग्यासको अभाव कति चर्किन सक्छ भन्ने देखाउँछ। नयाँ बुलेट आउन नसक्ने अवस्थामा उद्योग र बजारमा रहेको मौज्दातबाट मात्रै आपूर्ति धान्नुपर्ने हुन्छ। अभावको हल्लासँगै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्न खोजेमा बजारमा वास्तविक आपूर्तिभन्दा पनि छिटो अभावको मनोवैज्ञानिक प्रभाव देखिन सक्छ।

तत्कालका लागि तराईबाट ग्यास ल्याउने विकल्प

ग्यासको आपूर्ति सहज बनाउन निगमले काठमाडौँ र धादिङ आसपासका १८ वटा ग्यास उद्योगसँग वैकल्पिक व्यवस्थाबारे छलफल गरिरहेको छ। त्यसअनुसार काठमाडौंका उद्योगहरूले आफ्ना खाली सिलिन्डर तराईतर्फ लैजाने,त्यहाँ ग्यास भर्ने र पुनः ट्रकमार्फत काठमाडौँ ल्याउने विकल्प अघि सारिएको छ। प्रवक्ता ठाकुरका अनुसार यस विषयमा उद्योगीसँग छलफल भइरहेको छ र आज साँझसम्म निष्कर्ष आउने अपेक्षा गरिएको छ।

तराईबाट सिलिन्डर भरेर पुनः काठमाडौँ ल्याउँदा नियमितभन्दा अतिरिक्त समय र ढुवानी खर्च लाग्ने भएकाले ग्यासको लागत बढ्न सक्ने निगमको भनाइ छ। त्यसकारण हाल कायम मूल्यभन्दा केही माथि मूल्य पर्न सक्ने सम्भावना पनि देखिएको छ।

पेट्रोल–डिजेललाई वैकल्पिक बाटो, ग्यासलाई किन छैन ?

अहिलेको घटनाले तत्कालीन आपूर्ति व्यवस्थाभन्दा ठूलो प्रश्न पनि उठाएको छ। पेट्रोल र डिजेलका ट्याङ्करहरू वैकल्पिक सडकमार्गबाट काठमाडौँ ल्याउन सकिने तर ग्यास बुलेटका लागि त्यही मार्ग प्रयोग गर्न नसकिने अवस्था किन आयो ? ग्यास बुलेटको आकार, तौल, सडकको चौडाइ, मोड तथा पुलको क्षमता जस्ता प्राविधिक पक्षले वैकल्पिक मार्ग प्रयोगमा समस्या पार्न सक्छन्। तर यस्ता सम्भावित अवरोधका लागि पहिल्यै वैकल्पिक मार्ग पहिचान र पूर्वतयारी गरिएको थियो कि थिएन ? भन्ने प्रश्न पनि उठेको छ। प्राकृतिक विपत्तिका कारण मुख्य राजमार्ग अवरुद्ध हुनु नेपालका लागि नयाँ घटना होइन। त्यसैले अत्यावश्यक वस्तुको आपूर्तिमा एउटै सडकमार्गमा निर्भरता घटाउने विषय अब गम्भीर रूपमा उठाउनुपर्ने देखिन्छ।

काठमाडौंलाई कति दिनको ग्यास स्टक चाहिन्छ ?

काठमाडौँ उपत्यकाको दैनिक माग ३५–३७ हजार सिलिन्डर रहेको अवस्थामा अर्को महत्वपूर्ण प्रश्न हो,उपत्यकामा कति दिनको बफर स्टक छ ? उद्योग, डिपो र बजारमा रहेको मौज्दात जोड्दा काठमाडौंले नयाँ ग्यासको बुलेट नआए पनि कति दिनसम्म आपूर्ति धान्न सक्छ भन्ने तथ्य सार्वजनिक हुन आवश्यक छ। यदि एउटा प्रमुख सडक अवरुद्ध हुँदा केही दिनमै बजारमा ग्यास अभावको अवस्था सिर्जना हुन्छ भने दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ।

अब ‘डीप स्टोरेज’को आवश्यकता

काठमाडौँ उपत्यकाको दैनिक ग्यास आवश्यकता ठूलो छ। तर आपूर्ति प्रणाली भने सडकमार्गमा अत्यधिक निर्भर छ। यस्तो अवस्थामा प्राकृतिक विपत्तिको जोखिमलाई ध्यानमा राखेर काठमाडौंका लागि आपत्कालीन ‘डीप स्टोरेज’ अर्थात् पर्याप्त बफर स्टकको व्यवस्था गर्नुपर्ने देखिन्छ।

कम्तीमा ७, १० वा १५ दिनको माग धान्न सक्ने गरी रणनीतिक मौज्दात राख्ने व्यवस्था गर्न सके मुख्य सडक अवरुद्ध हुँदा तत्काल उपभोक्ताको भान्सामा असर नपर्न सक्छ। त्यसका साथै ग्यास बुलेटका लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने, ती मार्गको भारवहन क्षमता परीक्षण गर्ने, आवश्यक पूर्वाधार सुधार गर्ने र विपद्का बेला प्रयोग गर्न सकिने आपत्कालीन ढुवानी योजना तयार गर्नुपर्ने देखिन्छ।

अहिले कृष्णभीरको सडक अवरोधले काठमाडौंको ग्यास आपूर्ति प्रणालीको एउटा कमजोरी देखाएको छ। यो समस्या केवल पाँच दिनदेखि ग्यास नआएको विषयमा सीमित छैन; भोलि फेरि अर्को सडक बन्द हुँदा काठमाडौंको भान्सा कति दिन सुरक्षित रहन्छ भन्ने विषय हो।

तत्कालका लागि तराईबाट सिलिन्डर भरेर काठमाडौँ ल्याउने विकल्पमा छलफल भइरहेको छ। तर दीर्घकालीन रूपमा भने ‘ग्यास आयो कि आएन’ भन्दा पनि ‘काठमाडौंसँग कति दिनको सुरक्षित मौज्दात छ?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ।