नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम भने बढ्यो

Oct 30, 2026 03:06 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य अंकको करेक्सन भएको छ। दशैँ बिदा अघिदेखि बढिरहेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।

शुक्रबार नेप्से परिसूचक ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ७४ हजार ५३ पटकको कारोबारमा ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९२ रुपैयाँ ५० पैसा बढेर ७०९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने घलेम्दी हाइड्रोको करिब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।