समीक्षा अवधिमा बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो, जसको तुलनामा यस वर्ष बैंकको खुद नाफामा ४३.४४ प्रतिशत वृद्धि देखिएको छ।
खुद ब्याज आम्दानीमा आएको सुधार र इम्पेरमेन्ट चार्ज घटेकाेले बैंकको खुद नाफा बढाउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि ३२ करोड ११ लाख रुपैयाँबाट बढेर ७५ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य नाफा असोज मसान्तसम्ममा ६१ करोड ५६ लाख रुपैयाँ भन्दा बढी रहेको छ, जसले लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्ने क्षमता सुरक्षित रहेको देखाउँछ।
बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप संकलन १ खर्ब २६ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह १ खर्ब ५ अर्ब रुपैयाँ कायम भई बैंकको व्यावसायिक दायरा सुदृढ रूपमा विस्तार भएको छ।
बैंकका प्रमुख वित्तीय परिसूचकहरूमा पनि सकारात्मक सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६५.६७ रुपैयाँ कायम भएको छ। बैंकको पूँजी कोष अनुपात १२.८६ प्रतिशतको सुरक्षित विन्दुमा रहेको छ।
