माइक्रोसफ्टको विश्वव्यापी प्रणालीमा ठूलो अवरोध, आउटलुक र टिम्स प्रभावित हुँदा ७४ देशका प्रयोगकर्ता समस्यामा

Nov 13, 2026 02:24 PM Merolagani



विश्वकै प्रमुख प्रविधि कम्पनी माइक्रोसफ्टको क्लाउड तथा इमेल प्रणालीमा आएको गम्भीर प्राविधिक समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका छन्। 

बिहीबारदेखि सुरु भएको अवरोधका कारण माइक्रोसफ्टका आउटलुक, टिम्स, कोपाइलट र अन्य माइक्रोसफ्ट ३६५ सेवामा समस्या देखिएको छ।शुक्रबारसम्म पनि सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन।भारतसहित अमेरिका, बेलायत, जापान, सिंगापुर र अस्ट्रेलियाका प्रयोगकर्ताले इमेल खोल्न, पठाउन तथा प्राप्त गर्न कठिनाइ भोगेका छन्। अनलाइन मिटिङको तालिका व्यवस्थापन र कार्यालयका विभिन्न डिजिटल कामसमेत प्रभावित भएका छन्। डाउनडिटेक्टरका अनुसार समस्या सुरु भएको करिब एक घण्टामै ७४ देश तथा क्षेत्रमा यससम्बन्धी गुनासो देखिएको थियो।

भारतमा इन्डिगो र अकासा एयरले माइक्रोसफ्टको विश्वव्यापी सेवामा आएको अवरोधका कारण आफ्नो इमेलमार्फत उपलब्ध गराइने ग्राहक सहायता सेवा प्रभावित भएको जानकारी दिएका छन्। इन्डिगोले तत्काल सहायता आवश्यक पर्ने यात्रुलाई आफ्नो वेबसाइट वा मोबाइल एपमा उपलब्ध वैकल्पिक माध्यम प्रयोग गर्न आग्रह गरेको छ। यसले हवाई सेवासँग सम्बन्धित सञ्चार प्रणालीमा समेत प्रभाव पारेको देखिएको छ।

कुन–कुन सेवा प्रभावित भए ?

यस अवरोधको मुख्य असर माइक्रोसफ्टको इमेल प्रणाली एक्सचेन्ज अनलाइनमा परेको छ। यसै प्रणालीमा निर्भर रहने आउटलुकका प्रयोगकर्ताले आफ्नो इमेल इनबक्स खोल्न, नयाँ सन्देश पठाउन तथा प्राप्त गर्न समस्या भोगेका छन्।त्यस्तै, माइक्रोसफ्ट टिम्सका केही सुविधा, सेयरपोइन्ट अनलाइन, माइक्रोसफ्ट ३६५ कोपाइलट र डिफेन्डर एक्सडीआरलगायत सेवामा पनि समस्या देखिएको छ। यद्यपि सबै सेवा पूर्ण रूपमा बन्द भएका भने होइनन्। माइक्रोसफ्टका अनुसार टिम्सको सन्देश आदानप्रदान र अनलाइन मिटिङका मुख्य सुविधा धेरै हदसम्म सञ्चालनमा रहे पनि एक्सचेन्ज अनलाइनसँग जोडिएका केही सुविधा प्रभावित भएका छन्।

१ लाख ४० हजारभन्दा बढी गुनासा

डाउनडिटेक्टरका अनुसार विश्वभर आउटलुकमा समस्या आएको भन्दै एकै समयमा करिब १ लाख ४० हजार प्रयोगकर्ताले गुनासो गरेका थिए। यो संख्या सामान्य अवस्थाको तुलनामा दुई हजार गुणाभन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।अमेरिकामा सबैभन्दा धेरै गुनासा देखिएका थिए भने एसियाली मुलुकमा पनि शुक्रबार बिहान समस्या बढेको थियो। भारतमा मात्रै शुक्रबार बिहान हजारौँ प्रयोगकर्ताले इमेल सेवा सञ्चालनमा समस्या आएको जानकारी दिएका थिए।

समस्या आउनुको कारण के हो ?

