मेटाले सार्वजनिक गर्‍यो व्यक्तिगत एआई एजेन्ट ‘म्युज’, दैनिक कामकाजदेखि योजना बनाउनसम्म सघाउने

Sep 09, 2026 11:53 AM Merolagani



सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले १८ वर्ष र सोभन्दा माथिका प्रयोगकर्ताहरूका लागि ‘म्युज’ (Muse) नामक नयाँ व्यक्तिगत कृत्रिम बौद्धिकता (एआई) एजेन्ट सार्वजनिक गरेको छ। 

यस एआई एजेन्टले प्रयोगकर्ताको दैनिक तालिका निर्माण गर्ने, इमेल पठाउने, किनमेल गर्ने तथा यात्रा टिकट बुकिङ गर्नेजस्ता कामहरू स्वचालित रूपमा सम्पन्न गर्न सघाउनेछ।

हाल अमेरिकामा मात्र उपलब्ध यो सुविधा प्रयोगकर्ताहरूले छुट्टै एप वा ह्वाट्सएपमार्फत प्रयोग गर्न सक्नेछन्। मेटाका अनुसार म्युजले दैनिक कामकाजका अतिरिक्त नयाँ व्यवसाय सुरु गर्ने वा वर्षभरिको व्यायाम योजना बनाउनेजस्ता दीर्घकालीन लक्ष्यहरूलाई कार्ययोजनामा ढाल्न समेत मद्दत पुर्‍याउँछ।

च्याटबटभन्दा कसरी फरक छ एआई एजेन्ट?
सामान्यतया एआई च्याटबटले प्रयोगकर्ताले सोधेका प्रश्नको जवाफ मात्र दिन्छ। उदाहरणका लागि, कुनै गन्तव्यको सबैभन्दा सस्तो उडानबारे सोध्दा च्याटबटले विकल्प र मूल्य मात्र देखाउँछ, बाँकी बुकिङ प्रयोगकर्ता आफैँले गर्नुपर्छ।

तर, ‘एआई एजेन्ट’ले जानकारी दिनुका साथै प्रयोगकर्ताको तर्फबाट डिजिटल कार्यहरू नै गरिदिन्छ। अर्थात्, म्युजले उडान विकल्प खोज्ने, वेबसाइट खोल्ने, फारम भर्ने र प्रयोगकर्ताको सहमति लिएर टिकट बुकिङ गरिदिनेसम्मका काम आफैँ अघि बढाउन सक्छ।

सुरक्षा र गोपनीयताको कडा प्रबन्ध
मेटाले म्युजको सुरक्षा र गोपनीयता प्रणालीलाई उच्च प्राथमिकता दिएको जनाएको छ। प्रयोगकर्ताको डेटा सुरक्षित राख्न यसलाई क्लाउडमा आधारित ‘सेक्योर भर्चुअल मेसिन’ (Secure VM) मा सञ्चालन गरिएको छ।

म्युजले 'सेन्टिनेल' (Sentinel) नामक अर्को सुरक्षा एजेन्टसँग मिलेर काम गर्छ। सेन्टिनेलको अनुमतिविना म्युजले इन्टरनेटमा कुनै पनि कार्य गर्न सक्दैन। इमेल पठाउने वा अनलाइन खरिद गर्नेजस्ता संवेदनशील कामका लागि यसले प्रयोगकर्ताको प्रत्यक्ष अनुमति लिने गर्छ।

यसैगरी, प्रयोगकर्ताका पासवर्ड तथा बैंकिङ कार्डका विवरणहरू इन्क्रिप्टेड भण्डारणमा रहने भएकाले म्युजले ती संवेदनशील विवरण नदेखिकनै आवश्यक कार्य गर्न सक्छ। प्रयोगकर्ताले म्युजले गरेका हरेक गतिविधिको ‘अडिट ट्रेल’ (विवरण) समेत हेर्न सक्ने व्यवस्था छ।

जुकरबर्गको दीर्घकालीन एआई भिजन
मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको 'एआई सुपरइन्टेलिजेन्स'लाई सर्वसुलभ बनाउने योजनाअन्तर्गत म्युज सार्वजनिक गरिएको हो। हालै प्रकाशित करिब ६,५०० शब्द लामो निबन्धमा जुकरबर्गले भविष्यमा प्रत्येक मानिससँग चौबिसै घण्टा उपलब्ध हुने व्यक्तिगत एआई सहायक रहने परिकल्पना गरेका थिए।

उनका अनुसार यस्ता एआई एजेन्टले स्वास्थ्य, करियर, घरायसी काम र व्यवसायमा मद्दत गरी मानिसहरूको महत्त्वपूर्ण समय बचत गरिदिनेछन्। यद्यपि, केही प्रविधि विश्लेषकहरूले जुकरबर्गको यो परिकल्पनालाई निकै काल्पनिक र तत्कालका लागि अति-महत्वाकांक्षी भन्दै टिप्पणी गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।