मन्त्री श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरणबाट निरन्तर हुने यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको उल्लेख गर्दै विद्युतको मितव्ययी प्रयोग गर्न आग्रह गरेका हुन् । उनले नेपालमा विद्युत उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख रहेको उल्लेख गर्दै प्रत्येक घरमा हुने सानो परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने बताए । विद्युतको अनावश्यक खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने बताउँदै उनले विद्युत आपूर्तिमा समस्या हुँदा उपभोक्ताले नै त्यसको असर भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युतको सदुपयोगमा जोड दिनुपर्ने बताए। मन्त्री श्रेष्ठले विद्युत्को मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत लागू गर्नुपर्ने बताए । उनकाअनुसार राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय, प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको छ ।
उर्जामन्त्री श्रेष्ठले भने– ‘यसबारे धेरै अध्ययनहरू भएका छन् । यस्तो अवस्थालाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम एनर्जी’ भन्ने गरिन्छ । उदाहरणका लागि, अहिले हाम्रो विद्युत् ग्राहकको संख्या करिब ६०–६५ लाख छ । हरेक घरमा मल्टिप्लग छन् । मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले मात्रै पनि ५ देखि २० प्रतिशतसम्म विद्युत् खपत हुने अध्ययनहरू छन् । यसलाई ‘एनर्जी भ्याम्पायर’ अथवा ‘फ्यान्टम एनर्जी’ भनिन्छ । यसबारे खोजेर पनि हेर्न सकिन्छ । मैले कसैलाई ‘यो नचलाउनुहोस्’ भनेको होइन । हाम्रो उद्देश्य ट्रान्सफर्मरको लोडलाई केही कम गर्नु हो । ‘किन बत्ती छैन ?’ भनेर हामीले गुनासाहरू पनि पाइरहेका छौँ । त्यसैले जनचेतनाका रूपमा विद्युतको सदुपयोग गरौँ भन्ने मेरो आग्रह हो । खेर गइरहेको विद्युत् किन खेर जान दिने ? त्यसले ट्रान्सफर्मरमा अनावश्यक लोड बढाउँछ । भोलि ट्रान्सफर्मर पड्कियो वा त्यहाँ विद्युत् आपूर्तिमा समस्या आयो भने त्यसको असर उपभोक्तालाई नै पर्छ । त्यसैले मैले विनम्रतापूर्वक विद्युत्को मितव्ययी र सदुपयोग गर्न आग्रह गरेको हुँ । मितव्ययिता किन अपनाउनुपर्छ भन्ने कुरा पनि महत्वपूर्ण छ । अहिले विद्युतको माग बढी छ । यसपालि बाढीले पनि हाम्रो ऊर्जा क्षेत्रमा केही असर गरेको छ । जाडो महिनामा हामी सबै यस विषयमा अझ संवेदनशील हुनुपर्छ । म तपाईंहरूमार्फत आम नागरिकलाई मात्र होइन, सबैभन्दा बढी सरकारी कार्यालयहरूलाई पनि यो कुरा लागू गर्न आग्रह गर्न चाहन्छु । पहिले हामीले सिंहदरबारका कोठाहरूमा हिटर बालिराखेको, फ्यान चलिरहेको र एसी चलिरहेको देख्थ्यौँ । यसपटक हामी प्रशासनसँग पनि यस विषयमा काम गरिरहेका छौँ । स्थानीय सरकारदेखि प्रदेश सरकार हुँदै संघीय सरकारका प्रशासनिक कार्यालयसम्म राति कार्यालय बन्द भइसकेपछि अनावश्यक बत्तीहरू निभाउने र विद्युत्को अनावश्यक खपत रोक्ने जिम्मेवारीबोध गराउन खोजिरहेका छौँ । विद्युतको सदुपयोग गर्न कुनै समस्या छैन । तर खेर जाने विद्युत् किन खेर जान दिने ? दुईवटा बाढीले ऊर्जा क्षेत्रमा ठूलो असर गरेको छ । एउटा बाढीको प्रभाव निकै ठूलो थियो भने अर्कोको असरबाट हामी अहिले पनि पुनःस्थापनाको क्रममा छौँ । त्यसैले विद्युत्को मितव्ययी र सदुपयोगका लागि मैले आग्रह गरेको हुँ ।'
पछिल्ला बाढीका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र विद्युत्को मागसमेत बढिरहेको अवस्थामा अनावश्यक खपत नियन्त्रण गर्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठले दुईवटा बाढीले ऊर्जा क्षेत्रमा पारेको प्रभावबाट पुनःस्थापनाको काम जारी रहेकाले आगामी जाडोयाममा विद्युतको मितव्ययी प्रयोगमा थप संवेदनशील हुन उनले आम नागरिक तथा सरकारी निकायलाई आग्रह गरे।