शुक्रवारको घटनामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी मात्र निर्वाह गरेनन्, बरु एक परिवारको जीवन रक्षाका लागि निर्णायक भूमिका खेलेका छन् । राजमार्गको दोस्रो लेनमा गाडी बिग्रिएर रोकिएपछि उक्त परिवार जोखिमपूर्ण अवस्थामा थियो । ट्राफिक प्रहरीको निगरानीका क्रममा उक्त गाडी देखेपछि उनले तुरुन्तै चालकलाई फोन गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए । चालकले गाडीभित्र रहेको बच्चाको ज्याकेट लिन फर्किने जिद्दी गर्दा प्रहरीले निकै कडा शब्दमा चेतावनी दिएका थिए । उनले चालकलाई भनेका थिए, ‘ज्याकेटका लागि ज्यान जोखिममा नपार्नुहोस्, अहिलेको अवस्थामा के ज्याकेटको मूल्य तपाईंको ज्यानभन्दा ठूलो छ ?’
प्रहरीको यो कडा निर्देशन मान्दै परिवार सुरक्षा घेरा (गार्डरेल) बाहिर गएको केही क्षणमै पछाडिबाट आएको तिब्र गतिको ट्रकले उनीहरूको गाडीलाई ठक्कर दियो । यदि प्रहरीले समयमै सचेत नगराएको भए सो परिवार भयानक दुर्घटनामा पर्ने निश्चित थियो । प्रहरीको यो सक्रियता र सचेतनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।