जुम्लाको ओखर भर्सेस क्यालिफोर्नियाको बदाम

Nov 08, 2026 06:59 PM Merolagani



नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रौनक घरआँगनमा भित्रिइसकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको यमपञ्चक कार्तिक २० गते धनतेरसबाट सुरु भई कार्तिक २५ गते भाइटीकासँगै सम्पन्न हुँदैछ। 

कार्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिनेछन्।

टीकासँगै दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्वक दिने उपहारको मुख्य आकर्षण हो— ‘भाइमसला’ को आकर्षक थैली। ओखर, बदाम, काजु, किसमिस, पेस्ता र नरिवलले भरिएको यो सानो थैली केवल पारिवारिक प्रेमको प्रतीक मात्र रहेन, यसले मुलुकको ठूलो ‘चाडपर्व अर्थतन्त्र’ (फेस्टिभ इकोनोमी) को आयतनसमेत बोकेको छ। तर, विडम्बना के छ भने, भाइको सुस्वास्थ्यको कामना गर्दै दिइने यो मसलाको थैलीभित्र स्वदेशी माटोको सुगन्धभन्दा विदेशी परनिर्भरताको डरलाग्दो चित्र लुकेको छ।

३ महिनामै साढे ३ अर्बको विदेशी मसला

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा मात्रै ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ बराबरको ड्राइ फ्रुट्स (भाइमसला) आयात भएको छ। नेपाली भान्सा र पूजाकोठामा विदेशी मसला भित्र्याउन अर्बौँ रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ।

भन्सार तथ्यांक अनुसार यस वर्षको तिहारलाई लक्षित गरी आयात गरिएका मुख्य सामग्रीको विवरण यस्तो छ:

  • सुपारी : रु. ८४ करोड ७७ लाख

  • ओखर : रु. ६५ करोड ३९ लाख

  • नरिवल : रु. ५८ करोड ६५ लाख

  • बदाम : रु. ४७ करोड ९३ लाख

  • काजु : रु. ४६ करोड ५७ लाख

  • किसमिस : रु. २७ करोड ६३ लाख

  • पिस्ता : रु. ३० लाख

  • खजुर र छोकडा : रु. ८ लाख

यी ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका (क्यालिफोर्निया), कतार, साउदी अरेबिया, मलेसिया, कुवेत, दक्षिण कोरिया, बेलायत र इजरायललगायतका देशबाट आयात गरिएका हुन्।

रैथाने ओखर अलपत्र, चिनियाँ र अमेरिकी ओखरको दबदबा

नेपालको हिमाली तथा उच्च पहाडी भूभाग— विशेषगरी जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोट र रुकुम— ओखर उत्पादनका लागि प्राकृतिक रूपमै उर्वर मानिन्छन्। कर्णालीका किसानका बारीमा जैविक (अर्ग्यानिक) 'दाँते ओखर' उत्पादन हुन्छ। तर, बजारको यथार्थ भने ठ्याक्कै उल्टो छ। तिहारको तीन महिनामा मात्रै नेपालले ६५ करोड ३९ लाख रुपैयाँभन्दा बढीको ओखर बाह्य मुलुकबाट किनेको छ।

राजधानी काठमाडौँका असन, इन्द्रचोकदेखि सुपरमार्केटसम्म चिनियाँ र अमेरिकी ओखरका बोराहरू थुप्रिएका छन्। जुम्ला र कर्णालीका किसानले उत्पादन गरेको ओखर भने उचित बजार, ढुवानी अनुदान र प्रशोधनको अभावमा गाउँमै कुहिन बाध्य छ वा कौडीको भाउमा बेच्नुपरिरहेको छ। जुम्लाबाट काठमाडौँसम्म ओखर ढुवानी गर्दा लाग्ने भाडाभन्दा चीन वा तेस्रो मुलुकबाट कन्टेनरमा काठमाडौँ आइपुग्ने ओखर सस्तो पर्न जानु हाम्रो कमजोर आपूर्ति शृंखलाको तीतो यथार्थ हो।

