मार्जिन सेवा दिने ब्रोकरको संख्या २० पुग्यो : बजारमा २३ अर्ब कर्जा प्रवाह गर्न सक्ने क्षमता,कुन ब्रोकरको क्षमता कति ?

Nov 02, 2026 06:26 AM Merolagani



सुवास निरौला 
नेपालको दोस्रो बजारमा शेयर खरिदका लागि लगानीकर्तालाई ऋण सुविधा (मार्जिन ट्रेडिङ) उपलब्ध गराउने धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको संख्या २० पुगेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले औपचारिक रूपमा स्वीकृति दिएसँगै यी ब्रोकरहरूले आफ्ना ग्राहकलाई कारोबार प्रणाली (टीएमएस) मार्फत नै शेयर खरिदमा मार्जिन सुविधा प्रवाह गर्न थालेका हुन्। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा ल्याएपछि ब्रोकरहरूले वाणिज्य बैंकहरूबाट थोक कर्जा (होलसेल लोन) लिएर तथा आन्तरिक पूँजी परिचालन गरी लगानीकर्तालाई यस्तो कर्जा दिन थालेका छन्। हाल सञ्चालनमा रहेका २० वटा ब्रोकर कम्पनीहरूको समग्र वित्तीय स्रोत, बैंक कर्जा रेटिङ तथा आन्तरिक पूँजी क्षमता विश्लेषण गर्दा दोस्रो बजारमा ब्रोकरहरूमार्फत प्रवाह हुन सक्ने सम्भावित मार्जिन कर्जाको कुल आकार करिब २३ अर्ब रुपैयाँ पुगेको देखिन्छ।

कर्जा क्षमताको आधार : रेटिङ भएका १४ र साना ६ ब्रोकर

ब्रोकरहरूको मार्जिन कर्जा क्षमतालाई मुख्यतया दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ:

  1. रेटिङ सम्पन्न भएका १४ ब्रोकर (२० अर्ब रुपैयाँ):
    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५० करोड रुपैयाँ वा सोभन्दा बढी कर्जा लिनुपर्दा अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्छ। सोही व्यवस्था अन्तर्गत १४ वटा ब्रोकर कम्पनीले केयर रेटिङ्स नेपालमार्फत १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्मको बैंक कर्जा सीमा रेटिङ गराएका छन्। यी १४ कम्पनीको कुल रेटिङ रकम नै २० अर्ब रुपैयाँ पुगेको छ। यसमा नासा सेक्युरिटिज एक्लैको ३ अर्ब, दक्षिणकाली, कोहिनुर र आर्यताराको २/२ अर्ब, भिजन र त्रिशक्तिको १.५/१.५ अर्ब तथा अन्य ८ ब्रोकरको १/१ अर्ब रुपैयाँको सीमा रहेको छ।

५० करोड मुनिका ६ ब्रोकर (३ अर्ब रुपैयाँ):

  1. नेप्सेको सूचीमा रहेका बाँकी ६ वटा ब्रोकरहरू (ब्रिलियन्ट, दिपशिखा, अनलाइन, आकाशभैरव, एसपीएसए र केबीएल) को आधिकारिक रेटिङ प्रतिवेदन हालसम्म सार्वजनिक रूपमा प्राप्त हुन सकेको छैन। ५० करोड रुपैयाँभन्दा कमको कर्जा सीमाका लागि सार्वजनिक रेटिङ अनिवार्य नहुने कानुनी व्यवस्था रहेकाले, हामीले यी कम्पनीहरूलाई ५० करोड मुनिको सूचीमा राखेर गणना गरेका छौँ। यी ६ कम्पनीले औसत ५० करोड रुपैयाँका दरले कर्जा वा आन्तरिक पूँजी परिचालन गर्न सक्ने अनुमान गर्दा थप ३ अर्ब रुपैयाँको सम्भावित क्षमता देखिन्छ।

पाठकका लागि स्पष्टोक्ति :
यो २३ अर्ब रुपैयाँको आँकडा बजारको ‘अधिकतम सम्भावित क्षमता’ निकाल्न गरिएको विश्लेषणात्मक प्रयास मात्र हो, यो नै अन्तिम तथ्याङ्क होइन। साथै, रेटिङ गराइएको सबै रकम मार्जिन कर्जामै मात्र प्रयोग हुन्छ भन्ने पनि छैन। ब्रोकरहरूले यसको केही हिस्सा दैनिक राफसाफ (सेटलमेन्ट), कार्यशील पूँजी वा अन्य वित्तीय व्यवस्थापनमा पनि प्रयोग गर्न सक्छन्। वास्तविक कर्जा प्रवाह भने लगानीकर्ताको माग, बजारको अवस्था र बैंकहरूले गर्ने अन्तिम कर्जा निकासामा निर्भर रहन्छ।

मार्जिन कारोबार दिने २० वटै ब्रोकरको क्षमता र विवरण (सूची सहित):

लगानीकर्ता र दोस्रो बजारमा पर्ने प्रभाव

यसअघि शेयर लगानीकर्ताहरूले शेयर धितो कर्जा लिन बैंक धाउनुपर्ने, धितो मूल्याङ्कनको झन्झट बेहोर्नुपर्ने र प्रक्रियागत ढिलाइ सहनुपर्ने बाध्यता थियो। तर, ब्रोकरमार्फत सुरु भएको मार्जिन सुविधाले यो प्रणालीलाई पूर्ण रूपमा डिजिटल र सहज बनाएको छ।

ब्रोकरहरूले वार्षिक करिब ७.५ देखि ९ प्रतिशतसम्मको प्रतिस्पर्धात्मक ब्याजदरमा लगानीकर्तालाई ७० प्रतिशतसम्म मार्जिन फाइनान्सिङ उपलब्ध गराइरहेका छन्। नेप्सेले वित्तीय रूपमा सबल ठहर गरी सूचीकृत गरेका कम्पनीहरूको शेयरमा मात्र यो सुविधा पाइने भएकाले बजारमा अस्वाभाविक जोखिम पनि कम हुन्छ।

ब्रोकरहरूसँग २३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न सक्ने सम्भावित वित्तीय क्षमता तयार हुनुले नेपालको पूँजी बजारमा संस्थागत तरलताको नयाँ आधार खडा गरेको छ। यसले बजारमा दैनिक शेयर कारोबार रकम (टर्नओभर) बढाउनुका साथै साना तथा ठूला दुवै थरी लगानीकर्तालाई बजारको अवसर सदुपयोग गर्न ठूलो मद्दत पुर्‍याउने विश्वास गरिएको छ।