फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारका पाँच दिनमा फूलका मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँको कारोबार हुनेछ ।
मालाबाहेक फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा पुष्प व्यवसायको कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
फ्यानका अनुसार यस वर्ष सबैभन्दा बढी ४५ लाख सयपत्री फूलका माला खपत हुनेछन् । प्रतिमाला औसत ९० रुपैयाँका दरले यसको कारोबार ४० करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान छ । त्यस्तै, ६ लाख मखमली मालाबाट २ करोड ७० लाख, २० हजार गोदावरी मालाबाट २ करोड ४० लाख र ६० हजार मिश्रित फूलका मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अपेक्षा छ ।

त्यसैगरी, ३५ लाख सयपत्री फूलका थुँगाबाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमलाबाट ६ करोड रुपैयाँको कारोबार हुने फ्यानले जनाएको छ ।
सातै प्रदेशमा फैलियो फूल खेती
नेपालमा पछिल्ला वर्षमा फूलको व्यावसायिक उत्पादन विस्तार हुँदै गएको छ । फ्यानका अनुसार अहिले सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । काठमाडौं उपत्यकासहित धादिङ, चितवन, काभ्रे, झापा, इलाम, मोरङ, धनुषा, रुपन्देही, कास्की, बाँके, दाङ र कैलालीलगायत जिल्लामा फूल उत्पादन हुँदै आएको छ ।
यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी बढाउनुका साथै फूल आयात प्रतिस्थापनमा समेत योगदान पुर्याएको एसोसिएसनको भनाइ छ ।
मखमलीमा आत्मनिर्भर, दुई लाख माला निर्यात हुने
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार नेपाल मखमली फूलको उत्पादनमा आत्मनिर्भर बनेको छ । यस वर्ष मखमली फूलका ६ लाख माला खपत हुने अनुमान छ । त्यसमध्ये ४ लाख माला आन्तरिक बजारमा बिक्री हुने र करिब २ लाख माला विदेश निर्यात हुने अपेक्षा गरिएको छ ।
काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेलसहित धादिङ, पाल्पा, कैलाली र इलाममा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
गत वर्ष ४० लाख सयपत्री माला खपत भएकोमा यस वर्ष माग बढेर ४५ लाख पुगेको छ । तर, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षा तथा बाढीपहिरोका कारण सयपत्री खेतीमा क्षति पुगेको फ्यानले जनाएको छ ।
एसोसिएसनका अनुसार आन्तरिक उत्पादनबाट करिब ४० लाख माला आपूर्ति हुने र बाँकी करिब ११ प्रतिशत माग आयातबाट पूरा गर्नुपर्ने अवस्था छ ।
फ्यानले तिहारमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिन उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ । फूलको सहज ढुवानी र उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले स्वदेशी फूलको प्रयोगले नेपाली कृषक र व्यवसायीको आम्दानी बढाउनुका साथै रोजगारी, उत्पादन र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने बताए ।