अहिले शेयर बजारमा चर्चामा रहेको 'बाइब्याक' के हो? अन्तर्राष्ट्रिय अभ्यासदेखि नेपालको बजारमा आवश्यक व्यवस्थासम्म

Sep 26, 2026 11:31 AM Merolagani



पछिल्लो समय शेयर 'बाइब्याक'को विषयले शेयर बजारमा चर्चा पाएको छ। सरकारले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना,२०८३ मार्फत 'बाइब्याक' सम्बन्धमा नीति नियम लगायतका पूर्वाधार तयार गर्ने उल्लेख गरेपछि यसको चर्चा बढेकाे हो ।

कार्ययोजनामा लाभांशको रुपमा वितरण हुन सक्ने सञ्चित मुनाफाको रकमबाट कम्पनीले आफ्नो शेयर आफै खरिद गर्न सक्ने व्यवस्थालाई व्यवहारिक तथा कार्यान्वयन गर्न सरोकारवालाहरुसँग परामर्श गरी बोर्डले २०८३ माघ मसान्तभित्र नियामकीय एंव नीति नियम लगायतका पूर्वाधार तयार गर्ने उल्लेख गरेको छ।

वास्तवमा 'बाइब्याक' के हो ?

शेयर बजारमा सूचीकृत कम्पनीले आँफै जारी गरेकाे शेयर बजारबाट पुन: खरिद गर्ने प्रक्रियालाई 'बाइब्याक' भनिन्छ। सामान्य अवस्थामा कम्पनीले सर्वसाधारणबाट पूँजी जुटाउन शेयर जारी गरेका हुन्छन्। तर 'बाइब्याक' प्रक्रियामा भने कम्पनीले अतिरिक्त नगद वा उपलब्ध स्रोत प्रयोग गरेर बजारमा रहेको आफ्नै शेयर पुनः खरिद गर्छ।

खरिद गरिएका शेयर कानुन अनुसार रद्द गरिएमा बजारमा रहेको कुल शेयर संख्या घट्छ। यसले कम्पनीको पुँजी संरचना परिवर्तन हुन सक्छ। कम्पनीको संख्या घट्दा प्रतिकित्ता आम्दानी बढ्न सक्ने देखिन्छ। यो व्यवस्थालाई बजारमा शेयर सप्लाई घटाउने अस्त्रको रुपमा मात्रै लिन हुँदैन। यस व्यवस्थालाई कम्पनीको पूँजी व्यवस्थापन गर्ने महत्त्वपूर्ण औजारका रूपमा पनि लिन सकिन्छ।

पछिल्लो समय नेपाली सेयर बजारमा 'बाइब्याक' को आवश्यकता बढी महसुस गर्न थालिएको छ। कम्पनीहरूले पूँजी विस्तारका लागि बोनस, हकप्रद तथा अन्य माध्यमबाट सेयरको संख्या लगातार बढाउँदै लगेका छन्, जसका कारण बजारमा सेयरको आपूर्ति (सप्लाई) अत्यधिक बढेको गुनासो लगानीकर्ताहरूबाट आउने गरेको छ।

बजारमा बढेको यस आपूर्तिलाई व्यवस्थापन गर्न लगानीकर्ताहरूले निरन्तर माग राख्दै आएका छन्। तर बजारको माग, संस्थागत लगानी र लगानीका नयाँ उपकरणहरू सोही गतिमा विस्तार हुन सकेका छैनन्। यस्तो अवस्थामा कम्पनीसँग रहेको अतिरिक्त पूँजीको सही व्यवस्थापन गर्न र बजारमा सेयरको आपूर्ति घटाउनका लागि 'बाइब्याक'को व्यवस्था एक अचूक उपाय बन्न सक्छ।

विशेष गरी बलियो वित्तीय अवस्था भएका, दोस्रो बजारमा उचित मूल्य पाउन नसकेका र तत्काल ठूलो लगानीको आवश्यकता नभएका कम्पनीहरूका लागि 'बाइब्याक' एउटा अत्यन्त उपयोगी विकल्प हुन सक्छ।

