इन्जिनियरिङ्ग बीमामा नयाँ मापदण्ड प्रस्ताव, एक करोडभन्दा माथिको बीमाङ्कमा स्थलगत निरीक्षण अनिवार्य

Nov 03, 2026 05:10 PM Merolagani



नेपाल बीमा प्राधिकरणले इन्जिनियरिङ्ग बीमालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले नयाँ मापदण्ड प्रस्ताव गरेको छ। प्राधिकरणले ‘इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन, २०८१’ को मस्यौदा सार्वजनिक गर्दै निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमामा जोखिम मूल्याङ्कनदेखि बीमाशुल्क र दाबी भुक्तानीसम्मका व्यवस्था एकीकृत गर्न खोजेको हो।

प्राधिकरणले सार्वजनिक गरेको मस्यौदामा परियोजनाअन्तर्गतका ठेक्काका लागि जारी गरिने कन्ट्रयाक्टर्स अल रिस्क (CAR) र इरेक्सन अल रिस्क (EAR) बीमामा एक करोड रुपैयाँभन्दा बढी बीमाङ्क भएमा अनिवार्य रूपमा स्थलगत निरीक्षण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। बीमकले स्थलगत निरीक्षणपछि जोखिम मूल्याङ्कन प्रतिवेदनसमेत तयार गर्नुपर्नेछ।

 

त्यस्तै, वार्षिक रूपमा नवीकरण हुने उपकरण तथा मेसिनरी बीमामा १० लाख रुपैयाँभन्दा बढी बीमाङ्क भएमा पनि स्थलगत निरीक्षण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। यस व्यवस्थाले बीमा जारी गर्नुअघि सम्बन्धित आयोजना तथा उपकरणको वास्तविक जोखिम पहिचान र मूल्याङ्कनलाई प्राथमिकता दिने देखिन्छ।

छ प्रकारका इन्जिनियरिङ्ग बीमामा एउटै मापदण्ड

प्रस्तावित निर्देशनले इन्जिनियरिङ्ग बीमाअन्तर्गतका छ प्रकारका बीमालेखलाई समेटेको छ। जसमा कन्ट्रयाक्टर्स अल रिस्क (CAR), इरेक्सन अल रिस्क (EAR), कन्ट्रयाक्टर्स प्लान्ट एण्ड मेसिनरी (CPM), मेसिनरी इन्स्योरेन्स (MIP), इलेक्ट्रोनिक इक्विपमेन्ट इन्स्योरेन्स (EEI) तथा बोयलर एण्ड प्रेसर भेसल इन्स्योरेन्स (BPVI) रहेका छन्।

यी सबै बीमालेखका लागि मानक ढाँचा, सर्त तथा बन्देजहरू निर्धारण गर्ने प्रस्ताव गरिएको छ। निर्माण तथा पूर्वाधार क्षेत्रमा बीमा कम्पनीअनुसार फरक बीमालेख र सर्तका कारण उत्पन्न हुन सक्ने अन्योल हटाई एकरूपता कायम गर्नु यसको उद्देश्य रहेको प्राधिकरणले जनाएको छ।

बीमाशुल्क किस्ताबन्दीमा तिर्न सकिने

एक वर्षभन्दा बढी अवधि रहने आयोजनाका ठेक्काको बीमा गर्दा बीमाशुल्क किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्था मस्यौदामा समेटिएको छ। तर, बीमालेख जारी भएको ६० दिनभित्र कुल बीमाशुल्कको कम्तीमा एकतिहाइ रकम असुल गर्नुपर्नेछ। बाँकी बीमाशुल्कसमेत बीमालेख जारी भएको एक वर्षभित्र पूरा हुने गरी किस्ताबन्दी निर्धारण गर्न सकिने प्रस्ताव गरिएको छ।

त्यस्तै, प्राधिकरणले तोकेको न्यूनतम बीमादरभन्दा कम दरमा कुनै पनि बीमकले बीमालेख जारी गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। यसले इन्जिनियरिङ्ग बीमामा बीमा कम्पनीहरूबीच हुने अस्वस्थ मूल्य प्रतिस्पर्धालाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

दाबी भुक्तानी र ह्रासकट्टीमा पनि नयाँ व्यवस्था

मस्यौदामा बीमा दाबी भुक्तानीका क्रममा बीमक र बीमितबीच सहमतिमा निर्धारण गरिने अधिक (Excess/Deductible) रकम दाबी भुक्तानी गर्न योग्य रकमको अधिकतम १० प्रतिशतसम्म मात्र कायम गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

पूर्ण क्षति (Total Loss) भएको अवस्थामा सम्पत्तिको उमेरका आधारमा ह्रासकट्टी गर्ने व्यवस्था पनि मस्यौदामा छ। जसअनुसार छ महिनाभन्दा कम उमेरका सम्पत्तिमा शून्य प्रतिशतदेखि १० वर्ष वा सोभन्दा बढी उमेरका सम्पत्तिमा अधिकतम ५० प्रतिशतसम्म ह्रासकट्टी गरिने प्रस्ताव गरिएको छ।

यसका साथै, आयोजना सम्पन्न भई हस्तान्तरण भएपछि त्रुटि सच्चाउने अवधि (Defect Liability Period–DLP) मा हुन सक्ने हानि–नोक्सानीको बीमा रक्षावरणसम्बन्धी सर्तहरू पनि स्पष्ट पार्न खोजिएको छ।

पुराना निर्देशन तथा परिपत्र खारेज हुने

प्राधिकरणका अनुसार प्रस्तावित निर्देशन लागू भएपछि यसअघि जारी गरिएका इन्जिनियरिङ्ग बीमासम्बन्धी निर्देशन, निर्देशिका तथा परिपत्रहरू स्वतः खारेज हुनेछन्। यसबाट इन्जिनियरिङ्ग बीमासम्बन्धी नियामकीय व्यवस्था एउटै निर्देशनअन्तर्गत समेटिनेछ।

प्राधिकरणले मस्यौदामाथि सरोकारवाला व्यक्ति तथा संस्थाबाट राय–सुझाव माग गरेको छ। इच्छुकले सूचना प्रकाशित भएको सात दिनभित्र प्राधिकरणको बीमालेख शाखाको इमेल beemalekh@nia.gov.np मार्फत आफ्ना सुझाव पठाउन सक्नेछन्।

प्राधिकरणले प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी निर्देशनलाई अन्तिम रूप दिनेछ। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि इन्जिनियरिङ्ग बीमाको जोखिम मूल्याङ्कन, बीमाशुल्क निर्धारण र दाबी भुक्तानी प्रक्रियामा थप एकरूपता आउने अपेक्षा गरिएको छ।