विश्वव्यापीरुपमा एआईले सिर्जना गर्दैछ लगानीको नयाँ लहर, प्रविधिदेखि बिजुली र रोबोटसम्म

Sep 25, 2026 11:27 AM Merolagani



केही वर्षअघिसम्म कृत्रिम बुद्धिमत्ता (एआई) एउटा प्रविधिगत सम्भावना थियो । अहिले भने यही प्रविधिले विश्वको लगानीको दिशा बदल्न थालेको छ ।

लगानीकर्ताले एआई बनाउने कम्पनीमा मात्र होइन, एआई चलाउन आवश्यक पर्ने चिप, तथ्यांक केन्द्र, विद्युत्, सञ्जाल, ऊर्जा भण्डारण र भौतिक पूर्वाधारमा समेत अर्बौं डलर खन्याउन थालेका छन् ।

यसको आकार कति ठूलो हुँदैछ भन्ने बुझ्न एउटा तथ्य पर्याप्त छ । इवाईडटकममा प्रकाशित पछिल्लो अनसन्धानमूलक रिपोर्ट अनुसार  सन् २०२६ को पहिलो छ महिनामै विश्वमा एआईसम्बन्धी उद्यम पुँजी लगानी करिब  ४३० अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् २०२५ को पूरै वर्षमा भएको २५४ अर्ब डलरभन्दा धेरै हो । एआईको आधारभूत पूर्वाधार—तथ्यांक केन्द्र, अत्याधुनिक चिप, सञ्जाल र बादल प्रविधिमा सन् २०२५ देखि २०२८ सम्म करिब २.९ ट्रिलियन डलर लगानी हुन सक्ने अनुमानसमेत गरिएको छ। अर्थात् एआई अब एउटा उद्योग मात्र रहेन । यसले अरू उद्योगमा लगानी तान्ने पूर्वाधारको उद्योगसमेत जन्माइरहेको छ।

एआईमा पैसा हाल्ने तरिका नै बदलियो

एआईमा लगानीको पहिलो चरणमा लगानीकर्ताको ध्यान नयाँ सफ्टवेयर र नयाँ उद्यमतिर थियो । अहिले त्यसको दायरा निकै फराकिलो भएको छ। एआईका लागि शक्तिशाली गणनायन्त्र चाहिन्छ । त्यसका लागि अत्याधुनिक चिप चाहिन्छ। चिप चलाउन ठूलो मात्रामा विद्युत् चाहिन्छ । विद्युत् उपलब्ध गराउन नयाँ ऊर्जा आयोजना चाहिन्छ । ती सबैलाई जोड्न सञ्जाल र तथ्यांक केन्द्र चाहिन्छ।

यसरी एउटा एआई कम्पनीमा लगानी हुँदा त्यसको वरिपरि चिप उद्योगदेखि विद्युत् उद्योगसम्म पूरै नयाँ लगानी शृंखला तयार भइरहेको छ। यही कारणले अहिले लगानीकर्ताले एआईको ‘दिमाग’ मात्र होइन, त्यसलाई चलाउने ‘शरीर’ मा पनि पैसा हालिरहेका छन्।

यसको पछिल्लो उदाहरणमध्ये एउटा अमेरिकी उद्यम पुँजी कम्पनी बेसेमर भेन्चर पार्टनर्स हो । कम्पनीले सेप्टेम्बर २०२६ मा दुईवटा नयाँ कोषमार्फत ५.७५ अर्ब डलर उठाएको घोषणा गरेको छ।

त्यसमध्ये १.७५ अर्ब डलर प्रारम्भिक चरणका नयाँ उद्यममा र बाँकी ४ अर्ब डलर विस्तारको चरणमा पुगेका कम्पनीमा लगानी गर्ने योजना छ। कम्पनीले सन् २०२२ यता २६० भन्दा बढी एआईमा आधारित कम्पनीमा लगानी गरिसकेको जनाएको छ।

यसबाट देखिन्छ—एआईमा पैसा हाल्ने काम केही ठूला प्रविधि कम्पनीको मात्र गतिविधि रहेन। उद्यम पुँजी बजार पनि एआईलाई आफ्नो प्रमुख लगानी क्षेत्र बनाउँदैछ।

अब ‘भौतिक एआई’मा पनि अर्बौं

एआईको अर्को नयाँ चरण अझ रोचक छ । पहिलो चरणमा एआई मुख्यतः कम्प्युटरभित्र थियो—लेख्ने, बोल्ने, चित्र बनाउने, तथ्यांक विश्लेषण गर्ने।

अब लगानीकर्ताको ध्यान भौतिक एआई अर्थात् रोबोट, स्वचालित मेसिन, औद्योगिक उपकरण, स्वचालित सवारी तथा अन्य भौतिक प्रणालीतर्फ बढ्दैछ। क्रन्चबेसका अनुसार सन् २०२६ मा भौतिक एआई कम्पनीतर्फ उद्यम पुँजीको प्रवाह तीव्र भएको छ। सफ्टवेयर र सामाजिक सञ्जालमा प्रारम्भिक लगानी गरेका केही लगानीकर्तासमेत रोबोट तथा एआईसँग सम्बन्धित भौतिक प्रविधि र सामग्री बनाउने कम्पनीतर्फ पैसा सारिरहेका छन्। यसको अर्थ एआईको अर्को लगानी लहर कम्प्युटरको पर्दाबाट बाहिर निस्केर कारखाना, गोदाम, खेत, अस्पताल र सडकसम्म पुग्न खोज्दैछ।

