बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर

Sep 28, 2026 03:15 PM Merolagani



अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उत्पादन, प्रसारण र वितरण संरचनामा पुगेको क्षतिको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।

प्राधिकरणका अनुसार बाढीका कारण कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि करिब १९० मेगावाट क्षमताका सातवटा जलविद्युत् केन्द्रको विद्युत् प्रसारण हुन सकेको छैन। प्रसारण लाइनको क्षति मर्मत गरी विद्युत् प्रवाह पुनःस्थापना गर्ने काम भइरहेको छ।

बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टेलरेस फ्लोरमा समेत क्षति पुगेकाले सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ। राहुघाट जलविद्युत् केन्द्रबाट ८० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, प्रणालीबाट बाहिर रहेका छवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको विवरणमा उल्लेख छ। सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध रहेका जलविद्युत् केन्द्रहरूको कुल क्षमता २६२ मेगावाट रहेको छ भने मस्र्याङ्दी करिडोरमा १९० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।

बाढीका कारण १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र समेत प्रभावित भएको छ। प्राधिकरणले क्षतिको अवस्था मूल्यांकन गर्दै क्रमशः आयोजनाहरू सञ्चालनमा ल्याउने जनाएको छ।

वितरणतर्फ

बाढीका कारण केही दिनदेखि विद्युत् अवरुद्ध भएका क्षेत्रहरूमा म्याग्दी, बागलुङ र तनहुँको झापाटार सबस्टेसन तथा रुकुम पूर्वमा विद्युत् सञ्चार भइसकेको प्राधिकरणको विवरणमा उल्लेख छ।

त्यस्तै मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने तथा मनाङमा भोलिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने योजना प्राधिकरणले बनाएको छ।

विद्युत् माग व्यवस्थापनका लागि आयात बढाउने योजना

प्राधिकरणले बाढीका कारण आन्तरिक उत्पादन प्रभावित भए पनि विद्युत् माग व्यवस्थापन गर्न भारतबाट समेत विद्युत् आयात गर्ने योजना बनाएको छ। विवरणअनुसार आन्तरिक उत्पादनबाट अनुमानित १ हजार २७५ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ।

माग–आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १४० मेगावाट विद्युत् आयात गर्ने योजना छ।

यसरी बाढीपहिरोका कारण उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति व्यवस्थापन गर्ने तयारी प्राधिकरणले गरेको छ। प्राधिकरणले क्षतिग्रस्त उत्पादन, प्रसारण तथा वितरण संरचनाको अवस्था मूल्यांकन गरी प्राविधिक टोली परिचालन गरिरहेको जनाएको छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।