खपतभन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा अझै चाप, तर सहज बन्दै आपूर्ति : सिलिन्डर फरक साइज बनाउन अध्ययन सुरु

Oct 03, 2026 10:51 AM Merolagani



सुवास निरौला
पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा र बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणाली क्रमशः नियमित र सहज बन्दै गएको छ। 

नेपाल आयल निगमले बजारको सामान्य खपत क्षमताभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको जनाएको छ भने अर्कोतर्फ सरकारले दीर्घकालीन व्यवस्थापनका लागि व्यावसायिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको आकार (साइज) नै फरक बनाउनेसम्बन्धी अध्ययन अघि बढाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका अधिकारीहरूका अनुसार राजमार्गमा पहिरोका कारण केही दिन ढुवानीमा अवरोध भए पनि अहिले ग्यास बुलेटहरूको लोडिङ र अनलोडिङ नियमित भइसकेको छ।

बजारमा ग्यास अभावको हल्ला चले पनि वास्तविक रूपमा ग्यास आयातमा कुनै समस्या नरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले स्पष्ट पारेका छन्। ग्यास आपूर्तिमा देखिएको पछिल्लो समस्या भारतबाट ग्यास नआएर नभई आन्तरिक सडक सञ्जालमा आएको प्राकृतिक अवरोधका कारण भएको उनको भनाइ छ। “हामीलाई आपूर्ति व्यवस्थामा डिस्टर्ब भएको ग्यास नआएर होइन। मुख्यतया अघिल्लो पटक १८ दिनसम्म कृष्णभीर सडक अवरुद्ध भयो, त्यसपछि फेरि ठाउँ–ठाउँमा गएको बाढी–पहिरोले ३–४ दिन बाटो पूर्ण रूपमा बन्द भयो। बाटो बन्द हुँदा ढुवानी रोकिएर केही समय समस्या देखिएको हो। तर अहिले बाटो खुलिसकेको छ र आपूर्ति नियमित भइसकेको छ,” प्रवक्ता ठाकुरले भने। केही स्थानमा एकतर्फी बाटो र सवारी जामको समस्या रहे तापनि रिफाइनरीबाट हुने लोडिङ र नेपालतर्फको ढुवानीमा कुनै समस्या नरहेको उनले बताए।

तथ्याङ्कमा ग्यास आपूर्ति : सामान्यभन्दा धेरै आयात

नेपाल आयल निगमको तथ्याङ्क अनुसार देशको सामान्य अवस्थाको मासिक ग्यास खपत ४५ हजारदेखि ४६ हजार मेट्रिक टन हो। तर, पछिल्ला महिनाहरूमा बजारको सामान्य मागभन्दा निकै बढी परिमाणमा ग्यास नेपाल भित्रिएको छ। निगमका प्रवक्ता ठाकुरका अनुसार साउन महिनामा ५७ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको थियो। भदौ महिनामा करिब ६० देखि ६१ हजार मेट्रिक टनको हाराहारीमा ग्यास भित्रिएको छ। असोज १५ गतेसम्म करिब २६ हजार ५०० मेट्रिक टन ग्यास नेपाल आइसकेको छ।

खपतभन्दा बढी आयात हुँदा पनि किन देखियो बजारमा चाप ?

सामान्य मागभन्दा झन्डै १५ हजार मेट्रिक टन बढी ग्यास बजारमा पठाउँदा समेत उपभोक्ता तहमा लाइन र अभावको मनोवैज्ञानिक त्रास देखिनुमा 'उपभोक्ताको मौज्दात प्रवृत्ति' मुख्य कारण रहेको निगमको विश्लेषण छ। प्रवक्ता ठाकुरले उपभोक्ता मनोविज्ञान र भण्डारण प्रवृत्तिको चर्चा गर्दै भने, “ग्यास जति खपत हुनुपर्ने हो, त्योभन्दा बढी नै आयात भएको छ। तर उपभोक्ता मनोविज्ञान कस्तो हुन्छ भने, पसलमा सहजै सिलप्याक सिलिन्डर देखिँदा घरमा दुईवटा सिलिन्डर खाली भए पनि मानिसहरू भर्न जाँदैनन्। जब बजारमा अलिकति समस्याको हल्ला चल्छ वा मान्छेहरू सिलिन्डर बोकेर हिँडेको देखिन्छ, तब घरमा भएका सबै सिलिन्डर एकैपटक भरेर राख्ने होडबाजी चल्छ,” उनले थपे, “हुने-खाने र पैसा हुनेहरूले घरमा तीन–चारवटा सिलिन्डर भरेर राखे, तर एउटा मात्र सिलिन्डर हुने निम्न वर्गका उपभोक्तालाई भने यसले समस्यामा पार्‍यो। यही कारणले गर्दा बजारको माग सन्तुलनमा आउन अझै केही समय लाग्ने देखिएको हो।”

फरक–फरक साइजको सिलिन्डर ल्याउन मन्त्रालयको अध्ययन 

यसैबीच, घरायसी र व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको दुरुपयोग रोक्न र व्यवस्थापनलाई चुस्त बनाउन सरकारले अध्ययन समिति गठन गरेको छ। बजारमा चर्चा गरिएजस्तो केवल 'रातो र निलो' रङको सिलिन्डर मात्र नभई व्यावसायिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै तौल तथा साइजका सिलिन्डर प्रचलनमा ल्याउनेबारे अध्ययन भइरहेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित अध्ययन समितिले यसबारे गृहकार्य गरिरहेको छ। “यो केवल रातो र निलो रङको सिलिन्डर बनाउने विषय मात्र होइन। व्यावसायिक (होटल, रेस्टुरेन्ट आदि) र घरायसी प्रयोजनका लागि फरक-फरक साइजको सिलिन्डर कार्यान्वयनमा ल्याउनुपर्छ कि भन्ने विषयमा मन्त्रालयमा छलफल उठेको थियो। त्यसैको सम्भाव्यता र मोडालिटी हेर्नका लागि अध्ययन समिति बनेको हो,” मन्त्रालयका प्रवक्ता बस्नेतले भने। उनले समितिले अध्ययनको काम गरिरहेको र प्रतिवेदन तयार हुन बाँकी रहेको बताए। “कमिटीले अहिले अध्ययन गरिरहेको छ। प्रतिवेदन आइसकेपछि मात्र कुन मोडालिटीमा कसरी अगाडि बढ्ने भन्ने निर्णय हुनेछ,” बस्नेतले स्पष्ट पारे।

उपभोक्तालाई नआत्तिन आग्रह

आयल निगम र मन्त्रालय दुवैले आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य भइसकेकाले बजारमा अनावश्यक रूपमा ग्यास सिलिन्डर थुपारेर नराख्न र हल्लाको पछि नलाग्न आम उपभोक्तालाई आग्रह गरेका छन्। आयात नियमित भइरहेकाले केही दिनभित्रै बजारमा देखिएको अतिरिक्त चाप स्वतः हट्ने निगमको दाबी छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।