सुनचाँदीका गरगहना बिक्रीमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क: विभागद्वारा कार्यविधि जारी, छली गरे शतप्रतिशत जरिवाना

Sep 30, 2026 05:15 PM Merolagani



आन्तरिक राजस्व विभागले सुन, चाँदी तथा तिनका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि’ जारी गरेको छ।

आर्थिक ऐनमा व्यवस्था भए बमोजिम विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखांकन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि कार्यान्वयनमा ल्याएको हो।

कार्यविधिअनुसार नेपालमा उपभोगका लागि अन्तिम उपभोक्तालाई बिक्री गरिने सुन, चाँदी वा तिनका गरगहना तथा वस्तुको बिक्री मूल्यमा शून्य दशमलव पाँच प्रतिशत (०.५%) सीप प्रवर्द्धन शुल्क लाग्नेछ। यो शुल्क व्यवसायीले वस्तु बिक्री गर्दाकै बखत उपभोक्ताबाट असुल गर्नुपर्नेछ।

पुरानो गहना साट्दाको नियम

कार्यविधिले पुरानो सुनचाँदी खरिद गरी नयाँ गरगहना बिक्री गर्दाको अवस्थालाई पनि स्पष्ट पारेको छ। ग्राहकबाट पुरानो गरगहना खरिद गरी सोही ग्राहकलाई पुरानो तौल बराबरको मूल्यसम्म नयाँ गरगहना बिक्री गर्दा सीप प्रवर्द्धन शुल्क लाग्ने छैन। तर, पुरानो तौलभन्दा बढी (थप) सुन वा चाँदी प्रयोग गरी नयाँ गहना बनाइएमा थपिएको धातुको मूल्य तथा सम्पूर्ण ज्याला-जर्तीमा यो शुल्क असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।

सर्वसाधारणले सुनचाँदी बेच्दा परिचयपत्र र बिल अनिवार्य

सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा गरगहना बिक्री गर्दा आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्नेछ। जसअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा स्थायी लेखा नम्बर (PAN) कार्डको प्रतिलिपिसहित आफूले खरिद गरेको बिल वा प्रमाण देखाउनुपर्नेछ। विदेशबाट ल्याएको सुनचाँदी भएमा सोको भन्सार वा आधिकारिक प्रमाणसमेत आवश्यक पर्नेछ।

कालीगढलाई प्यान अनिवार्य, ओसारपसारमा चलान चाहिने

गरगहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (PAN) लिएको हुनुपर्नेछ। पसलबाट कालीगढकोमा वा कालीगढबाट पसलमा सुनचाँदी ओसारपसार गर्दा आन्तरिक राजस्व कार्यालयको छाप लागेको तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ। साथै, प्रत्येक व्यवसायीले आफ्नो पसलमा तोकिएको ढाँचाको सूचना पाटी राख्नुपर्नेछ।

विवरण पेस र राजस्व दाखिला

सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले प्रोद्भावी (एक्रुअल) आधारमा लेखांकन गर्नुपर्नेछ। कारोबार भएको वा नभएको जे भए पनि प्रत्येक महिनाको विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा पेस गर्नुपर्नेछ। समयमा विवरण नबुझाए प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण रु. १,००० मध्ये जुन बढी हुन्छ, सोही बराबर थप शुल्क लाग्नेछ।

संकलित शुल्क राजस्व शीर्षक नम्बर ११४१३ मा अर्को महिनाको २५ गतेभित्र दाखिला गर्नुपर्नेछ। तोकिएको म्यादभित्र दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ।

छली गरे शतप्रतिशत जरिवाना

कारोबार परीक्षणका क्रममा सीप प्रवर्द्धन शुल्क असुल नगरेको, कारोबार खण्डीकरण गरी लुकाएको वा वास्तविकभन्दा कम कारोबार घोषणा गरी शुल्क छली गरेको पाइएमा कर अधिकृतले शुल्क निर्धारण गर्नेछन्। त्यस्तो अवस्थामा व्यवसायीलाई निर्धारित शुल्कमा शतप्रतिशत (१००%) थप अतिरिक्त शुल्क (जरिवाना) लाग्ने व्यवस्था कार्यविधिमा गरिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।