एनपीएल : विराटनगर किंग्सको रोमाञ्चक जित, जनकपुर बोल्ट्स २ रनले पराजित

Nov 03, 2026 04:14 PM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अन्तिम बलसम्म प्रतिस्पर्धा हुँदा विराटनगरले रोमाञ्चक जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। विराटनगरका लागि आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए। त्यस्तै, इमरान शेखले ५६ रन र लोकेश बमले ५० रनको योगदान दिए।

१७५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि सैफ हसनले ४८ बलमा सर्वाधिक ७१ रन बनाए भने विशाल सुशलिङले ४३ रनको योगदान दिए। तर, उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।

विराटनगरको जितमा आन्द्रे रसेल नायक बने। उनले ब्याटिङमा अविजित अर्धशतक प्रहार गर्नुका साथै बलिङमा चार विकेटसमेत लिए।

यससँगै अन्तिम ओभरसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि २ रनको साँघुरो जित निकालेको छ।