खसीको मासुका ३ स्वादिला परिकार, के–के सामग्री चाहिन्छ?

Oct 19, 2026 05:23 PM Merolagani



दसैँ भन्नेबित्तिकै नयाँ लुगा, टीका, जमरा र परिवारसँगको भेटघाटसँगै मिठोमसिनो खानेकुराको सम्झना आउँछ। दसैँमा विशेषगरी खसीको मासु खाने चलन नेपाली समाजमा पुरानै हो।

घरमा खसी काट्ने, आफन्त र परिवारका सदस्य मिलेर मासुका विभिन्न परिकार बनाउने र रमाइलो गर्दै खाने परम्पराले दसैँलाई अझ विशेष बनाउँछ।

खसीको मासुबाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ। कसैलाई झोलिलो मासु मन पर्छ भने कसैको रोजाइ भुटुवा हुन्छ। कतिपय ठाउँमा पक्कु बनाउने चलन छ भने पछिल्लो समय मटन बिरयानी, सेकुवा र कबाबजस्ता परिकार पनि लोकप्रिय हुँदै गएका छन्।

१. खसीको पक्कु

आवश्यक सामग्री

  • खसीको मासु — १ केजी
  • तोरीको तेल — ३ चम्चा
  • अदुवा–लसुनको पेस्ट — २ चम्चा
  • जिरा र धनियाँको धुलो — डेढ चम्चा
  • खुर्सानीको धुलो — १ चम्चा
  • सुकमेलको धुलो — आधा चम्चा
  • घिउ — २ चम्चा
  • मरिचको धुलो — एक चिम्टी
  • तेजपत्ता — ४ पत्ता
  • नुन — स्वादअनुसार

बनाउने विधि

  • खसीको मासुलाई साना टुक्रामा काट्नुहोस्।
  • मासुमा तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिरा, धनियाँ, खुर्सानी, सुकमेल, मरिच, तेजपत्ता र नुन राखेर राम्ररी मोल्नुहोस्।
  • मसलामा मोलिएको मासुलाई छोपेर आधा घण्टादेखि एक घण्टासम्म राख्नुहोस्।
  • बाक्लो भाँडोमा मासु राखेर मन्द आगोमा पकाउनुहोस्। बीच–बीचमा चलाउँदै जानुहोस्, ताकि मासु भाँडोमा नटाँसियोस्।
  • मासु पाक्दै जाँदा पानी सुक्छ। आवश्यकताअनुसार थोरै पानी थपेर मासु नरम हुने गरी पकाउन सकिन्छ।
  • अन्त्यमा घिउ राखेर चलाउनुहोस्। मासु पाकेपछि करिब १० मिनेट छोपेर राख्नुहोस्। त्यसपछि पक्कु तयार हुन्छ।

२. खसीको लेदोबेदो

आवश्यक सामग्री

  • खसीको मासु — १ केजी
  • प्याज — २ वटा
  • गोलभेँडा — २ वटा
  • अदुवा–लसुनको पेस्ट — २ चम्चा
  • गरम मसला — १ चम्चा
  • धनियाँको धुलो — १ चम्चा
  • बेसार, खुर्सानी र जिराको धुलो — स्वादअनुसार
  • तोरीको तेल — ३ चम्चा
  • धनियाँको पात — एक मुठी
  • टिमुरको धुलो — आधा चम्चा
  • मेथी — १ चम्चा
  • तेजपत्ता — १–२ पत्ता
  • नुन — स्वादअनुसार

बनाउने विधि

  • कराही वा प्रेसर कुकरमा तोरीको तेल तताउनुहोस्। तेल तातेपछि मेथी पड्काउनुहोस्।
  • मसिनो काटेको प्याज राखेर खैरो हुने गरी भुट्नुहोस्।
  • तेजपत्ता र बेसार राखेर चलाउनुहोस्। त्यसपछि खसीको मासु राखेर केही समय भुट्नुहोस्।
  • अदुवा–लसुनको पेस्ट, गरम मसला, धनियाँ, जिरा, खुर्सानी र नुन राखेर राम्ररी चलाउनुहोस्।
  • आवश्यकताअनुसार पानी थपेर मासु नरम हुने गरी पकाउनुहोस्।
  • अन्त्यमा मसिनो गरी काटेको गोलभेँडा र टिमुरको धुलो राख्नुहोस्। गोलभेँडा पाकेपछि धनियाँको पात छर्कनुहोस्। स्वादिलो लेदोबेदो तयार हुन्छ।

३. मटन बिरयानी

आवश्यक सामग्री

  • खसीको मासु — १ केजी
  • बिरयानी चामल — १ केजी
  • बेसार — १ चम्चा
  • तोरीको तेल — ६० मिलिलिटर
  • घिउ — २ चम्चा
  • नुन — स्वादअनुसार
  • सिङ्गो गरम मसला — करिब ६० ग्राम
  • जिरा र धनियाँको धुलो — २ चम्चा
  • खुर्सानीको धुलो — १ चम्चा
  • अदुवा–लसुनको पेस्ट — २ चम्चा
  • प्याज — ३ वटा
  • दही — १ डाडु
  • पुदिनाको पात — १५ ग्राम
  • धनियाँको पात — एक मुठी
  • तेजपत्ता — ४ पत्ता
  • फुड कलर — एक चिम्टी (ऐच्छिक)
  • गुलाबजल — २ चम्चा
  • भुटेको प्याज — १०० ग्राम
  • काजु — ८० ग्राम

बनाउने विधि

  • सबैभन्दा पहिले बिरयानी चामललाई धोएर केही समय भिजाउनुहोस्।
  • भाँडोमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्नुहोस्। त्यसपछि सिङ्गो गरम मसला राख्नुहोस्।
  • खसीको मासु राखेर केही समय भुटेपछि बेसार, जिरा–धनियाँको धुलो, खुर्सानी, अदुवा–लसुनको पेस्ट र नुन राख्नुहोस्।
  • मासुमा मसला राम्ररी मिसिएपछि दही राखेर पकाउनुहोस्। आवश्यकताअनुसार पानी थप्दै मासु नरम हुने गरी ग्रेभी तयार गर्नुहोस्।
  • अर्को भाँडोमा पानी उमालेर सिङ्गो गरम मसला र तेजपत्ता राख्नुहोस्। त्यसमा चामल राखेर करिब ७० प्रतिशत पाक्ने गरी उमाल्नुहोस् र पानी छान्नुहोस्।
  • अब अर्को भाँडोमा पहिले मासुको तह र त्यसपछि चामलको तह मिलाएर राख्नुहोस्। बीच–बीचमा भुटेको प्याज, धनियाँ, पुदिना र घिउ थप्नुहोस्। गुलाबजल र फुड कलर प्रयोग गर्ने भए थोरै मात्रामा राख्नुहोस्।
  • यसरी दुईदेखि चार तह बनाएपछि भाँडोलाई राम्ररी छोप्नुहोस् र मन्द आगोमा करिब ३० मिनेट पकाउनुहोस्।
  • अन्त्यमा भुटेको काजु राखेर तात्तातो मटन बिरयानी पस्कनुहोस्।

यी तीनै परिकार दसैँमा परिवार र पाहुनालाई खुवाउन सकिन्छ। पक्कु परम्परागत स्वादका लागि, लेदोबेदो बाक्लो झोल मन पराउनेका लागि र बिरयानी केही फरक स्वाद चाहनेका लागि उपयुक्त विकल्प हुन्।