अन्तर्राष्ट्रिय बजारमा 'बाइब्याक'को अभ्यास

नेपाली बजारमा 'बाइब्याक' को व्यवस्था नयाँ हो। तर अन्य देशहरुले 'बाइब्याक'को अभ्यास गर्दै आएका छन्। यो व्यवस्था विश्वका विकसित पूँजी बजारमा नयाँ अवधारणा भने होइन। अमेरिका, बेलायत, भारत लगायतका बजारमा कम्पनीहरूले लामो समयदेखि 'बाइब्याक'को अभ्यास हुँदै आएकोछ। अमेरिकामा खुला बजार मार्फत 'बाइब्याक'गर्ने अभ्यास रहेको छ। कम्पनीले निश्चित अवधिमा निश्चित रकम वा निश्चित संख्यामा शेयर खरिद गर्ने घोषणा गर्छ र बजार मार्फत क्रमशः शेयर खरिद गर्छ। अर्को महत्त्वपूर्ण विधि टेन्डर अफर हो। यसमा कम्पनीले निश्चित मूल्य वा मूल्यको दायरामा शेयरधनीबाट शेयर खरिद गर्ने प्रस्ताव राखिएको हुन्छ।

अन्तर्राष्ट्रिय अभ्यासले 'बाइब्याक'लाई कम्पनीको अतिरिक्त नगद व्यवस्थापन गर्ने माध्यमका रूपमा स्थापित गरेको छ। कम्पनीले नयाँ परियोजनामा तत्काल लगानी गर्ने अवसर नदेखेमा सो पैसा शेयरधनीलाई फिर्ता गर्न सक्छ। लाभांश वितरणसँगै 'बाइब्याक' पनि उचित माध्यम हो। तर यस्तो प्रकृतिको कारोबारमा नियामकले निगरानीमा मात्रै गरिएको हुन्छ। विकसित बजारमा'बाइब्याक'सँगै सूचना खुलासा, मूल्य हेरफेर नियन्त्रण र सञ्चालक तथा सम्बन्धित व्यक्तिको कारोबारमाथि समेत निगरानी गरिएको हुन्छ।

एप्पलको उदाहरणले के देखाउँछ?

विश्व प्रख्यात कम्पनी एप्पलले वर्षौदेखि आफ्नो शेयर बजारबाट 'बाइब्याक'गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०२५ मा मात्रै करिब ९०.७ अर्ब अमेरिकी डलर रुपैयाँ बराबरको आफ्नै साधारण शेयर खरिद गरेको थियो। एप्पलजस्तो ठूलो र उच्च नाफा कमाउने कम्पनीले समेत 'बाइब्याक मार्फत पूँजी व्यवस्थापनको नियमित औजार बनाएको पाइन्छ। यसको अर्थ कम्पनीले 'बाइब्याक गरेपछि नाफा बढ्ने भन्ने हुदैन। तर कम्पनीको नाफा समान रहँदा शेयर संख्या घटेमा नाफा कम शेयरमा बाडिन्छ। त्यसैले प्रतिकित्ता आम्दानी बढ्न सक्छ।

'बाइब्याक पछि कम्पनी र शेयरधनीमा कस्तो प्रभाव पर्छ?

कुनै कम्पनीले सेयर 'बाइब्याक' गर्दा त्यसले पूँजीको संरचनामा सीधा प्रभाव पार्छ। उदाहरणका लागि, कुनै कम्पनीको बजारमा एक करोड कित्ता सेयर छ र कम्पनीले २० लाख कित्ता सेयर खरिद गरेर रद्द  गर्‍यो भने बजारमा बाँकी सेयरको संख्या ८० लाख कित्तामा झर्छ।

यस्तो अवस्थामा कम्पनीको वार्षिक नाफा पहिलेकै १० करोड रुपैयाँ कायम रह्यो भने, पहिले एक करोड कित्ता सेयरमा बाँडिने नाफा अब ८० लाख कित्तामा मात्र बाँडिन्छ। फलस्वरूप, कम्पनीको प्रतिसेयर आम्दानीमा बढोत्तरी हुन्छ।

सोही कारण बाइब्याकपछि कायम रहने सेयरधनीहरूको स्वामित्वको प्रतिशत पनि बढ्छ। कम्पनीको वित्तीय अवस्था बलियो र व्यवस्थापन प्रभावकारी छ भने यसले सेयर मूल्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।

तथापि, बायब्याकले मात्रै कम्पनीको सेयर मूल्य बढाउँछ भन्न भने सकिँदैन। यसमा कम्पनीको नाफा, व्यावसायिक विस्तार, ब्याजदर, समग्र अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानले पनि ठूलो भूमिका खेलेको हुन्छ।

बाइब्याकले बजारमा माग र आपूर्तिको सन्तुलन कसरी बदल्छ?

