आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

Oct 21, 2026 05:30 AM Merolagani



बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ ।

शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको र साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइ माग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।