नेप्सेसँगै बढ्यो कारोबार रकम

Sep 14, 2026 03:10 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २५.५५ अंक बढेर २५८५.०४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँबराबरको १ करोड १५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।