‘सुन नकिन्नु’ भन्ने सल्लाहले घाटाबाट बचायो भन्दै भारतीय व्यापारीहरूद्वारा प्रधानमन्त्री मोदीलाई धन्यवाद

Nov 23, 2026 11:28 AM Merolagani



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'आवश्यक नपरी सुन नकिन्न' दिएको सल्लाहका कारण आफूहरू ठूलो आर्थिक नोक्सानीबाट जोगिएको भन्दै त्यहाँका व्यापारीहरूले प्रधानमन्त्रीलाई धन्यवाद पत्र पठाएका छन्।

दिल्ली-एनसीआरका व्यापारीहरूको छाता संगठन ‘चेम्बर अफ ट्रेड एण्ड इन्डस्ट्री’ (सीटीआई)ले प्रधानमन्त्रीको सल्लाह पालना गर्दा व्यापारीहरू उच्च मूल्यमा सुन खरिद गर्नबाट बचेको र यसले सम्भावित ठूलो आर्थिक संकट टारेको बताएको हो।

 

सीटीआईका अध्यक्ष बृजेश गोयलका अनुसार प्रधानमन्त्री मोदीले सल्लाह दिँदाका बखत सुनको भाउ प्रति किलोग्राम १ करोड ९० लाख भारतीय रुपैयाँ पुगेको थियो। तर, हाल मूल्यमा भारी गिरावट आई प्रति किलोग्राम ६५ लाख रुपैयाँले घटेर १ करोड २५ लाख रुपैयाँमा झरेको छ। यस अनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख ९० हजारबाट ६५ हजारले घटेर १ लाख २५ हजार रुपैयाँ पुगेको छ।

प्रधानमन्त्रीको कदमप्रति सीटीआईले औँल्याएका ४ मुख्य बुँदा:

१. गहना व्यवसायी ठूलोघाटाबाट जोगिए:

देशभरका लाखौँ सुनचाँदी व्यवसायीहरूले महिनौँका लागि सुन मौज्दात (स्टक) राख्ने गर्छन्। यदि व्यापारीहरूले त्यतिबेलाकै उच्च मूल्यमा सुन किनेर राखेको भए प्रति किलोग्राम ६५ लाख रुपैयाँसम्म घाटा बेहोर्नुपर्ने अवस्था आउँथ्यो। यसले धेरै व्यवसायीलाई ऋणको दलदलमा फसाउन सक्थ्यो। अहिले सीटीआईमा आबद्ध व्यापारीहरूले "मोदीजीले हामीलाई बचाउनुभयो" भन्दै सन्देश आदानप्रदान गरिरहेको संस्थाले जनाएको छ।

२. आलोचकहरू पनि सहमत:
सुरुवाती दिनमा प्रधानमन्त्रीको यस अभिव्यक्तिको विरोध गर्ने कतिपय व्यापारी तथा विश्लेषकहरूले समेत अहिले उक्त सल्लाहको प्रशंसा गर्न थालेका छन्।

३. विवाहको सिजनमा उपभोक्तालाई राहत:
सुनको मूल्यमा आएको गिरावटका कारण विवाहको तयारीमा जुटेका सर्वसाधारण परिवारलाई ठूलो राहत मिलेको छ। संस्थाका अनुसार यो लगनको सिजनमा भारतभर करिब ५२ लाख विवाह हुने अनुमान छ।

४. थप मार्गदर्शनको माग:
सुनचाँदी बजारमा हुने अस्वभाविक सट्टेबाजी, कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न प्रधानमन्त्रीले समय-समयमा यस्तै व्यावहारिक सल्लाह र मार्गदर्शन दिनुपर्ने माग सीटीआईले गरेको छ।

लखनउमा प्रधानमन्त्री मोदीको भनाइ

यसअघि शनिबार लखनउमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पनि यस विषयको चर्चा गरेका थिए। उनले भनेका थिए, "एक वर्षअघि मैले देशवासीहरूलाई आवश्यक नभएसम्म सुन नकिन्न आग्रह गरेको थिएँ। जनताले मेरो कुरा सुने र कम सुन किने, फलस्वरूप सुनको भाउ घट्यो। अहिले मानिसहरू भन्दै छन्— ‘मोदीजी, हामीले तपाईंको कुरा सुनेर आफ्नो पैसा बचायौँ।’"

विगतमा विपक्षीद्वारा भएको थियो आलोचना

गत मे १० मा तेलङ्गानामा आयोजित एक कार्यक्रममा पश्चिम एसियाली संकट र कच्चा तेलको बढ्दो मूल्यका बीच विदेशी मुद्रा सञ्चिति जोगाउन भन्दै प्रधानमन्त्री मोदीले नागरिकसमक्ष ७ वटा अपिल गरेका थिए। जसमा सुन नकिन्न गरिएको आग्रह पनि समावेश थियो।

त्यतिबेला प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले यसको कडा आलोचना गरेका थिए। देश चलाउन प्रधानमन्त्री असफल भएको आरोप लगाउँदै गान्धीले भनेका थिए, "मोदीजीले जनतासँग त्यागको याचना गरिरहनुभएको छ— सुन नकिन्नुहोस्, विदेश भ्रमण नगर्नुहोस्, पेट्रोल कम खर्च गर्नुहोस्, मल र खानेतेल कम प्रयोग गर्नुहोस्, मेट्रो चढ्नुहोस् र घरबाटै काम गर्नुहोस्। यी जनतालाई दिइएका उपदेश होइनन्, बरु सरकारको असफलताका प्रमाण हुन्।"

के हो सीटीआई?
चेम्बर अफ ट्रेड एण्ड इन्डस्ट्री (सीटीआई) भारतको दिल्ली-एनसीआर क्षेत्रका व्यापारी तथा उद्योगीहरूको सक्रिय संगठन हो। यसले मुख्यतया दिल्लीको थोक तथा खुद्रा बजारसँग सम्बन्धित मुद्दा र नीतिगत समस्याहरू सरकारसमक्ष उठाउँदै आएको छ। FICCI, CII जस्ता राष्ट्रियस्तरका ठूला महासंघहरूको तुलनामा यसको गतिविधि विशेषगरी दिल्ली र आसपासका व्यापारिक क्षेत्रमा बढी केन्द्रित छ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।