माइक्रोसफ्टले प्रारम्भिक अनुसन्धानमा आफ्नो प्रणालीका केही सर्भर अचानक उपलब्ध हुन छाडेको र त्यसको भार बाँकी सर्भरमा पर्दा प्रणालीमा अत्यधिक दबाब सिर्जना भएको जनाएको छ।स्वचालित प्रणालीले सर्भरको अवस्था जाँच गर्ने क्रममा देखिएको समस्यापछि केही सर्भर निष्क्रिय भएको र त्यसले अन्य सर्भरमा समेत भार बढाएको कम्पनीको प्रारम्भिक विवरण छ। तर, अवरोधको वास्तविक मूल कारणबारे कम्पनीले अझै स्पष्ट निष्कर्ष सार्वजनिक गरेको छैन।यस घटनामा साइबर आक्रमण वा दुर्भावनापूर्ण गतिविधि भएको कुनै संकेत नदेखिएको माइक्रोसफ्टले स्पष्ट पारेको छ।

सेवा पुनः सञ्चालन गर्न माइक्रोसफ्टको प्रयास
माइक्रोसफ्टले प्रभावित सर्भर पुनः सञ्चालन गर्ने, प्रयोगकर्ताको ट्राफिकलाई वैकल्पिक सर्भरमा पठाउने र प्रणालीको क्षमता बढाउने प्रयास गरिरहेको जनाएको छ।तर, पुनः सञ्चालन गरिएका केही सर्भरमा प्रयोगकर्ताको ट्राफिक बढ्न थालेपछि पुनः समस्या देखिएको छ। प्रारम्भिक सुधारका उपायले अपेक्षाअनुसार काम नगरेपछि कम्पनीले सेवा पुनःस्थापना गर्न वैकल्पिक उपायहरू परीक्षण गरिरहेको छ।शुक्रबार सार्वजनिक पछिल्लो जानकारीअनुसार केही सर्भर पुनः सञ्चालन गर्न सीमित सफलता प्राप्त भएको छ। कम्पनीले विभिन्न क्षेत्रमा प्रणालीको अवस्था निगरानी गरिरहेको भए पनि सबै सेवा पूर्ण रूपमा सामान्य हुने समयसीमा सार्वजनिक गरेको छैन।

विश्वव्यापी डिजिटल अर्थतन्त्रमा निर्भरता उजागर
माइक्रोसफ्टको यो अवरोधले आधुनिक व्यवसाय तथा सार्वजनिक सेवाहरू एउटै डिजिटल पूर्वाधारमा कति निर्भर छन् भन्ने देखाएको छ। इमेल, अनलाइन बैठक, फाइल व्यवस्थापन र कार्यालयका आन्तरिक सञ्चार प्रणालीमा समस्या आउँदा एउटा कम्पनीको प्राविधिक गडबडीले अन्य धेरै क्षेत्रलाई समेत प्रभावित पार्न सक्छ।विशेषगरी माइक्रोसफ्टका सेवासँग जोडिएका अन्य प्रविधि कम्पनीका प्रणालीमा समेत यसको असर परेको छ। ओपनएआई र एन्थ्रोपिकले पनि माइक्रोसफ्ट ३६५ कनेक्टरमा आएको समस्याका कारण आफ्ना केही एआई सेवाबाट प्रयोगकर्ताको कार्यस्थलसम्बन्धी सूचना पहुँच गर्ने सुविधामा कठिनाइ भएको बताएका छन्।
 
यस घटनाले ठूला प्रविधि कम्पनीहरूले आफ्ना प्रणालीमा वैकल्पिक पूर्वाधार, आकस्मिक सेवा सञ्चालन योजना र डिजिटल सुरक्षाको व्यवस्था बलियो बनाउनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।