बीबीसीका अनुसार नयाँ आयात शुल्कले अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूलाई प्रत्यक्ष असर पार्नेछ। यसबाट चीन, युरोपेली सङ्घ (ईयू) र जापानसहित कम्तीमा १४ देखि १६ वटा देश तथा क्षेत्रहरू प्रभावित हुने जनाइएको छ।
ह्वाइट हाउसले गरेको ‘धारा ३०१’ (सेक्सन ३०१) सम्बन्धी अनुसन्धानको प्रतिवेदनपछि यो कदम चाल्न लागिएको हो। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘लिबरेसन डे’ (मुक्ति दिवस) भन्सार शुल्कलाई अमेरिकी सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेपछि गत मार्चमा यो नयाँ अनुसन्धान सुरु गरिएको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा भन्सार महसुल वृद्धिलाई आफ्नो प्रमुख व्यापारिक नीतिको रूपमा अघि सारेका छन्। यस्तो शुल्कले स्वदेशी उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न मद्दत पुग्ने उनको तर्क रहँदै आएको छ।
ह्वाइट हाउस फर्केलगत्तै अप्रिल २०२५ मा ट्रम्पले विश्वव्यापी साझेदारहरूमाथि व्यापक भन्सार शुल्क घोषणा गर्दा अन्तर्राष्ट्रिय बजार तरङ्गिता बनेको थियो। पछि अदालतको आदेशपछि ती शुल्कहरू हटाइए पनि अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले विदेशी मुलुकहरूको अतिरिक्त उत्पादन क्षमता (ओभरक्यापासिटी) ले अमेरिकी उत्पादनलाई विस्थापित गरिरहेको र आन्तरिक लगानी निरुत्साहित गरेको दाबी गरेका थिए।
प्रस्तावित नयाँ व्यवस्थाअन्तर्गत सम्बन्धित मुलुकहरूले यसअघि ट्रम्प प्रशासनसँग गरेका सम्झौताका आधारमा फरक-फरक आयात महसुल दरको सामना गर्नुपर्नेछ।
अमेरिका–चीन तनाव थप बढ्ने संकेत
यस घोषणाले लामो समयदेखि व्यापार विवादमा अल्झिएका विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव पुनः बढाउने सम्भावना देखिएको छ। राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हालै सम्पन्न भेटवार्ताका बाबजुद दुवै पक्षले आगामी जनवरी १० मा सकिन लागेको अन्तरिम व्यापार सम्झौतासँग सम्बन्धित असमझदारी पूर्ण रूपमा सुल्झाउन सकेका छैनन्।
शेन्जेन शिखर सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकाले अक्टोबर २०२५ मा दक्षिण कोरियामा तय भएका सर्तहरू चीनले पूर्ण रूपमा पालना नगरेको आरोप लगाएको छ। विशेषगरी अमेरिकी कृषि उत्पादनको खरिद तथा ‘रेयर अर्थ’ (दुर्लभ खनिज) लगायतका महत्त्वपूर्ण खनिजहरूसँग सम्बन्धित प्रतिबद्धता पूरा गर्न बेइजिङ चुकेको वासिङ्टनको ठहर छ।
यसैबीच, चीनले मङ्गलबार ग्यालियम, जर्मेनियम र एन्टिमोनीजस्ता रणनीतिक खनिजहरूको निर्यातमा लगाइएको प्रतिबन्धको स्थगनलाई आगामी जनवरी २७ सम्मका लागि लम्ब्याएको छ। अन्यथा उक्त प्रतिबन्ध आगामी शुक्रबारदेखि नै लागू हुने तय थियो।
यद्यपि, ट्रम्प प्रशासनको यस किसिमको आक्रामक भन्सार महसुल नीतिले अमेरिकी उपभोक्ताहरूका लागि मूल्यवृद्धि (महँगी) बढाउने र समग्र विश्व अर्थतन्त्रलाई नै क्षति पुर्याउने भन्दै अर्थविद्हरूले निरन्तर आलोचना गर्दै आएका छन्।