आर्थिक अवस्था कमजोर हुनु, आम्दानीको तुलनामा महँगो बीमा योजना खरिद गर्नु, अभिकर्ताको गलत आश्वासन र नातागोता तथा साथीभाइको दबाबमा बीमा गर्ने प्रवृत्तिका कारण ठूलो संख्यामा बीमालेख निष्क्रिय हुने र अवधि नपुग्दै सरेन्डर गर्ने क्रम बढेको छ।
नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलसँगको सहकार्यमा गरेको ‘नेपालमा जीवन बीमा पोलिसी ल्याप्स र सरेन्डर हुनुका सामाजिक–आर्थिक कारणहरूको विश्लेषण’ शीर्षकको अध्ययनले यस्तो अवस्था देखाएको हो।
अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३६ अर्ब ५१ करोड रुपैयाँ बराबरका ११ लाख ५८ हजार २९९ वटा बीमालेख नवीकरण नभई निष्क्रिय भएका छन्। त्यस्तै, सोही वर्ष १४ अर्ब ५० करोड रुपैयाँ बराबरका बीमालेख सरेन्डर भएका छन्। यसले जीवन बीमा क्षेत्रमा बीमालेख बिक्रीभन्दा त्यसलाई निरन्तरता दिनु ठूलो चुनौती बनिरहेको संकेत गर्छ।
एकै वर्षमा १४ अर्ब ५० करोड रुपैयाँको बीमालेख सरेन्डर
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सरेन्डर हुने बीमालेखको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५८ प्रतिशतले बढेर १ लाख १३ हजार ९७६ पुगेको छ। सरेन्डर भएका बीमालेखबाट १४ अर्ब ५० करोड रुपैयाँ बीमा प्रणालीबाट बाहिरिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ८.६८ प्रतिशतले बढी हो।
सबैभन्दा बढी बीमालेख सरेन्डर हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ।
सामान्यतया बीमितले आर्थिक कठिनाइ, तत्काल नगद आवश्यक पर्ने अवस्था वा बीमा योजनाबाट अपेक्षित लाभ नपाएको महसुस भएपछि बीमालेख सरेन्डर गर्ने गर्छन्। तर, अध्ययनले यसको कारण आर्थिक समस्यामा मात्रै सीमित नभई बीमा खरिद गर्ने तरिका, अभिकर्ताको व्यवहार र सामाजिक सम्बन्धसँग पनि जोडिएको देखाएको छ।
आर्थिक संकटले नियमित प्रिमियम तिर्न कठिन
बीमालेख निष्क्रिय हुनु र सरेन्डर हुनुको सबैभन्दा ठूलो कारण आर्थिक संकट देखिएको छ।
अध्ययनका क्रममा सहभागी ७८.९ प्रतिशत बीमितले रोजगारी गुम्नु, व्यापार व्यवसायमा मन्दी आउनु र महँगी बढ्नुका कारण नियमित प्रिमियम तिर्न नसकेको बताएका छन्। आम्दानीको तुलनामा प्रिमियम रकम बढी हुनु पनि बीमालेख निरन्तरता दिन नसक्नुको अर्को प्रमुख कारण बनेको छ।
यसले बीमा योजना खरिद गर्दा ग्राहकको वास्तविक आम्दानी, खर्च र आर्थिक क्षमताको पर्याप्त मूल्याङ्कन नभएको समस्या पनि उजागर गरेको छ। नियमित आम्दानी सुनिश्चित नभएका वा आर्थिक क्षमताभन्दा महँगो बीमा योजना खरिद गरेका व्यक्तिहरूले पछि किस्ता तिर्न नसक्दा बीमालेख निष्क्रिय हुने जोखिम बढी देखिएको छ।
नातागोता र साथीभाइको आग्रहमा बीमा गर्ने प्रवृत्ति
अध्ययनले नेपालको जीवन बीमा बजारमा सामाजिक सम्बन्धका आधारमा बीमा गर्ने प्रवृत्ति पनि समस्याका रूपमा औंल्याएको छ।
सर्वेक्षणमा सहभागी ७६ प्रतिशत अभिकर्ताले साथीभाइ, नातागोता र सामाजिक दबाबका कारण बीमा गर्ने व्यक्तिहरू नै पछि बढी मात्रामा बीमालेख निष्क्रिय वा सरेन्डर गर्ने समूहमा पर्ने स्वीकार गरेका छन्।
