दशैं–तिहारमा तासको माग बढ्दै, दुई महिनामा साढे ५ करोडको तास आयात

Oct 20, 2026 06:12 PM merolagani



दशैं–तिहार नेपालीका लागि भेटघाट,खानपिन र रमाइलो गर्ने पर्व हुन् । वर्षभरि आ–आफ्नो काममा व्यस्त रहने परिवारका सदस्य तथा आफन्तजन चाडपर्वमा एकै ठाउँमा भेला हुन्छन् ।

गाउँघरमा पिङ खेल्ने,चङ्गा उडाउने र मीठो मसिनो खानेसँगै तास खेल्ने चलन पनि उत्तिकै पुरानो छ । तर, परिवार र साथीभाइबीचको मनोरञ्जनका रूपमा स्थापित तास खेल्ने परम्परा पछिल्लो समय रकमको हारजितसँग जोडिँदा जुवाको विषय समेत बन्ने गरेको छ ।

नेपाली समाजमा तासको यही सांस्कृतिक र सामाजिक उपस्थिति यसको आयातको तथ्यांकमा पनि देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्रै ५ करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ९ करोड रुपैयाँभन्दा बढी मूल्यको तास आयात भएको थियो ।

दुई महिनाको अवधिमा करोडौँ रुपैयाँको तास आयात हुनुले नेपालमा यसको बजार उल्लेख्य रहेको देखाउँछ । अझ दशैं र तिहारजस्ता ठूला चाडपर्वकाे समयमा तासको आयात तथा कारोबार थप बढ्न सक्ने अनुमान गरिएको छ ।

चाडपर्वसँग जोडिएको तासको संस्कृति

दशैंमा टीका लगाउने,आशीर्वाद लिने र आफन्तसँग भेटघाट गर्ने परम्परासँगै फुर्सदको समय तास खेलेर बिताउने चलन पनि धेरै नेपाली परिवारमा छ । विशेषगरी लामो समयपछि गाउँघरमा भेला भएका आफन्त तथा साथीभाइबीच तास खेल्नु रमाइलो गर्ने एउटा माध्यम बनेको छ । कतिपयका लागि यो भेटघाटलाई अझ आत्मीय बनाउने र समय बिताउने सामान्य खेल मात्र हो ।

दशैंमा लामो बिदा हुने भएकाले पनि तास खेल्ने गतिविधि बढ्ने गर्छ । घरको आँगन,बरन्डा तथा गाउँका चौतारीमा भेला भएर तास खेल्ने दृश्य नेपाली समाजमा नौलो होइन । यही कारण तासलाई केवल खेल सामग्रीका रूपमा मात्र नभई चाडपर्वको फुर्सद र सामाजिक अन्तरक्रियासँग जोडिएको वस्तुका रूपमा पनि हेरिन्छ ।

तर, तास खेल्ने सबै गतिविधि मनोरञ्जनमै सीमित हुँदैनन् । कतिपय स्थानमा रकम राखेर तास खेल्ने प्रवृत्तिले यसलाई जुवासँग जोडेको छ । सामान्य मनोरञ्जनका लागि सुरु भएको खेल रकमको हारजितमा केन्द्रित हुँदा आर्थिक क्षति र सामाजिक समस्याको कारणसमेत बन्न सक्छ । त्यसैले तासको बढ्दो बजारलाई चाडपर्वको रमाइलोसँगै यसको प्रयोगको प्रकृतिका आधारमा पनि बुझ्नुपर्ने देखिन्छ ।

अमेरिका, जापानदेखि चीन र भारतसम्मबाट आयात

भन्सार विभागका अनुसार नेपालमा आयात हुने तास अमेरिका,जापान,चीन र भारतलगायतका देशबाट आउने गरेका छन् । विभिन्न मुलुकबाट तास आयात हुनु र यसको कारोबारमा करोडौँ रुपैयाँ खर्चिनुले नेपालमा यसका लागि छुट्टै बजार रहेको संकेत गर्छ ।

यद्यपि, आयातको कुल मूल्यले तासको वास्तविक खपत कति छ, कति तास खुद्रा बजारमा बिक्री हुन्छ र कति मनोरञ्जन वा जुवाका लागि प्रयोग हुन्छ भन्ने छुट्याउँदैन । त्यसैले आयातको तथ्यांकलाई जुवाको कारोबारसँग सीधै जोड्न मिल्दैन । तर,चाडपर्वको समयमा यसको माग बढ्ने प्रवृत्तिले तासको बजार र प्रयोगबारे थप अध्ययन गर्नुपर्ने प्रश्न भने उठाएको छ ।

भन्सार विभागका तथ्यांक अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार अहिले सार्वजनिक भएको तथ्यांक चालु आर्थिक वर्षको पहिलो दुई महिनाको मात्र हो । तास आयात हुने क्रम जारी रहेकाले आगामी महिनाको तथ्यांकमा यसको परिमाण थप बढ्न सक्ने  छ ।

‘दशैं नजिकिँदै छ । यो चालु आर्थिक वर्षको तथ्यांक दुई महिनाको मात्रै हो, तास आउने क्रम जारी नै छ,’ उनले भने ।

मनोरञ्जन कि जुवाको माध्यम ?

तास आफैँमा मनोरञ्जनका लागि खेलिने खेल हो । यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले त्यसको सामाजिक प्रभाव निर्धारण गर्छ । परिवार र साथीभाइबीच सामान्य रूपमा खेलिने तासलाई जुवासँग एउटै रूपमा हेर्न नमिले पनि रकमको हारजितमा आधारित गतिविधिले यसलाई विवादित बनाउने गरेको छ ।

तासको आयातमा देखिने करोडौँ रुपैयाँको कारोबारले यसको बजारको आकारबारे संकेत गरे पनि त्यसको ठूलो हिस्सा चाडपर्वकै समयमा खपत हुन्छ वा वर्षभरि समान रूपमा बिक्री हुन्छ भन्ने स्पष्ट तथ्यांक उपलब्ध छैन । त्यस्तै, आयातित तासमध्ये कति घरायसी मनोरञ्जनमा र कति व्यावसायिक वा जुवासम्बन्धी गतिविधिमा प्रयोग हुन्छ भन्ने विवरणले मात्र यसको वास्तविक सामाजिक प्रभाव स्पष्ट पार्न सक्छ ।

यसरी हेर्दा नेपाली समाजमा तासको सम्बन्ध केवल चाडपर्वको रमाइलोसँग मात्र सीमित छैन । यो एकातिर पारिवारिक जमघट र मनोरञ्जनको हिस्सा हो भने अर्कोतिर रकमको हारजितसँग जोडिँदा सामाजिक बहसको विषय पनि बन्दै आएको छ । दशैं–तिहारको मौसममा यसको कारोबार बढ्दै गर्दा तासलाई परम्परागत मनोरञ्जनका रूपमा हेर्ने कि यसको प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिमलाई पनि गम्भीरतापूर्वक लिने भन्ने प्रश्न उत्तिकै सान्दर्भिक बनेको छ ।