कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशतविन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दु घटेर ३.९०६ प्रतिशतविन्दु कायम भएको हो। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दु घटेर २.९९०५ प्रतिशतविन्दुमा झरेको छ।
मंसिर महिनामा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन्। यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। ब्याजदर घटाउने बैंकहरूमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशतविन्दुले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ। त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।
अर्कोतर्फ, सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर यथावत राख्दै मंसिरमा सबैभन्दा उच्च ब्याजदर दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ। प्रभु बैंक (४.२५%), नेपाल बैंक (४.१५%), हिमालयन बैंक (४%), एनआईसी एसिया बैंक (४%), राष्ट्रिय वाणिज्य बैंक (४%), नेपाल एसबिआई बैंक (४%), प्राइम कमर्सियल बैंक (४%) र ग्लोबल आइएमई बैंक (४%) लगायत १४ वटा बैंकहरूले भने मंसिर महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
