पूर्वाधार विकास समितिले गरेको अध्ययनअनुसार यात्रुको चाप व्यवस्थापन गर्न ४३ हजार ५७४ देखि ६५ हजार ३६१ वटासम्म सार्वजनिक सवारी आवश्यक पर्ने देखिएको छ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गठित अध्ययन समितिले १४ असोज २०८३ मा प्रतिवेदन प्रधानमन्त्री तथा पूर्वाधार विकासमन्त्रीसमक्ष पेस गरेको हो।
अध्ययनअनुसार गत वर्ष दशैंका बेला औसत दैनिक ८ हजार १०१ सार्वजनिक सवारी उपत्यकाबाट बाहिरिएका थिए भने सप्तमीका दिन मात्रै अधिकतम १९ हजार ६७१ सवारी बाहिरिएका थिए। यस आधारमा समग्रमा सार्वजनिक सवारीको संख्या पर्याप्त भए पनि गन्तव्यअनुसार माग र आपूर्तिमा असन्तुलन हुँदा यात्रुले समस्या भोग्ने गरेको समितिको निष्कर्ष छ।
यस वर्ष ट्राफिक प्रहरीले १ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने र १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरेको छ। सडक विभागले सम्भावित जोखिम तथा दुर्घटनाका लागि १८ स्थानमा ठूला उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने जनाएको छ।
यातायात व्यवसायी महासंघले दशैंमा १५ देखि १७ लाखसम्म यात्रुले उपत्यका छाड्न सक्ने अनुमान गर्दै आवश्यक सवारी व्यवस्थापन तथा अनुगमन अघि बढाएको छ। समितिले टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकलाई पर्याप्त आराम नदिई सवारी चलाउने, सडक जाम तथा दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन सुझाव दिएको छ।
समितिले सडकको निरन्तर अनुगमन, आपत्कालीन उद्धारका लागि उपकरण तथा जनशक्ति तयारी, अग्रिम टिकट बुकिङ, डिजिटल टिकट तथा चलान, स्मार्ट सवारी फिटनेस प्रणाली र यात्रुलाई सूचना प्रवाहमा जोड दिन सुझाव दिएको छ।
दीर्घकालीन रूपमा तथ्यांकमा आधारित यातायात योजना बनाउन र सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सशक्त सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्नुपर्ने समितिको निष्कर्ष छ। प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएको समितिले बताएको छ।