शेयर बजारमा मूल्य निर्धारणको आधार नै माग र आपूर्ति हो। बजारमा शेयरको आपूर्ति बढ्दै जाने तर माग सोही अनुपातमा बढेन भने कम्पनीको मूल्यमा दबाव पर्छ । कम्पनी आफै बजारमा खरिदकर्ता बनेपछि केही अवधिका लागि माग बढ्न सक्ने छ। खरिद गरिएका शेयर रद्द गरिएमा आपूर्ति पनि घट्छ। यसरी बजारमा माग र आपूर्तिको सन्तुलनमा प्रभाव पार्नेछ। तर बाइब्याकलाई नै मूल्य बढाउने ग्यारेन्टीका रूपमा भने लिनु हुदैन। कम्पनीले ठूलो रकम खर्च गरेर शेयर फिर्ता लिएतापनि व्यवस्थापन र व्यवसाय विस्तार गर्न सकेन भने दीर्घकालीन मूल्यमा प्रभाव पर्न सक्छ। त्यसैले बाइब्याकलाई कम्पनीको आधारभूत वित्तीय अवस्था र खरिद गरिएको मूल्यसँग जोडेर हेर्नुपर्छ।

कम्पनीले महँगोमा आफ्नै शेयर किने के हुन्छ?

बाइब्याकका फाइदासँगै जोखिम पनि छन्। कम्पनीले वास्तविक मूल्यभन्दा धेरै महँगो मूल्यमा शेयर खरिद ग-यो भने कम्पनीको पूँजी अनावश्यक रूपमा खर्च हुन सक्छ। उदाहरणका लागि कुनै कम्पनीको उचित मूल्य ५०० रुपैयाँ आसपास छ तर कम्पनीले बजार मूल्य ८०० रुपैयाँ पुगेका बेला ठूलो मात्रामा शयर खरिद ग-यो भने त्यसले कम्पनीमा रहेका बाँकी शेयरधनीलाई अपेक्षित लाभ नदिन सक्नेछ। दोस्रो पक्ष कम्पनी आँफै बजारमा खरिदकर्ता बन्दा शेयरको माग र मूल्यमा प्रभाव पर्न सक्ने देखिन्छ। त्यसैले बाइब्याकको नाममा कृत्रिम माग सिर्जना नहोस् भन्ने विषयमा नियामक सचेत हुनुपर्ने देखिन्छ। साथै, कम्पनीले बाइब्याक घोषणा गर्ने र समयमा सञ्चालक वा सम्बन्धित व्यक्तिले आफ्नो व्यक्तिगत शेयर बिक्री गर्ने सम्बन्धमा भने नियामक सचेत हुनुपर्ने देखिन्छ।

नेपालमा कानुनी आधार पहिले नै छ

नेपालमा बाइब्याकको सम्बन्धमा पहिले नै कानूनी व्यवस्था गरिएको छ। कम्पनी ऐन, २०६३ को दफा ६१ ले निश्चित सर्तमा कम्पनीलाई आफ्नै शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ। सार्वजनिक कम्पनीको शेयर सूचीकृत भएको हुनुपर्ने, शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने र सम्बन्धित कम्पनीले तोकिएका कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। खरिद गरिएका शेयर रद्द गर्नुपर्ने व्यवस्था समेत कानुनमा छ। बाइब्याक कुन प्रक्रियाबाट गर्ने, मूल्य कसरी निर्धारण गर्ने, कति कित्तासम्म खरिद गर्न पाउने, सूचना कसरी सार्वजनिक गर्ने र बजार हेरफेर कसरी रोक्ने भन्ने विषयमा भने स्पष्ट र व्यावहारिक नीतिगत व्यवस्था गरिनुपर्ने हुन्छ।

