पछिल्ला ११ वर्षमा तिहार–छठपछिको नेप्से
तिहार तथा छठ पर्वको बिदापछि खुल्ने शेयर बजारले त्यसपछिका १० कारोबार दिनमा कस्तो गति लिएको छ, ११ वर्षको तथ्यगत विश्लेषण गरिएको छ। सन् २०१५ देखि २०२५ सम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा ११ वर्षमध्ये ७ वर्ष नेप्से घटेको छ भने ४ वर्ष मात्रै वृद्धि भएको छ।
विगतको तथ्याङ्कमा सबैभन्दा धेरै वृद्धि सन् २०२० मा देखिएको छ। उक्त वर्ष तिहारपछिको पहिलो कारोबार दिन नेप्से १७१८.४९ विन्दुमा खुलेको थियो। १०औं कारोबार दिनसम्म आइपुग्दा सूचक २ हजार विन्दु भन्दा माथि पुगेको थियो। यस अवधिमा नेप्से १६.४० प्रतिशतले बढेको थियो। त्यस्तै, सन् २०२२ मा २.४७ प्रतिशत, सन् २०२४ मा १.२७ प्रतिशत र सन् २०२५ मा २.४९ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ, सन् २०१६ मा तिहारपछिको १० कारोबार दिनमा नेप्से सबैभन्दा धेरै घटेको थियो। उक्त वर्ष पहिलो कारोबार दिन १७६२.२१ विन्दुमा खुलेको बजार १०औं कारोबार दिनमा १५९९.६२ विन्दुमा झरेको थियो। यस अवधिमा सूचक ९.२३ प्रतिशतले घटेको थियो। त्यस्तै, सन् २०१७ मा ४.५८ प्रतिशत, २०१८ काे नेप्से ३.३८ प्रतिशत, २०२१ मा २.९३ प्रतिशत र २०१५ नेप्से २.५४ प्रतिशतले गिरावट आएको थियो। सन् २०१९ मा १.२३ प्रतिशतले घटेको बजार सन् २०२३ मा भने लगभग स्थिर रहँदै ०.०५ प्रतिशत मात्रै घटेको थियो। माथि उल्लेखित तथ्याङ्क तिहार तथा छठपछिका कारोबार दिनमा शेयर बजारको दिशा एउटै किसिमको नहुने प्रष्ट पारेको छ।
खासगरी दशैं र तिहारबीच केही दिन बजार खुलेपनि लगानीकर्ताहरूमा बजार प्रति चासो नभएपछि त्यसबीच बजार समान्य रुपमा बढेको देखिन्छ। यस अवधिमा लगानीकर्ताहरु चाडपर्वमा शेयर किन्ने भन्दा घुमघाम गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने हुँदा बजार स्थिर हुने उनीहरूकाे बुझाइ छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रगति सार्वजनिक हुने क्रममा छ भने आर्थिक बर्ष सुरु भएपछि कम्पनीहरुले अहिले धमाधम आफनो नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरिरहेका छन् । समग्र अर्थतन्त्रमा देखिएको सुस्तताकाे प्रभावले उत्पन्न आर्थिक मन्दीकै कारण लाभांश दिन नसकेका कम्पनीहरूले यस बर्ष धेरै–थोरै जे सकिन्छ लाभांश घोषणा गर्न थालेका छन्। हालसम्म विभिन्न बैंकहरु,म्युचुअल फण्ड सहित ७२ भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।
पछिल्ला दिनहरुमा शेयर बजार सम्बन्धी नीतिहरुमा सुधार छ । बजारका बाधा अड्चन फुक्दै गएकाले अबको बजार सकारात्मक हुने लगानीकर्ताहरुले विश्वास गरेका छन ।
तिहार तथा छठपछिको शेयर बजार बढ्ने लगानीकर्ता तारा फुल्लेलले बताए। अहिलेको अवस्थामा बैंकिङ प्रणालीमा उपलब्ध तरलता र ब्याजदरले राम्रो संकेत दिएकाे छ। त्यसैगरी, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था र लगानीकर्ताको मनोबलले महत्वपूर्ण भूमिका खेलिरहेकाे छ।
अहिले बैंक तथा वित्तीय संस्थामा तरलता, सस्ताे ब्याजदर, सूचीकृत कम्पनीहरूको सकारात्मक वित्तीय विवरण, राम्राे लाभाँश क्षमताले बजारप्रति आकर्षण थप्न सक्ने फुल्लेलको बुझाई छ। बजारले सकारात्मक गति लिन लगानीकर्ताको विश्वास, नीतिगत स्थिरता, नियामकीय स्पष्टता र लगानीमैत्री वातावरण पनि उत्तिकै आवश्यक हुन्छ।
सरकार र नेपाल धितोपत्र बोर्डले पछिल्लो समय अघि बढाएका नीतिगत सुधारले शेयर बजारको विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्ला समय शेयर बजार बढ्नु पर्ने आधारहरु बलियो बन्दै गएकाे नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए। सरकारले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अघि सारेको कार्ययोजनाहरु कार्यान्वयनको चरणमा रहेको छ। नियामकले बजारको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता, प्रविधिको आधुनिकीकरणमा जोड दिएको पाण्डेको बुझाई छ।
त्यसैगरी,बोर्डले कारोबार प्रणालीको विकास र लगानीका नयाँ अवसर विस्तारलाई प्राथमिकता दिएको छ भने संस्थागत लगानीकर्ताक नीति, सामूहिक लगानी कोषसम्बन्धी नीति जारी भइसकेको छ। साथै, अन्तरदिवसीय कारोबार र नयाँ वित्तीय उपकरणको विकासका लागि अघि बढाएका पहलले बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउने आधार तयार गरेको उनको बुझाइ छ। यी सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए बजारमा तरलता र कारोबार बढ्ने, लगानीकर्ताको जोखिम घट्ने, नयाँ लगानी आकर्षित हुने तथा स्वदेशी र विदेशी पूँजी परिचालन सहज हुने सम्भावना रहेको पाण्डेको बुझाई छ।