बीमितले आफ्नै बीमालेख धितो राखेर लिएको कर्जाबाट मात्रै कम्पनीहरूले १० अर्ब ३८ करोड ६४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरूले कुल लगानी तथा कर्जाबाट ५९ अर्ब १४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । यसमध्ये बीमितलाई प्रवाह गरिएको कर्जाबाट प्राप्त ब्याज आम्दानीको हिस्सा करिब १७.५६ प्रतिशत रहेको छ ।
कुल सम्पत्तिको करिब १० प्रतिशत कर्जामा
१४ वटै जीवन बीमा कम्पनीको एकल वित्तीय विवरणअनुसार कुल सम्पत्ति १० खर्ब ७४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कम्पनीहरूले विभिन्न क्षेत्रमा ८ खर्ब ८७ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूको कुल सम्पत्तिको ९.६२ प्रतिशत हिस्सा कर्जा प्रवाहमा रहेको छ । यसले जीवन बीमा कम्पनीहरूका लागि बीमालेख धितोमा दिइने कर्जा पनि आम्दानीको एउटा महत्त्वपूर्ण माध्यम बनेको देखाउँछ ।
तीन ठूला कम्पनीको कर्जामा ६५ प्रतिशत हिस्सा
कर्जा प्रवाहमा पुराना तथा ठूला जीवन बीमा कम्पनीहरूको वर्चस्व देखिएको छ । कुल १ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ कर्जामध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र नेसनल लाइफ इन्स्योरेन्सले मात्रै ६७ अर्ब २१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको ६५.०१ प्रतिशत हो ।
कर्जा प्रवाहमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ । कम्पनीले ३४ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कुल जीवन बीमा क्षेत्रको कर्जाको ३३.५४ प्रतिशत हो । अर्थात्, जीवन बीमा कम्पनीहरूले प्रवाह गरेको प्रत्येक तीन रुपैयाँ कर्जामध्ये करिब एक रुपैयाँ नेपाल लाइफबाट प्रवाह भएको छ ।
दोस्रो स्थानमा रहेको एलआईसी नेपालले २० अर्ब १५ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कुल कर्जाको १९.५० प्रतिशत हो ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेसनल लाइफले १२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कुल कर्जामा कम्पनीको हिस्सा ११.९८ प्रतिशत रहेको छ ।
अन्य कम्पनीमध्ये हिमालयन लाइफले ८ अर्ब ६० करोड ८३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ५३ करोड ७९ लाख, सूर्यज्योति लाइफले ५ अर्ब ३४ करोड ५९ लाख र एसियन लाइफले ५ अर्ब २७ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
तुलनात्मक रूपमा नयाँ जीवन बीमा कम्पनीहरूको कर्जा प्रवाह भने कम देखिएको छ । रिलायबल नेपाल लाइफले ७१ करोड ११ लाख र सन नेपाल लाइफले ८० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यी दुई कम्पनीको कर्जा प्रवाह सबैभन्दा कम देखिएको छ ।
कम्पनीअनुसार कर्जा प्रवाहको अवस्था
कम्पनीहरूको वित्तीय विवरणमा उल्लेखित तथ्यांकअनुसार कर्जा प्रवाहको अवस्था यस्तो छ ।
(रकम लाख रुपैयाँमा)
|
क्र.सं.
|
कम्पनी
|
कर्जा प्रवाह
|
कुल कर्जामा हिस्सा
|
|
१
|
नेपाल लाइफ
|
३,४६,७६३.९५
|
३३.५४%
|
|
२
|
एलआईसी नेपाल
|
२,०१,५५२.८८
|
१९.५०%
|
|
३
|
नेसनल लाइफ
|
१,२३,८११.८८
|
११.९८%
|
|
४
|
हिमालयन लाइफ
|
८६,०८३.३०
|
८.३३%
|
|
५
|
राष्ट्रिय जीवन बीमा कम्पनी
|
७५,३७८.५६
|
७.२९%
|
|
६
|
सूर्यज्योति लाइफ
|
५३,४५९.३४
|
५.१७%
|
|
७
|
एसियन लाइफ
|
५२,७३३.८७
|
५.१०%
|
|
८
|
सानिमा रिलायन्स लाइफ
|
१९,८३३.१८
|
१.९२%
|
|
९
|
मेटलाइफ अलिको
|
१७,६२८.११
|
१.७१%
|
|
१०
|
प्रभु महालक्ष्मी लाइफ
|
१५,७६५.३३
|
१.५२%
|
|
११
|
आईएमई लाइफ
|
१३,०६५.१४
|
१.२६%
|
|
१२
|
सिटिजन लाइफ
|
१२,५८३.२९
|
१.२२%
|
|
१३
|
सन नेपाल लाइफ
|
८,०८३.३१
|
०.७८%
|
|
१४
|
रिलायबल नेपाल लाइफ
|
७,१११.१७
|
०.६९%
|
|
जम्मा
|
१४ जीवन बीमा कम्पनी
|
१०,३३,८५३.३०
|
१००%
|
स्रोत : जीवन बीमा कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण
किन आकर्षक बन्दैछ बीमालेख कर्जा ?
जीवन बीमालेख खरिद गरेपछि निश्चित अवधि पूरा भएको अवस्थामा बीमितले आफ्नो बीमालेखको समर्पण मूल्य (Surrender Value) का आधारमा बीमा कम्पनीबाटै कर्जा लिन पाउने व्यवस्था छ ।
बीमितलाई आकस्मिक आर्थिक आवश्यकता पर्दा बैंक तथा अन्य वित्तीय संस्थामा धितो राख्ने प्रक्रिया पूरा गर्नुभन्दा आफ्नै बीमालेखका आधारमा कर्जा लिन सहज हुने भएकाले यस्तो कर्जाप्रति आकर्षण बढ्ने गरेको छ । बीमालेखको प्रकृति, समर्पण मूल्य र कम्पनीको नियमअनुसार कर्जाको सीमा निर्धारण हुने गर्छ ।
अर्कोतर्फ, बीमा कम्पनीहरूका लागि पनि यस्तो कर्जा तुलनात्मक रूपमा सुरक्षित लगानीको माध्यम मानिन्छ । कर्जा भुक्तानी नभएमा कम्पनीले बीमालेखको समर्पण मूल्य वा दाबी भुक्तानीबाट प्रचलित व्यवस्था र सर्तअनुसार साँवा तथा ब्याज असुल गर्न सक्छन् ।
यसले कम्पनीहरूको कर्जा असुली जोखिम तुलनात्मक रूपमा कम गर्ने र ब्याज आम्दानीको नियमित स्रोत उपलब्ध गराउने गर्छ । त्यसैले बीमितलाई वित्तीय आवश्यकता पूरा गर्ने सुविधा दिनुका साथै बीमा कम्पनीहरूको आम्दानी बढाउन पनि बीमालेख कर्जाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।