प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ५०.८३ प्रतिशतको वृद्धि देखिएको छ।
आक्रामक बजार विस्तार र बिक्री आम्दानीमा आएको वृद्धिले कम्पनीको नाफालाई यो उचाइमा पुर्याउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी ५५.७५ प्रतिशत बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ७ करोड ४६ लाख रुपैयाँ रहेको थियो। बिक्रीमा भएको यो वृद्धिसँगै कम्पनीको कुल मुनाफा गत वर्षको ३ करोड १४ लाख रुपैयाँबाट उक्लिएर ४ करोड ५२ लाख रुपैयाँ कायम भएको छ। सञ्चालन मुनाफा समेत गत वर्षको ९२ लाख ३९ हजार रुपैयाँबाट ८१.६८ प्रतिशतले बढेर १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी गत वर्षको २५ करोड ५० लाख रुपैयाँबाट वृद्धि भई ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ। पूँजी वृद्धि भए तापनि कम्पनीले आफ्नो प्रतिशेयर आम्दानीलाई सबल राखेको छ; वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा कायम भएको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १४७ रुपैयाँ २४ पैसा पुगेको छ।
कम्पनीले कैलालीको अत्तरियामा रहेको उद्योगको क्षमता वृद्धि गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ भित्रमै हेटौँडा औद्योगिक क्षेत्रमा अत्याधुनिक मेसिन तथा उपकरणद्वारा सबै किसिमका डेकोरेटिभ पेन्ट्स र इन्डष्ट्रियल पेन्ट्स उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। हाल उक्त प्रस्तावित उद्योगको वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा पुगेको र हेटौँडा औद्योगिक क्षेत्रमा मेसिन तथा उपकरण जडानको कार्य तीव्र रूपमा भइरहेको व्यवस्थापनले जनाएको छ।
