प्रतियोगिताको उद्घाटन समारोह अघि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले एनपीएललाई नेपालको खेलकुद इतिहासकै सबैभन्दा ठूलो र महत्वपूर्ण उत्सवको रूपमा चित्रण गरेका छन्। नेपाली क्रिकेटको विकास, खेलाडीहरूको व्यावसायिक प्रवर्द्धन र अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान उँचो बनाउन यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण टिम तथा खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्।
आजदेखि सुरु हुने यस रोमाञ्चक प्रतियोगिताको पहिलो उद्घाटन खेलमा अपराह्न साढे चार बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो संस्करणको यस महासंग्राममा लुम्बिनी र सुदूरपश्चिमसहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी कुल ८ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफिसहित भारी धनराशी प्राप्त गर्नेछ, जसले नेपाली खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।