रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ हाटबजारबाट ब्राउनसुगर जस्तो देखिने ३ सय ९० मिलिग्राम पदार्थसहित गुल्मी घर भई बुटवल–११ देवीनगरमा डेरा गरी बस्ने ३८ वर्षीय चन्द्रबहादुर खत्री पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।
यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवनीयापुरबाट २ सय ८० ट्याब्लेट ट्रामाडोलसहित जाजरकोटको भेरी नगरपालिका–३ का १९ वर्षीय शंकर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित वीरेन्द्र टोलबाट ६४ ग्राम चरेस जस्तो देखिने पदार्थसहित ४९ वर्षीय गौरी सिंह महरा पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।