तथ्यांक केन्द्र अब नयाँ औद्योगिक सम्पत्ति

एआईको विस्तारले एउटा अर्को असाधारण परिवर्तन ल्याएको छ—तथ्यांक केन्द्र अब सामान्य सूचना प्रविधि पूर्वाधार मात्र रहेनन्। एआईका ठूला नमुना चलाउन ठूलो मात्रामा गणनाशक्ति र विद्युत् चाहिन्छ। त्यसैले तथ्यांक केन्द्र निर्माण आफैं ठूलो लगानी क्षेत्र बनेको छ।

उदाहरणका लागि गुगलले फिनल्यान्डमा आगामी दुई वर्षमा कम्तीमा १३ अर्ब युरो अर्थात् करिब १५ अर्ब डलर एआई पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको छ। यसमा तथ्यांक केन्द्रसँगै आणविक विद्युत् आपूर्तिसम्बन्धी सम्झौता पनि जोडिएको छ।

अष्ट्रेलियाको तथ्यांक केन्द्र सञ्चालक नेक्स्टडीसीले पनि एआई पूर्वाधार विस्तारका लागि करिब ७९६ मिलियन डलर बराबरको रकम उठाउने योजना सार्वजनिक गरेको छ।

अर्थात् अब एआईमा लगानीको प्रश्न यस्तो बनेको छ—कुन एआई कम्पनी ठूलो हुन्छ ?  मात्र होइन, ‘कसले त्यसलाई चलाउन आवश्यक विद्युत् र तथ्यांक केन्द्र उपलब्ध गराउँछ ? यही कारणले एआईको विस्तारले ऊर्जा बजारलाई समेत प्रभावित गर्न थालेको छ।

एआई तथ्यांक केन्द्रलाई निरन्तर विद्युत् चाहिन्छ। त्यसैले प्रविधि कम्पनीहरू अहिले विद्युत् उत्पादन, दीर्घकालीन विद्युत् खरिद सम्झौता, आणविक ऊर्जा, प्राकृतिक ग्यास, ऊर्जा भण्डारण र विद्युत् प्रसारण पूर्वाधारमा समेत चासो देखाइरहेका छन्।

युरोपमा एआई विस्तारको एउटा प्रमुख चुनौती नै विद्युत् पूर्वाधार बनेको विश्लेषण सार्वजनिक भएको छ। यसले एउटा रोचक आर्थिक परिवर्तन देखाउँछ।

एआई कम्पनीमा आएको लगानीको एउटा हिस्सा अन्ततः विद्युत् कम्पनी, निर्माण कम्पनी, चिप निर्माता र पूर्वाधार कम्पनीको आम्दानी बन्न पुग्छ। त्यसैले एआईको लगानी लहरको वास्तविक आकार स्टार्टअपमा उठेको रकम मात्र हेरेर बुझ्न सकिँदैन।

ऋण बजारमा पनि एआईको प्रभाव

एआईमा पैसा हाल्ने काम शेयर र उद्यम पुँजीमा मात्र सीमित छैन। ऋण बजार पनि यसमा जोडिएको छ।

रोयटर्सका अनुसार पछिल्लो समय एआईसँग सम्बन्धित कम्पनीहरूले ऋण बजारमा ठूलो रकम उठाइरहेका छन्। तर ऋण लगानीकर्ताको व्यवहार भने सबै एआई कम्पनीप्रति समान छैन। एआईसँग जोडिएका केही कम्पनीका ऋणमा लगानीकर्ता बढी सावधान देखिएका छन्, जबकि परम्परागत क्षेत्रका उच्च गुणस्तरका कम्पनीको ऋणमा माग बलियो देखिएको छ।

एआईको लगानीमा जोखिम पनि छ

लगानीको यस्तो तीव्र विस्तारले स्वाभाविक रूपमा अर्को प्रश्न जन्माउँछ—के एआईसँग सम्बन्धित सबै लगानी आर्थिक रूपमा सफल हुन्छन् ? यसको उत्तर अहिले नै निश्चित छैन।

एआईले सिर्जना गरेको नयाँ लगानी लहरको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो—पैसा एउटा कम्पनीबाट अर्को कम्पनीतर्फ मात्र गइरहेको छैन, एउटा उद्योगबाट अर्को उद्योगमा सर्दैछ।

एआईबाट चिप उद्योगले लाभ पाउँछ। चिपबाट तथ्यांक केन्द्र बढ्छ। तथ्यांक केन्द्रबाट विद्युतकाे माग बढ्छ। विद्युतकाे मागबाट ऊर्जा पूर्वाधारमा लगानी बढ्छ। रोबोटिक्सबाट उद्योग र कृषि प्रविधिमा नयाँ अवसर खुल्छ।

र यी सबैका बीचमा नयाँ उद्यम जन्मिन्छन् । त्यसैले एआईको वास्तविक आर्थिक प्रभाव सम्भवतः एउटा एआई कम्पनीको मूल्याङ्कनभन्दा धेरै ठूलो हुनेछ।

विश्वको नयाँ लगानी प्रश्न अब ‘एआईमा लगानी गर्ने कि नगर्ने ?  भन्दा पनि एआईले सिर्जना गरेको नयाँ आर्थिक शृंखलाको कुन तहमा लगानी गर्ने ? भन्ने दिशातर्फ जाँदैछ।