कुमारी बैंकको खुद नाफा सामान्य बढ्याे, वितरणयोग्य नाफा धनात्मक

Nov 01, 2026 03:39 PM Merolagani



कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा नाफामा १.७ प्रतिशतको वृद्धि देखिएको छ।

सञ्चालन आम्दानीमा भएको विस्तार, जोखिम व्यवस्थापन र कर्जा असुलीमा आएको सुधारले बैंकको नाफा वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल सञ्चालन आम्दानी गत वर्षको ४ अर्ब २१ कराेड रुपैयाँबाट घटेर ३ अर्ब ६७ कराेड रुपैयाँमा सीमित भएकाे छ। यसै अवधिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थापन गत वर्षको १ अर्ब २६ कराेड रुपैयाँबाट घटेर ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएपछि बैंकको खुद सञ्चालन नाफा बढेर ३ अर्ब २२ कराेड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ८८ कराेड रुपैयाँ रहेको छ।

बैंकको वित्तीय विवरणमा सबैभन्दा उत्साहजनक पक्ष लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य नाफामा आएको सकारात्मक मोड हो। गत वर्षको सोही अवधिमा बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड रुपैयाँले ऋणात्मक (घाटामा) रहेकोमा समीक्षा अवधिमा भारी सुधार भई १४ करोड ७१ लाख रुपैयाँ धनात्मक बनेको छ। यसले बैंक विगतको नोक्सानी र प्रोभिजनिङको भारबाट बाहिर निस्कँदै शेयरधनीहरूलाई लाभांश बाँड्न सक्ने क्षमतामा पुनः फर्किएको स्पष्ट सङ्केत गर्छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष र सञ्चित नाफा गरी १८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। बैंकको कुल निक्षेप संकलन ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा प्रवाह २ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ।

बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा कायम भएको छ।