‘कालोकेशमा रेलिमई’का गायक दिनेश ढकालले ल्याउँदैछन् नयाँ गीत ‘झिल्के मायालु’

Oct 16, 2026 11:34 AM Merolagani



पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत ‘कालोकेशमा रेलिमई’का रचनाकार तथा गायक दिनेश ढकालले नयाँ गीत ‘झिल्के मायालु’ बजारमा ल्याउने भएका छन् । 

गीतको अडियो तथा म्युजिक भिडियो तयार भइसकेको र आउँदो कात्तिक १ गते आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सन् १९९० को दशकको नोस्टाल्जिक परिवेशमा आधारित ‘झिल्के मायालु’को म्युजिक भिडियो भक्तपुरमा छायांकन गरिएको हो । पप–रक संस्कृतिको झल्को दिने भिडियोमा तीन जना झिल्के साथी विशेष, रमेश र सुरेशको हँसिलो, रोमान्टिक र रमाइलो यात्राको कथा प्रस्तुत गरिएको छ ।

मानव सुवेदीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा राजन सुवेदी, निकिता आचार्य र दिनेश ढकाललगायतका कलाकारको अभिनय रहेको छ । गीतको शब्द तथा संगीत सन्देश भण्डारीले तयार पारेका हुन् भने स्वर दिनेश ढकालको रहेको छ ।

नयाँ गीतमार्फत ढकालले पुरानो समयको सांगीतिक स्वाद र मनोरञ्जनात्मक कथालाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । विशेषगरी सन् १९९० को दशकको परिवेश, साथीभाइबीचको सम्बन्ध र रोमान्टिक प्रसंगलाई भिडियोमा समेटिएको छ ।

को हुन् दिनेश ढकाल ?

दिनेश ढकाल नेपाली सांगीतिक क्षेत्रमा एक दशकदेखि सक्रिय गायक तथा गीतकार हुन् । पाँच वर्षअघि सार्वजनिक भएको ‘कालोकेशमा रेलिमई’ गीतले उनलाई व्यापक चर्चा दिलाएको थियो । उक्त गीतको लोकप्रियतापछि उनी नेपाली संगीतप्रेमीमाझ परिचित बनेका हुन् ।

ढकालले ‘कालोकेशमा रेलिमई’सँगै ‘कालीगंगा तिर’, ‘माया नौजाले’ र ‘कर्णालीका पुल’लगायतका गीतमा स्वर दिइसकेका छन् । गुल्मीमा जन्मिएका ढकालको आफ्नै ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ ब्यान्डसमेत रहेको छ ।

नेपाली संगीतमा निरन्तर सक्रिय ढकालले नयाँ गीत ‘झिल्के मायालु’मार्फत श्रोता तथा दर्शकमाझ फेरि नयाँ सांगीतिक प्रस्तुति ल्याउन लागेका हुन् ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।