त्यस्तै, ७१.८ प्रतिशत बीमितले वास्तविक आवश्यकता र वित्तीय योजना बनाएरभन्दा पनि अभिकर्ता साथी वा नातेदारको आग्रह टार्न नसकेर बीमालेख खरिद गरेको बताएका छन्।
यसले बीमा खरिद गर्ने निर्णयमा ग्राहकको आवश्यकता र आर्थिक क्षमताभन्दा व्यक्तिगत सम्बन्ध तथा सामाजिक दबाब हाबी हुने गरेको देखाउँछ। यस्तो अवस्थामा बीमितले लामो समयसम्म प्रिमियम तिर्ने प्रतिबद्धता पूरा गर्न नसक्दा बीमालेख निष्क्रिय हुने वा सरेन्डर गर्ने अवस्था सिर्जना भएको अध्ययनको निष्कर्ष छ।
आपतकालीन खर्च टार्न बीमालेख सरेन्डर
बीमालेख सरेन्डर हुनुको अर्को प्रमुख कारण तत्काल नगद आवश्यक पर्नु हो।
सर्वेक्षणमा सहभागी ६१.२ प्रतिशत बीमितले उपचार खर्च, छोराछोरीको शिक्षा तथा अन्य आकस्मिक आर्थिक आवश्यकता पूरा गर्न बीमालेख सरेन्डर गरेको बताएका छन्।
तर, बीमालेख सरेन्डर गर्नु नै रकम जुटाउने एकमात्र विकल्प नभएको विषयमा धेरै बीमित अनभिज्ञ रहेको अध्ययनले देखाएको छ। बीमालेखको सर्त र लागू हुने व्यवस्थाअनुसार निश्चित अवधि तथा चुक्ता मूल्य प्राप्त भएपछि त्यसलाई धितो राखेर कर्जा लिन सकिने व्यवस्था हुन्छ। यस्तो विकल्पबारे पर्याप्त जानकारी नहुँदा बीमितले आर्थिक आवश्यकता पूरा गर्न बीमालेख नै त्याग्ने गरेको प्रतिवेदनले औंल्याएको छ।
अभिकर्ताको गलत आश्वासनले पनि समस्या
बीमा क्षेत्रमा देखिएको अर्को गम्भीर समस्या अभिकर्ताबाट हुने गलत बिक्री अर्थात् मिस–सेलिङ हो।
अध्ययनमा सहभागी ६९.६ प्रतिशत बीमितले अभिकर्ताले बीमा योजना बिक्री गर्ने क्रममा मुख्य सर्तहरू स्पष्ट नगरी बढी प्रतिफलको आश्वासन दिएको बताएका छन्।
कतिपय अवस्थामा बीमालेख बिक्री गरेपछि अभिकर्ता ग्राहकको सम्पर्कमा नरहने वा पेसा नै परिवर्तन गर्ने गरेका छन्। यस्तो अवस्थामा प्रिमियम भुक्तानीको समय, बीमालेख नवीकरण र अन्य आवश्यक जानकारी ग्राहकसम्म नपुग्दा बीमालेख निष्क्रिय हुने जोखिम बढेको छ।
अभिकर्ताको सहयोगमा निर्भर रहेका ग्राहकले बिक्रीपछिको सेवा नपाउँदा बीमा कम्पनीसँगको सम्बन्धसमेत कमजोर हुने गरेको अध्ययनले देखाएको छ।
बोनस र दाबी भुक्तानीप्रति असन्तुष्टि
बीमितको अपेक्षाअनुसार बोनस तथा प्रतिफल प्राप्त नहुनु र दाबी भुक्तानी प्रक्रियामा ढिलाइ हुनु पनि बीमा क्षेत्रप्रतिको विश्वास घटाउने कारणका रूपमा देखिएका छन्।
अध्ययनअनुसार कम्पनीले दिने बोनस दरप्रति असन्तुष्टि र बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुन सक्ने प्रतिफलसँग तुलना गर्ने प्रवृत्तिले बीमितमा निराशा बढाएको छ।
त्यस्तै, दाबी भुक्तानीका क्रममा प्रशासनिक झन्झट र ढिलाइ हुने गरेको विषयलाई ६५.२ प्रतिशत सर्वेक्षण सहभागीले समस्या मानेका छन्। बीमा कम्पनीबाट समयमै र सहज रूपमा सेवा नपाउँदा ग्राहकले भविष्यमा बीमालेखलाई निरन्तरता दिन कम रुचि देखाउने अवस्था सिर्जना भएको प्रतिवेदनले औंल्याएको छ।
बीमालेख जोगाउन प्राधिकरणका पाँच सुझाव
बढ्दो ल्याप्स र सरेन्डर नियन्त्रण गर्न अध्ययनले बीमा कम्पनी र नियामक निकायले नीतिगत तथा व्यवहारगत सुधार गर्नुपर्ने सुझाव दिएको छ।