क्यालिफोर्नियाको बदाम र भियतनामको काजुको चमक

त्यसैगरी, बजारमा सबैभन्दा महँगो मानिने बदाम (Almond) अमेरिकाको क्यालिफोर्नियाबाट आयात हुन्छ। भन्सार तथ्यांक अनुसार ४७ करोड ९३ लाखको बदाम तीन महिनामै भित्रिएको छ। भियतनाम र भारतबाट आउने काजुले ४६ करोड ५७ लाख रुपैयाँ बाहिर लगेको छ।

विदेशी कम्पनीहरूले आकर्षक लेबलिङ, ग्रेडिङ (आकार अनुसारको वर्गीकरण) र भ्याकुम प्याकेजिङ गरेर आफ्ना उत्पादनलाई प्रिमियम ब्रान्ड बनाएका छन्। सहरी उपभोक्ताहरू पातलो बोक्रा भएको, हेर्दा सफा, फुटाउन सजिलो र राम्रो प्याकेटमा सजिएको आयातित बदाम र ओखर किन्न आकर्षित हुन्छन्। नेपालमै उत्पादन हुने कागजी बदाम वा ओखर भने ग्रेडिङ र आधुनिक प्रशोधन अभावका कारण उपभोक्ताको रोजाइमा पर्न सकेका छैनन्।

सांस्कृतिक मिठास, आर्थिक परनिर्भरता

दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने र नेपाल संवत् ११४७ को नयाँ वर्षको स्वागत गर्ने यो पवित्र पर्वले नेपाली समाजमा आत्मीयता ल्याए पनि राष्ट्रिय अर्थतन्त्रका लागि भने व्यापार घाटाको भारी बोकाउने गरेको छ।

पूजाका लागि आवश्यक पर्ने सुपारीमा मात्रै ८४ करोड ७७ लाख र नरिवलमा ५८ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ। तराईका जिल्लाहरूमा सुपारी र नरिवल खेतीको प्रचुर सम्भावना भए पनि त्यसको व्यावसायिक प्रवर्द्धन हुन नसक्दा भारत तथा तेस्रो मुलुककै भर पर्नुपर्ने अवस्था छ।

अबको बाटो : आयात प्रतिस्थापन कि परनिर्भरताको निरन्तरता ?

तिहारको भाइमसला अर्थतन्त्रले नेपालको कृषि नीति र योजनाकारहरूमाथि गम्भीर प्रश्न उठाएको छ। वर्षेनि ३ देखि ४ अर्ब रुपैयाँको ड्राइ फ्रुट्स केही हप्ताको चाडपर्वमा खपत हुने बजार नेपालभित्रै विद्यमान छ।

यदि सरकारले कर्णाली र उच्च पहाडी क्षेत्रलाई 'ओखर जोन' र मध्यपहाडी क्षेत्रलाई 'बदाम पकेट क्षेत्र' का रूपमा घोषणा गरी किसानलाई आधुनिक प्रशोधन मेसिन, ग्रेडिङ प्रविधि र ढुवानीमा सहुलियत दिने हो भने ओखर र बदाममा नेपाल सजिलै आत्मनिर्भर बन्न सक्छ।

जबसम्म हामी 'जुम्लाको अर्ग्यानिक ओखर' लाई आकर्षक ब्रान्डिङ गरेर असन र डिपार्टमेन्ट स्टोरसम्म पुर्‍याउन सक्दैनौँ, तबसम्म तिहारको भाइटीकामा दिइने मसलाको थैलीले 'क्यालिफोर्निया र बेइजिङ' कै अर्थतन्त्रलाई पोसिरहनेछ। भाइटीकाको सांस्कृतिक मिठाससँगै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न अब उपभोक्ता र नीतिनिर्माता दुवै तहबाट गम्भीर आत्मसमीक्षा जरुरी भइसकेको छ।