अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

Nov 03, 2026 04:57 PM Merolagani



अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पुर्‍याएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन तथा अन्य वस्तुको मूल्य बढ्दै गएपछि बैंकले ब्याजदर बढाएको हो। यो सन् २००८ यताकै उच्च ब्याजदर हो।

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार सम्पन्न दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।

अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार वार्षिक मुद्रास्फीति अगस्टको चार प्रतिशतबाट बढेर सेप्टेम्बरमा ४.३ प्रतिशत पुगेको छ। बैंकले प्राथमिकताका साथ हेर्ने अन्तर्निहित मुद्रास्फीतिको सूचकसमेत ३.५ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको छ। रिजर्भ बैंकले मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ।

मौद्रिक नीति बोर्डले मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण ऊर्जा मूल्य तथा मुद्रास्फीतिमा दबाब कायम रहने जनाएको छ। मुद्रास्फीति सन् २०२७ को अधिकांश समय उच्च रहने र सोही वर्षको अन्त्यसम्म मात्र लक्ष्यको माथिल्लो सीमामा फर्कने अनुमान गरिएको छ।

ब्याजदर वृद्धिको निर्णय नौ सदस्यीय बोर्डमा छ जनाको समर्थनमा भएको थियो। तीन सदस्यले भने ब्याजदर ४.६० प्रतिशतमा यथावत् राख्नुपर्ने पक्षमा मत दिएका थिए। गभर्नर मिचेल बुलकले ब्याजदर वृद्धिले परिवारलाई कठिनाइ हुने भए पनि मुद्रास्फीति नियन्त्रणका लागि यस्तो निर्णय आवश्यक रहेको बताएका छन्।

अर्थमन्त्री जिम चाल्मर्सले मध्यपूर्वको द्वन्द्वले महँगी बढाउनुका साथै आर्थिक वृद्धिमा समेत दबाब सिर्जना गरिरहेको बताएका छन्। बोर्डले डिसेम्बरको सुरुआतमा पुनः ब्याजदरबारे निर्णय गर्नेछ। यता, यूबीएस अस्ट्रेलियाका प्रमुख अर्थशास्त्री जर्ज थारेनोले भने आगामी बैठकमा ब्याजदर यथावत् रहने अपेक्षा गरेका छन्।