पहिलो, ग्राहकको आर्थिक क्षमता परीक्षण अनिवार्य गर्नुपर्ने। बीमा योजना बिक्री गर्नुअघि ग्राहकको वास्तविक आम्दानी, खर्च, ऋण र नियमित प्रिमियम तिर्न सक्ने क्षमताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिइएको छ। ग्राहकको आर्थिक अवस्थासँग मेल नखाने बीमा योजना बिक्री गर्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो व्यवस्था आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।
दोस्रो, लचिलो बीमा योजना ल्याउनुपर्ने। आर्थिक मन्दी वा रोजगारी गुमेका कारण प्रिमियम तिर्न नसक्ने अवस्थामा बीमितलाई निश्चित समयका लागि किस्ता स्थगित गर्न सकिने सुविधा दिनुपर्ने सुझाव छ। त्यस्तै, तिरेको रकमअनुसार बीमालेखलाई घटुवा चुक्ता मूल्य (पेडअप) मा रूपान्तरण गर्न सकिने व्यवस्था पनि आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
तेस्रो, ग्राहक संरक्षण तथा पुनर्जागरण डेस्क स्थापना गर्नुपर्ने। बीमा कम्पनीहरूले शाखा कार्यालयमा बीमालेखलाई निरन्तरता दिने र निष्क्रिय हुन लागेका पोलिसीको नियमित अनुगमन गर्ने छुट्टै व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। अभिकर्ता निष्क्रिय भएका वा सम्पर्कमा नरहेका ग्राहकलाई कम्पनीले नै प्रत्यक्ष सम्पर्क गरेर सेवा दिनुपर्नेमा जोड दिइएको छ।
चौथो, निष्क्रिय बीमालेख पुनः सक्रिय बनाउने प्रक्रिया सहज बनाउनुपर्ने। ल्याप्स भएका बीमालेख पुनर्जागरण गर्दा लाग्ने कागजी प्रक्रिया घटाउने, डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने तथा आर्थिक संकटको समयमा जरिवाना र ब्याजमा छुट दिने व्यवस्था गर्नुपर्ने सुझाव छ।
पाँचौँ, बीमितलाई सरेन्डरको नोक्सानी र वैकल्पिक कर्जाबारे सचेत गराउनुपर्ने। बीमालेख अवधि नपुग्दै सरेन्डर गर्दा हुन सक्ने वित्तीय नोक्सानीबारे ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने प्रतिवेदनको सुझाव छ। त्यस्तै, बीमालेख धितोमा कर्जा लिन सकिने व्यवस्थाबारे ग्रामीण क्षेत्रसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।
बीमा बिक्रीभन्दा बीमालेख टिकाउनु ठूलो चुनौती
जीवन बीमा व्यवसायको वास्तविक सफलता नयाँ बीमालेख बिक्रीको संख्याले मात्रै निर्धारण गर्दैन। बीमितले लामो समयसम्म प्रिमियम तिर्न सक्ने अवस्था र आवश्यक पर्दा सहज रूपमा बीमा सेवा प्राप्त गर्न सक्ने वातावरण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
३६ अर्बभन्दा बढीको बीमालेख निष्क्रिय हुनु र एकै वर्षमा १४ अर्ब ५० करोड रुपैयाँ बराबरका बीमालेख सरेन्डर हुनुले बीमा कम्पनीको बिक्री रणनीति, अभिकर्ताको जवाफदेहिता र ग्राहक संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
त्यसैले बीमा कम्पनीहरूले नयाँ ग्राहक थप्ने प्रतिस्पर्धासँगै पुराना बीमितलाई टिकाइराख्ने रणनीतिमा पनि ध्यान दिनुपर्ने देखिन्छ। ग्राहकको आर्थिक क्षमताअनुसार बीमा योजना बिक्री गर्ने, बिक्रीपछिको सेवा प्रभावकारी बनाउने र आर्थिक कठिनाइमा बीमालेख जोगाउने विकल्प उपलब्ध गराउन सके मात्रै जीवन बीमाप्रतिको विश्वास बलियो बनाउन सकिनेछ।