त्यसैगरी, कम्पनीले बाइब्याक गर्नु अघि कति रकम खर्च गर्ने, कति कित्ता खरिद गर्ने, कुन अवधिसम्म खरिद गर्ने र अधिकतम मूल्य कति हुने लगायतका सम्बन्धमा लगानीकर्तालाई जानकारी गर्नु उचित हुने देखिन्छ। बाईब्याक मार्फत कित्ता खरिद भयो, औसत मूल्य कति रह्यो र स्वीकृत रकममध्ये कति खर्च भयो भन्ने विवरण पनि नियमित रूपमा सार्वजनिक गर्नुपर्छ। यस्तो व्यवस्था भएमा लगानीकर्ताले कम्पनीको बाईब्याक प्रकृया वास्तविक वा मूल्य प्रभावित पार्ने प्रयास हो भन्नेमा मूल्यांकन गर्न सक्छन्।

कारोबारमा विशेष निगरानी आवश्यक

बाइब्याक घोषणा गर्ने कम्पनीका सञ्चालक, उच्च व्यवस्थापन र सम्बन्धित ठूला शेयरधनीको कारोबारमा विशेष निगरानी गरिनु पर्ने हुन्छ। कम्पनीले बजारबाट बाइब्याक गरिरहेको समयमा कम्पनीसँग सम्बन्धित व्यक्तिले गोप्य सूचनाका आधारमा शेयर किनबेच गर्न सक्छन्। यसका लागि कारोबारसम्बन्धी पूर्वसूचना, प्रतिबन्धित अवधि, सम्बन्धित व्यक्तिको कारोबार खुलासा र नियामकीय निगरानी जरुरी छ।

त्यसैगरी, यदि कुनै पब्लिक कम्पनीले बाइब्याक गर्दैछ भने यसको रकमको स्रोत उल्लेख गरिनु पर्ने हुन्छ। कम्पनीले आफ्नो अतिरिक्त नगदबाट बाइब्याक गर्नु राम्रो मानिन्छ। तर अत्याधिक ऋण लिएर वा व्यवसाय विस्तारका लागि आवश्यक रकम निकालेर बाइब्याक गर्न दिनु हुदैन। बाइब्याकपछि कम्पनीको तरलता, ऋण तिर्ने क्षमता, व्यवसाय विस्तार र वित्तीय स्थायित्वमा सुनिश्चिता गरिनु पर्ने हुन्छ। त्यसैले कुनै पनि कम्पनीको बाइब्याक स्वीकृत गर्नुअघि वित्तीय अवस्था परीक्षण गरिनु पर्ने हुन्छ।

नेपालको बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर बाइब्याक गर्नको लागि उपयुक्त हुने तर्क गरिन्छ। यसमा नेपाल राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई मध्यनजर गरेर मात्रै बैंक तथा वित्तीय संस्थाको शेयरलाई बाइब्याक गरिने व्यवस्था गरिनु पर्ने हुन्छ । जस्तो बैंकको पुँजी पर्याप्तता, निक्षेपकर्ताको हित र समग्र वित्तीय स्थायित्व लगायतका बिषयमा सुक्ष्म रुरपमा बुझ्न जरुरी छ। विशेषगरी कमजोर पुँजी अवस्था भएको बैंकले शेयर मूल्य व्यवस्थापन गर्नकै लागि बाइब्याक गर्न स्वीकृत गरिनु हुदैन। बाइब्याकभन्दा पहिले बैंकको वित्तीय स्थायित्वलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ।

नेपाली बजारमा सूचिकृत भएका कम्पनीहरुले वितरण गर्ने बोनश र हकप्रद शेयरले कम्पनीहरुको शेयर सप्लाई बढेको छ। बजारमा शेयर सप्लाई बढी भएकै कारण राम्रा वित्तीय अवस्था भएका कम्पनीहरुले मूल्य पाउन सकेका छैनन। अर्कोतर्फ कम्पनीको शेयर सप्लाई सन्तुलन गर्नेगरी संस्थागत लगानीकर्ता, अन्य वित्तीय उपकरण, दीर्घकालीन लगानी अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। यस्तो बेला बाइब्याकले कम्पनीलाई पूँजी व्यवस्थापन गर्ने विकल्प दिन सक्छ।