अक्टोबरमा नेपाल भित्रिए १ लाख ३३ हजार पर्यटक, १० महिनामा १० लाख नाघ्यो

Nov 03, 2026 12:05 PM Merolagani



नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ। सन् २०२६ को अक्टोबर महिनामा मात्रै १ लाख ३२ हजार ८ सय १४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर २०२५ को तुलनामा यस वर्ष पर्यटक आगमन ३.४ प्रतिशतले बढेको हो। गत वर्षको अक्टोबरमा १ लाख २८ हजार ४ सय ४३ जना पर्यटक नेपाल आएका थिए।

त्यस्तै, सेप्टेम्बर २०२६ को तुलनामा अक्टोबरमा पर्यटक आगमन ५०.५ प्रतिशतले वृद्धि भएको छ। पर्यटकीय गतिविधि बढ्ने मुख्य मौसम सुरु भएसँगै आगमनमा उल्लेख्य सुधार देखिएको हो।

१० महिनामा १० लाखभन्दा बढी पर्यटक

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकको कुल संख्या १० लाख ८ हजार ६ सय १६ पुगेको छ। यसले नेपालको पर्यटन क्षेत्रमा पर्यटक आगमनको निरन्तरता र सुधारको संकेत गरेको छ।

युरोपबाट सबैभन्दा धेरै पर्यटक

अक्टोबर महिनामा क्षेत्रगत रूपमा हेर्दा युरोपबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। युरोपेली मुलुकबाट ३९ हजार ८ सय ७७ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ३०.०२ प्रतिशत हो।

त्यस्तै, एसियाका अन्य मुलुकबाट २७ हजार ४० जना (२०.३६ प्रतिशत) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकबाट २४ हजार ५३ जना (१८.११ प्रतिशत) पर्यटक नेपाल आएका छन्।

अमेरिका क्षेत्रबाट २१ हजार २ सय ७० जना (१६.०१ प्रतिशत) र ओसियानाबाट १० हजार १ सय ४३ जना (७.६४ प्रतिशत) पर्यटक आएका छन्।

यसैगरी, मध्यपूर्वबाट २ हजार ३ सय ३५ जना (१.७६ प्रतिशत), अफ्रिकाबाट ४ सय २१ जना (०.३२ प्रतिशत) र अन्य तथा खुला समूहबाट ७ हजार ६ सय ७५ जना (५.७८ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त मासिक तथ्याङ्कका आधारमा पर्यटक आगमनको विवरण सार्वजनिक गरेको हो।

दसैं–तिहारजस्ता चाडपर्व र अनुकूल मौसमका कारण नेपालको पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनका लागि अनुकूल मानिने शरद ऋतुमा विदेशी पर्यटकको आगमन बढी हुने गरेको छ।